दुबई : रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार आफ्नो प्रमुख प्रतिद्वन्द्वी मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको हो।

किंग्स इलेभेन पन्जाबसँग अघिल्लो खेलमा भोगेको ९७ रनको लज्जास्पद हार बिर्सनेक्रममा बेंग्लोरले मुम्बईलाई पन्छाउन पनि ठूलै कसरत गर्नुपरेको हो ।

जारी आईपीएलमा यसअघिका खेलजस्तै टस जितेर फिल्डिङ गर्ने मुम्बईको निर्णयमा बेंग्लोरले ३ विकेट गुमाई २ सय १ रनको विशाल स्कोर बनाएको हो । इशान किशनले ९९ रन बनाएपछि मुम्बईले ५ विकेट गुमाई २ सय १ रन नै बनाएपछि सुपर ओभरमा निर्णय भएको हो।

किइरन पोलार्डलाई गुमाएको मुम्बईले सुपर ओभरमा ७ रनमात्र बनाउन सक्यो । बेंग्लोरले अन्तिम बलमा चौका प्रहार गर्दै ११ रन जोडेको थियो । तीन खेलमा दोस्रो जित हात पारेपछि बेंग्लोर पुछारको दोस्रो स्थानबाट तेस्रो स्थानमा उक्लेको छ । तीन खेलमा मुम्बईको यो दोस्रो हार हो । अंकतालिकामा टोली पाँचौं स्थानमा छ । दुई खेल खेलेको सनराइजर्स हैदराबादले मात्र कुनै खेल जितेको छैन ।

बेंग्लोरबाट ओपनरद्वय देवदत्त पाडिक्कल र आरोन फिन्च तथा एबी डी भिलयर्सले अर्धशतक बनाए । पहिलो विकेटमा ९ ओभरमा ८१ रन जोडेका पाडिक्कल र फिन्चले क्रमशः ५४ र ५२ रन बनाए । पाडिक्कलले ४० बल खेली ५ चौका र २ छक्का तथा फिन्चले ३५ बल खेली ७ चौका र १ छक्का प्रहार गरे । डी भिलियर्सले २४ बल खेली ४ चौका र ४ छक्का प्रहार गर्दै अविजित ५५ रन बनाए । शिवम दुबे १० बलमा १ चौका र ३ छक्का प्रहार गरी २७ रनमा अविजित रहे । मुम्बईका ट्रेन्ट बोल्टले ४ ओभरमा ३४ रन खर्चेर २ र राहुल चाहरले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । अस्ट्रेलियन बलर जेम्स प्याटिन्सनले ४ ओभरमा ५१ रन खर्चन पुगे ।

मुम्बईले कप्तान रोहित शर्मालाई ८, क्विन्टन डी ककलाई १४, सूर्यकुमार यादवलाई शून्यमा गुमाएको थियो । तर पोलार्ड र किशनले नाटकीय हिसाबमा खेल पल्टाएका थिए । हार्दिक पाण्ड्येलाई १५ रनमा आउट गरेका एडम जाम्पाको आईपीएलमा सुरुआत सुखद हुन सकेन । उनले ४ ओभरमा ५३ रन खर्चन पुगे । उनको अन्तिम तथा टोलीको १७औं ओभरमा उनलाई पोलार्डले ३ छक्कासहित २७ रन प्रहार गरे । यहींबाट मुम्बई खेलमा फर्किन सुरु भएको थियो । पोलार्ड र किशनले १८औं ओभरमा युजभेन्द्र चाहललाई तीन छक्कासहित २२ रन प्रहार गरे ।

नवदीप सैनीले अन्तिम ओभरमा १२ रनमात्र खर्चेपछि बेंग्लोरले खेल पुनः उल्टाएको थियो । अन्तिम ओभरको तेस्रो र चौथो बलमा किशनले इशुरा उडानालाई छक्का प्रहार गरेपछि मुम्बईलाई अन्तिम दुई बलमा ५ रन चाहिन्थ्यो । पाचौं बलमा किशन ९९ रन बनाई बाउन्ड्री लाइनमा क्याच दिन पुगे ।

अन्तिम बलमा पोलार्डले चौका प्रहार गरेपछि स्कोर बराबर भएको थियो । किशनले ५८ बल खेली २ चौका र ९ छक्का प्रहार गरे । पोलार्ड २४ बलमा ३ चौका र ५ छक्का प्रहार गरी ६० रनमा अविजित रहे । मंगलबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच खेल हुनेछ ।

 

Your Views
Related News