विराटनगर : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश १ को अधिवेशन शुक्रबार बिहान सुरु हुँदैछ। पहिलो पटक हुन लागेको अधिवेशन बिहीबार उद्घाटन गर्ने कार्यसूची थियो। तर सभापतिका उम्मेदवार छनोट हुन नसकेपछि अधिवेशनको उद्घाटन सत्र स्थगित गरियो। अधिवेशन सुरु गरेर उम्मेदवारको मनोनयन दर्ता पनि शुक्रबार नै गर्ने तयारी छ।

निर्वाचन प्रक्रियामार्फत कांग्रेसको प्रदेश नेतृत्व चयनको तयारी अनुरुप शनिबार मतदान हुने छ। अधिवेशन उद्घाटनपछि उम्मेदवारको मनोनयन दर्ता हुने र शनिबार मतदान गर्ने कार्यतालिका रहेको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बताए।

कांग्रेस प्रदेश १ मा संस्थापन पक्षबाट उद्धव थापा र संस्थापनइतरबाट गुरुराज घिमिरे सभापतिका उम्मेदवार छन्। संस्थापन समूहले थापालाई उम्मेदवार बनाउने तयारी यसअघि नै गरेको भए पनि इतरबाट घिमिरेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय बिहीबार भएको हो। त्यही भएकाले पार्टीको प्रदेश अधिवेशनको उद्घाटन सत्र एक दिन पछि सारिएको हो।

इतरबाट कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइराला पनि सभापतिका आकांक्षी थिए। तर उनलाई ‘ब्याक’ गर्दै घिमिरेलाई उम्मेदवार बनाउने तय भएको छ। कोइरालालाई ‘ब्याक’ गर्न र घिमिरेलाई सभापतिको उम्मेदवारका रूपमा अघि सार्नका लागि कांग्रेस नेता डा. शेखर कोइरालाले ठूलो मिहिनेत गरेको स्रोतले बतायो।
‘प्रदेशको सभापतिमा संस्थापन इतरपक्षबाट मेरो उम्मेदवारी हुन्छ,’ घिमिरेले भने, ‘राजीव कोइराला केन्द्रमा जानुहुन्छ।’ शेखरनिकट पार्टीका जिल्ला नेताहरुले राजीव कोइरालालाई अघि बढाउनुपर्ने सुझाव दिएका थिए। तर केन्द्रीय नेताहरु घिमिरेको पक्षमा उभिए।

एक नेताका अनुसार घिमिरेका लागि ठाउँ छाडिदिएका राजीव कोइरालालाई प्रदेश १ को मुख्यमन्त्री र पार्टीको केन्द्रीय सदस्य बनाउने आन्तरिक सहमति भएको छ।

 

Your Views
Related News