काठमाडौं : नेपाली कांग्रेसले आज बिहान पदाधिकारी बैठक बोलाएको छ। नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार निर्माण हुने भएपछि छलफल गर्न सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा आज बिहान ९ बजे पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका हुन्।

सोमबार राति भएको सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने भएपछि छलफलका लागि बैठक बोलाइएको हो। बैठकमा पछिल्लो विकसित घटनाक्रमका बारेमा छलफल हुने कांग्रेसका  एक पदाधिकारीले अन्नपूर्ण पोस्ट्लाई बताए। उनले भने,‘शीर्ष नेताहरुबीच एक हिसाबको सहमति भएको छ। उक्त सहमतिको विषय, सरकार गठन र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो।’

लामो गृहकार्य र छलफलपश्चात सोमबार राति ओली र कांग्रेस शेरबहादुर देउवाले संविधान संशोधनको एजेन्डासहित सरकार बनाउन सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।  डेढ वर्षपछि त्यसको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन्। बैठकमा सभापति देउवाले ओलीसँग भएको छलफलबारे जानकारी गराउनेछन्।

सहमतिअनुसार ओली सरकारमा एमालेले अर्थसहित ९ मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालय सम्हाल्ने छन्। एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ। कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ। मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने दुई दलले निर्णय गरेका छन्।

पछिल्लो राजनीतिक घटनाबारे उनीहरुले राति नै राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन्। एमाले र कांग्रेसले संविधानको धारा ७६.२ अन्तर्गतकै सरकार बनाउन लागेका हुन्। त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गर्न आग्रह गरेका छन्।

दुई दलको सहमतिअनुसार निर्वाचन प्रणालीलगायत संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा ‘संविधान संशोधन सुझाव समिति’ बनाइने भएको छ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसको ८८ सिट छ भने भने एमालेको ७९ सिट छ। यो गठबन्धन बनेमा स्थिरतातर्फ मुलुक जान सक्ने राजनीतिक क्षेत्रका जानकारहरू बताउँछन्। कांग्रेस-एमाले मिलेर सरकार बनाएमा संविधान संशोधन, संविधानको कार्यान्वयन, सक्रमणकालीन न्याय लगायतको विषयमा निश्कर्षमा पुग्न सहज हुनेछ।

 

Your Views
Related News