
काठमाडौ : आमाबुबा नभएका बालबालिकालाई बागमती प्रदेश सरकारले मासिक भत्ता उपलव्ध गराउने भएको छ ।
आमाबुबाविहीन बालबालिका संरक्षण कार्यक्रमअन्तर्गत प्रदेशको १३ वटै जिल्लामा कार्यान्वयन गर्ने गरी चालू आर्थिक वर्ष ०७७७८ देखि प्रदेश सरकारले अघि सारेको हो । स्थानीय तहमार्फत आमाबुबा दुवै गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणको सुनिश्चितता गरी सामाजिक संरक्षण गर्ने उद्देश्यले कार्यक्रम अघि सारिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशभरका एक सय १९ वटै स्थानीय तहलाई भत्ता उपलब्ध गराउन चालू आर्थिक वर्षको सुरुवातमै बजेट निकासा दिइएको सामाजिक विकास महाशाखा प्रमुख इन्दिरा ओझाले वताईन ।
सामाजिक विकास मन्त्रालयले तयार पारेको मार्गदर्शनअनुसार आमाबुबाविहीन बालबालिका संरक्षण कार्यक्रममा आमाबुबाविहीन १८ वर्ष पूरा नगरेका बालबालिकालाई लक्षित समूह मानिएको छ । लक्षित समूहका प्रति बालबालिकालाई मासिक दुई हजारका दरले भत्ता वितरण गरिनेछ ।