मकवानपुर : भीमफेदी–कुलेखानी सडकखण्डको इन्द्रसरोवर गाउँपालिका–२ देउराली नजिक जिप पुरिँदा एक जनाको मृत्यु भएको हो ।

सडकमा गुडिरहँदा माथिबाट खसेको पहिरोले जिप पुरिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार मृतक बारा पर्सौनी–४, का ४० वर्षीय युनिश अन्सारी छन् । उनको घटनास्थलमै मृत्यु भएको रानाले जानकारी दिए। जिपमा चालक मात्र रहेको उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।

बुधबार बिहान करिब १० बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कार्पियो जिपमाथि ढुंगासहितको पहिरो खसेको थियो । पहिरोले बा ९७ प ५१४८ नम्बरको मोटरसाइकललाई समेत क्षति पुर्‍याएको थियो । मोटरसाइकलमा सवार दुई जनाको सकुशल उद्धार गरिएको हो । जसमध्ये एकजनालाई थप उपचारका लागि काठमाडौं पठाइएको हो ।

अहिले एक्स्काभेटर लगाएर पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जानकारी दिएको हो ।


Your Views
Related News