काठमाडौँ : कोभिड-१९ संक्रमण विस्तारसँगै कांग्रेसको क्रियाशील सदस्यता वितरण रोकिएपछि फागुनमा हुने भनिएको केन्द्रीय महाधिवेशन प्रभावित बन्ने देखिएको हो। अहिल्यै महाधिवेशन तालिका सार्ने या पछि भन्नेबारेमा पार्टीका शीर्ष नेताहरूबीच मत बाझिएको हो ।

महाधिवेशन सार्ने प्रस्ताव आफैंले गर्दा अपजसको भारी लिनुपर्ने भय सभापति शेरबहादुर देउवामा देखिएको छ । तोकिएको मितिमा महाधिवेशन नहुनेमा निश्चिन्त देखिए पनि देउवा संस्थापन इतरपक्ष तयार नभएसम्म महाधिवेशन सार्ने प्रस्ताव अघि बढाउने पक्षमा छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि फागुनमै महाधिवेशन हुँदैन भन्ने भित्रबाटै लागेको छ तर महाधिवेशन सार्ने प्रस्ताव गर्न तयार छैनन् । अहिल्यै महाधिवेशन सार्दा देउवा महाधिवेशन नै नगराउने दिशामा अघि बढ्ने डर उनमा देखिन्छ । त्यही डरका कारण उनले पुरानै प्रतिनिधिबाट महाधिवेशन गराउने विकल्प पछिल्लोपटक छलफलमा ल्याएका छन् ।
विधानअनुसार कांग्रेसको महाधिवेशन चार वर्षमा हुनुपर्ने हो । तर ‘विशेष परिस्थिति’ को सुविधा प्रयोग गरेर थपिएको एकवर्षे कार्यकालको पनि ६ महिना बितिसकेको छ । आगामी फागुनमा महाधिवेशन गर्न नसकिए संविधानअनुसार थप ६ महिना बढाउन सकिन्छ । त्यो सुविधा प्रयोग गर्दा ०७८ भदौभित्र महाधिवेशन गरिसक्नुपर्छ । भदौभित्र पनि महाधिवेशन हुन नसके संवैधानिक संकट आउँछ । महाधिवेशनको तालिका सार्दै जाँदा संवैधानिक संकट उत्पन्न गराएर देउवाले वर्तमान कार्यसमितिलाई नै निरन्तरता दिने डरका कारण पौडेलले तोकिएकै मितिमा महाधिवेशन गर्न दबाब दिइरहेका छन् ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने फागुनमा महाधिवेशन नहुने निश्चित भइसकेको बताए । कार्यकर्तालाई अन्योलमा राख्नुभन्दा तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाएर तालिका सार्नेबारे छलफल गर्नुपर्ने उनको भनाइ छ । बीपीको १०७ औं जन्मजयन्तीका अवसरमा बुधबार पार्टीका केन्द्रीय कार्यसमितिदेखि तल्लो तहका कार्यकर्ताहरू जोडिएको भर्चुअल कार्यक्रममा सिटौलाले महाधिवेशनको नयाँ तालिकाबारे छलफलका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरे । उनले पार्टीको समायोजन र क्रियाशील सदस्यता वितरणको तालिका प्रभावित भइसकेकाले केन्द्रीय महाधिवेशन समयमै हुन नसक्ने तर्क गरे । ‘यसबारेमा पार्टीभित्र गम्भीर छलफलका लागि केन्द्रीय बैठक बोलाउन आवश्यक छ,’ उनले भने, ‘सभापतिजीले तत्काल बैठक बोलाउनुहोस् ।’

बैठक बोलाउने/नबोलाउनेबारे सभापति देउवाले भने कार्यक्रममा केही बोलेनन् । उपसभापति विमलेन्द्र निधिका अनुसार वरिष्ठ नेता पौडेलसँग छलफल गरेर बैठकको मिति तय गर्न देउवाले उनलाई केही दिनअघि नै आग्रह गरिसकेका छन् । ‘कोरोनाको यस्तो अवस्था छ, केही दिन हेरौं भनेकै कारण बैठक रोकिएको हो,’ निधिले भने, ‘सभापतिजीले बोलाउन चाहनुभएकै हो । पौडेलजीकै केही समय पर्खन आग्रह गरेकाले नबोलाइएको हो ।’

भर्चुअल कार्यक्रममा देउवाले कोरोनाबाहेक अरू कारणले महाधिवेशन सर्ने अवस्था नआएको बताए । संविधानअनुसार थप ६ महिनाभित्र महाधिवेशन गराउनुपर्ने बाध्यात्मक परिस्थितिबारे आफू पूर्ण जानकार रहेको जनाउँदै देउवाले तोकिएकै मितिमा महाधिवेशन गर्न नसकिने भए छलफल गर्न आफू तयार रहेको बताए । ‘संविधानले दिएको समयभन्दा उता जान सकिन्न भन्ने मलाई थाहा छ, कसैले भन्नै पर्दैन,’ उनले भने, ‘फागुनमा गर्न सकिन्न भने कहिले गर्ने, सबै साथहरूबीच छलफल गरौं ।’

पौडेलले भने तोकिएको मितिमा महाधिवेशन गर्नुपर्नेमा जोड दिए । तीन वर्षदेखि समयबद्ध कार्यक्रमका साथ अघि बढ्ने प्रस्ताव आफूले गर्दा महाधिवेशन गर्ने अहिल्यै हतारो भएको भनेर कतिपय साथीभाइले व्यंग्य गरेको स्मरण गर्दै पौडेलले बेलैमा काम नगर्दा अहिले रुवाबासी चलेको बताए । ‘समायोजनको काम सकिएको छैन, क्रियाशील सदस्यता सबै ठाउँमा पठाइएका छैनन् । समायोजन सकिएका कतिपय जिल्लामा पनि सदस्यता दिन रोकिएको छ । अर्कोतिर समयमै महाधिवेशन गर्न नसके संकट आउने अवस्था छ,’ उनले भने, ‘समयबद्ध काम गरेको भए गत फागुनमै महाधिवेशन सम्पन्न भइसक्थ्यो । नभए पनि क्रियाशील सदस्यताको सबै काम सकिन्थ्यो । त्यसपछि जहिले गर्दा पनि हुन्थ्यो ।’ सहज हुँदा काम नगर्ने र वातावरण असाधारण बन्दै गएपछि पार्टीलाई कतातिर लैजाने हो भन्ने चिन्ता लागेको उनले बताए ।

कांग्रेस केन्द्रीय कार्यसमितिको असार २२ गतेको बैठकले केन्द्रीय महाधिवेशन फागुनमै गर्ने गरी तल्ला तहका अधिवेशन सारेको थियो । जसअनुसार वडा, गाउँ/नगरपालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन पुस ६ बाट सुरु गरी माघ ६ गतेसम्म सम्पन्न गर्ने कार्यतालिका थियो । समायोजन र क्रियाशील सदस्यता वितरण र नवीकरणको सुरुवाती काममै अवरोध उत्पन्न भएपछि केन्द्रदेखि तल्ला तहका सबै अधिवेशनको तालिका प्रभावित हुने भएको हो ।

पछिल्लो निर्णयअनुसार साउन १० भित्र समायोजनको काम सक्ने समय तोकिएको थियो । तर, अझै ११ जिल्लाको समायोजन हुन सकेको छैन । समायोजन नसकिँदा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम अघि बढ्दैन । क्रियाशील सदस्यता वितरण, नवीकरण साउन मसान्तभित्र सक्ने र भदौ मसान्तभित्र सदस्यताको सूची केन्द्रमा पठाउने तालिका थियो । क्रियाशील सदस्यताको वितरण र नवीकरणको काम यतिबेला ठप्प छ ।

सर्वसम्मतिमा नेतृत्व चयनको प्रस्ताव

बीपी जयन्तीका अवसरमा आयोजित भर्चुअल कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको शक्ति संघर्ष अन्त्य गर्दै एकताका साथ अघि बढ्नका लागि चौधौं महाधिवेशनमा सहमतिको नेतृत्व चयन गर्ने प्रस्ताव अघि सारेका छन् । सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका निधिले महाधिवेशनलगत्तै हुने स्थानीय र त्यसपछिको संसदीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीको नेतृत्व चयनमा सहमति कायम गर्ने प्रयासमा आफू रहेको बताएका हुन् ।

वैचारिक र नेतृत्व चयनमा एकता हुन सके आगामी संसदीय निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने उनको दाबी छ । ‘नेतृत्व चयनमा सर्वसम्मति गर्न सक्यौं भने आमनागरिक, मतदाता र पार्टी सदस्यमा विश्वास र ऊर्जा भर्न सक्छौं, अन्तर्राष्ट्रिय शुभेच्छुकहरूले पनि विश्वास गर्न सक्छन्,’ उनले भने, ‘नेतृत्व र वैचारिक एकता भएको कांग्रेसले मात्रै आगामी निर्वाचनमा बहुमत ल्याउन सक्छ ।’

सभापति शेरबहादुर देउवाले निधिको प्रस्तावप्रति केही नबोली पार्टीभित्रको झगडा पहिल्यैदेखि भएको बताए । ‘झगडाकै कारण गणेशमान र कृष्णप्रसाद भट्टराईले पार्टी छाड्नुभएकै हो,’ उनले भने, ‘यो पार्टीबाट कुनै पनि साथीले छाड्न नपरोस् भनेर मैले काम गरिरहेको छु ।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले भने निधिको प्रस्तावलाई सकारात्मक रूपमा लिए । न्याय, पारदर्शिता र निष्पक्षताका आधारमा एकता हुन सक्ने उनको भनाइ थियो । ‘त्यागको भावना पनि हुनुपर्छ, ढाकछोप गरेर मात्रै एकता हुन्न । के आधारमा गर्ने ? कसरी गर्ने ? भित्रैबाटै सर्वसम्मतिको प्रयास गरौं,’ पौडेलले भने, ‘एक–एक तर्क अघि सारेर, के आधारमा कसरी गर्न सकिन्छ भन्ने हिसाबले गरौं । आजको पार्टीभित्रको यथार्थलाई बुझेर गरौं ।’

नेता कृष्णप्रसाद सिटौलाले सभापति देउवाका पछिल्ला कदमले महाधिवेशनको निष्पक्षतामाथि प्रश्न उठेको बताए । सिटौलाले खेलको नियमका आधारमा अब चुनिने नेतृत्वलाई सहज स्वीकार्न सक्ने गरी महाधिवेशन अघि बढाउन आग्रह गरे । उपसभपाति विजयकुमार गच्छदारले पनि महाधिवेशन तोकिएकै मितिमा हुन नसक्ने स्थिति खडा भएको बताए । गच्छदारले महाधिवेशनलाई लिएर टकराबको स्थिति खडा नगर्नसमेत सभापति देउवा र वरिष्ठ नेता पौडेलसँग आग्रह गरे । कम्युनिस्ट सरकारका बेथिति र उसले खडा गरेका चुनौतीसँग जुध्नुपर्ने बेलामा आफैंभित्र टकराब गर्ने स्थिति राम्रो नभएको बताउनुभयो।

महामन्त्री शशांक कोइरालाले पार्टीभित्रमा झाँगिएका गुट र उपगुटको अन्त्य गर्न आवश्यक भएको बताए । कोरोना संक्रमणका कारण निवासमै आइसोलेसनमा रहेका कोइरालाले महाधिवेशनपछि गुट समाप्त नभए कांग्रेस अघि बढ्न नसक्ने बताए । सहमहामन्त्री प्रकाशरण महतले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्ने बताए । ‘पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा छ, हुनुपर्छ, अनावश्यक दोषारोपण नगरौं,’ उनले भने, ‘नेता नचिनेका कार्यकर्ता र कार्यकर्ता नचिनेका नेता कोही छैनन् । सबैले त्यही हिसाबले निर्णय गर्नेछन् ।

स्रोत : कान्तिपुर पत्रीका

 

Your Views
Related News