काठमाडौं : गोरखाको बाह्रकिलो–छेपेटार सडकखण्डमा गत आइतबार पिच गरिएको सडक सोमबार नै स्थानीयले उप्काइदिए । सडकमा गरिएको अस्फाल्ट भनिएको पिच मान्द्रोजस्तै उप्किएपछि स्थानीय बासिन्दाले गुणस्तरहीन काम भएको भन्दै विरोध जनाए ।

सडकको धुलो नै नबढारी मनलाग्दी पिच हालिएपछि जताततै सडकमा यस्तो समस्या देखिएको छ । एघार किलो–छेपेटार–भालुस्वाँरा–बारपाक सडक आयोजना अन्तर्गत एक करोड ७६ लाख रुपैयाँ खर्चिएर कालोपत्रे गरिएको सडकमा जताततै लापरवाही भए पनि बाह्रकिलोका स्थानीयले भने सडकमै उत्रिएर प्रश्न उठाए ।

काममा लापरबाही भएको निर्माण कम्पनी गोरखा एप्रोप्रिएट प्रालि आफैंले स्वीकारेको छ । ‘हल्का कमजोरी भएकै हो, प्राइम पनि सेट नभइसकेको र रोलिङ गर्दा नमिलेको हो,’ प्रालिका इन्जिनियर अभिजित कोइरालाले भने, ‘भत्केको ठाउँमा प्राइम हालेर फेरि कालोपत्र गर्छाैं ।’

घटनापछि निर्माण कम्पनी गोरखा एप्रोप्रिएटलाई सडक डिभिजन कार्यालयले सडकको स्तर सुधार्न निर्देशन दिएको छ ।

०००

निर्माणाधीन वीरगञ्ज–ठोरी हुलाकी सडकमा पनि गत हप्ता त्यही कथा दोहोरियो । ठोरी गाउँपालिका–३ ढुंगे बजार क्षेत्रको सडकमा पिच गरेको भोलिपल्टै कालोपत्रे उप्कियो ।

दसैंको बेला स्थानीय बासिन्दा पर्व मनाउन व्यस्त रहेको समयमा निर्माण कम्पनीले हतारमा गुणस्तरहीन काम गरेको थियो । कात्तिक ८, ९ र १० गते गरिएको कालेपत्रे उप्किसकेको छ ।

औंलाले कोट्याउँदा पनि पिच उप्कने गरेको स्थानीय शिक्षक किसन बस्नेत बताउँछन् । उनले पिच गर्दा लापरबाही भएकोबारे आवाज उठाउँदा पनि कतैबाट सुनुवाइ नभएको बताए ।

हुलाकी सडक निर्माण परियोजनाका प्राविधिकहरूका अनुसार सडकमा दुई लेयरको कालोपत्रे गर्नुपर्ने हुन्छ । पहिलो लेयरभन्दा दोस्रो अर्थात अन्तिम लेयर राम्रोसँग जाम हुनुपर्छ । ढुंगे बजार क्षेत्रमा पहिलो लेयरभन्दा दोस्रो लेयर बुर्बुराउँदो, छिद्र भएको र एकापसमा जाम नजोडिएको अवस्थामा छ ।

बानियाँ निर्माण सेवाका फिल्ड इन्चार्ज उद्धव न्यौपानेले पिच राम्रोसँग बस्न ७ दिनसम्म लाग्ने बताए ।

००००

बन्दाबन्दै भत्किएको अर्को सडक हो, बेलहिया–बुटवल व्यापारिक मार्ग । निर्माण कहिले सकिन्छ पत्तो छैन, तर बनेको खण्डको मर्मत गर्न नै १० करोड बढी खर्च भइसक्यो । कतै सडकमा पिच उप्किएर ठूला खाल्डा परेका छन् त कति ठाउँमा सडिक भासिँदैछन् ।

पिच गर्नुअघिको सडकमा पूर्वातयारी नपुग्नु, गुणस्तरहीन बिटुमिन (अलकत्रा)को प्रयोग गर्नु, पिच गर्ने दिनको मौसम वा वातावरण नहेर्नु र पिचपछि गर्नुपर्ने कामहरुमा हुने कमजोरी लगायतका कारण केही दिनमै पिच उप्किने घटना दोहोरिएको जानकार प्राविधिकहरु बताउँछन् ।

ब्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने भनेर थालिएको काम पूरा नहुँदै सडकमा ठूला ठूला भ्वाङ परेपछि ब्यापारीहरु चकित छन् । भारतसँगको नाका जोड्ने सडकको बेहाल भएको देखेर स्थानीय पनि आजित छन् । यो वर्ष पनि सडकम मर्मतका लागि २ करोड रुपैयाँ विनियोजन भएको छ ।

बेलहियादेखि अञ्चलपुरसम्मको सडकमा गाडी गुड्नसमेत अप्ठेरो अवस्था छ । शर्मा–दिवा–कञ्चनजंघा जेभीले जिम्मा पाएको सडक बनिनसक्दै भत्किँदा पनि सडक विभागका अधिकारीहरुले आँखा चिम्लिने गरेको आरोप लगाउँछन् स्थानीय मधुवन कुसवाह ।

अस्फाल्ट कंक्रिट गरिएको सडकको क्षमताभन्दा बढी भार लिएर गाडी गुडेकाले यस्तो अवस्था आएको तर्क विभागका अधिकारीहरुको छ ।

‘पिच नै टिकेको छैन,’ स्थानीय कुसवाह भन्छन्,‘भारततिर पनि यस्तै पिच गरेको छ, त्यही गाडी गुड्दा त्यता त सडक भत्किएको देखिन्न त ।’

५ वर्षमा सक्ने लक्ष्य लिएर काम सुरु भएको सडक बनाउन ७ वर्ष लागिसक्यो, साढे ५ अर्ब खर्च पनि भइसक्यो । तर, सडकको अवस्था सुध्रिएको छैन ।

 

काम भएकै भोलिपल्ट नै यसैगरी कालोपत्र कार्पेट पल्टाएजसरी उप्किनु नेपालमा सामान्यजस्तो भइसक्यो । आखिर किन एक हप्ता पनि टिक्दैन त सडकमा करोडौं खर्चिएर गरेको पिच ?

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटा पिच गरेको भोलिपल्ट राम्रोसँग ‘सेट’ नहुँदै उप्काउन नहुने बताउँछन् । कमजोर गुणस्तरको पिच भएको सडकले केही दिनमै आफ्नो असली रुप देखाउने उनको भनाइ छ ।

‘काठमा फेबिकोलले सनमाइका टाँस्नासाथै उप्कायो भने त उप्किहाल्छ,’ उनी भन्छन्, ‘कम्तीमा निगरानी गर्नेहरुले गुणस्तर जाँच्न दुई–चार दिन कुर्नुपर्छ ।’

जानकारका अनुसार सडकमा पिच नटिक्नुमा केही प्रमुख कारणहरु छन् । पिच गर्नुअघिको सडकमा पूर्वातयारी नपुग्नु, गुणस्तरहीन बिटुमिन (अलकत्रा)को प्रयोग गर्नु, पिच गर्ने दिनको मौसम वा वातावरण नहेर्नु र पिचपछि गर्नुपर्ने कामहरुमा हुने कमजोरी लगायतका कारण यस्ता घटना दोहोरिरहेको उनीहरुको मत छ ।

सरकारले बनाएको सडक निर्माणको मापदण्ड पनि कमजोर रहेको र मापदण्डअनुसार ठेकदार तथा आयोजनाले काम पनि नगरेकाले समस्या देखिएको बताउँछन् सडक विभागकै अधिकारीहरु ।

कमजोर पूर्वतयारी

सडक पिच गर्नुअघि ग्राबेलिङको तह र आधार तह (बेस)लाई राम्रोसँग बसाल्नुपर्छ । त्यसमा तोकिए अनुसारको ग्राबल, रोडा–माटो मिसिएको हुनुपर्छ । त्यसले सडकको तल्लो तहसँग पकड बनाएको हुनुपर्छ । सडक पिच गर्दा चिसो र ओसिलो भागलाई सुक्न दिनुपर्छ । बेसलाई खँदिलो बनाए रोलर चलाउनुपर्छ ।

पानीले चिसिएको वा ओसिएको भागमा कालोपत्रे हाल्ने हो भने त्यो टिक्न सक्दैन । कालोपत्रे गर्दा प्रयोग हुने अलकत्राको मूल शत्रु भनेकै पानी हो । तल्लो भाग ओसिलो वा खदिँलो रह्यो भने माथि हालिएको पिच मज्जाले अडिन सक्दैन । त्यसैगरी, पिच गर्दा सडकमा रहेको धुलो माटो र बालुवा पूर्ण रुपमा हटाउनुपर्छ । सडक राम्रोसँग बढारेर बेसमा हालिएको रोडा मात्रै देखिने गरी तयार गर्नुपर्छ । त्यसमाथि पगालिएको अलकत्रा (प्राइम) छर्नुपर्छ । जसले त्यो रोडासँग माथि हालिने कालोपत्रेलाई जोड्ने काम गर्छ ।

अहिले विभिन्न जिल्लामा ठेकदारहरुले सडकलाई पर्याप्त मात्रामा रोलर चलाएर स्थिर नबनाउने, धुलो माटो राम्रोसँग सफा नगर्ने र सडक चिसो नै भएपनि काम सक्न हतारमा कालोपत्रे हाल्ने काम गरिरहेका हुन्छन् । कतिपय ठाउँमा सडकमुनिबाट खानेपानी र ढलको पाइप लगिएको हुन्छ, पानी लिकेज भइरहे पनि बेवास्ता गररै पिच हालिन्छ ।

कतिपय अवस्थामा पानी पर्दापर्दै पिच गर्ने पनि गरिन्छ । उच्च स्तरीय अलकत्रा नभएमा पानी पर्दापर्दै गरिने पिच टिक्न सक्दैन । सकेसम्म घाम लागेको दिनमा दिउँसो नै कालोपत्रे गर्दा त्यो टिकाउ हुन्छ । अझ सडकलाई टिकाउने हो भने निर्माणअघि नै भू–प्राविधिक अध्ययन हुनुपर्छ । महंगो पर्ने भन्दै सडक विभागले भू–प्राविधिक अध्ययन गर्ने गरेको छैन ।

सडक खण्डको माटोको अवस्था, स्थानीय क्षेत्रको मौसमको अदल–बदलको प्रकृति, सडकमार्ग भएर जाने भूधरातल, सडक आसपासको वातावरणीय अवस्था, गाडीको चाप लगायतका पक्ष हेरेर कालोपत्रे गर्नुपर्ने हो ।

तर, विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्यांकन जस्ता कुराहरुको पनि सामान्य अध्ययन नै नगरी सडक बनाउने प्रचलनले पनि समस्या ल्याइरहेको छ । यस्ता विविध पक्षमा ध्यान नपुर्‍याउँदा स्तरीय कालोपत्रे गरेपनि भत्किन सुरु भइहाल्छ ।

कमसल बिटुमिन प्रयोग

सडक पिच गर्दा प्रयोग हुने प्रमुख सामग्री हो, बिटुमिन । तर, नेपालमा प्रयोग हुने बिटुमिन गुणस्तरका हिसाबले कमजाेर रहेको पाइएको छ ।

विज्ञहरुका अनुसार ५० ग्रेडभन्दा तलको बिटुमिन ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा मात्रै प्रयोग गर्न सकिन्छ । सडक विभागले ८०/१००को पेनिट्रेसन ग्रेड भएको बिटुमिन प्रयोग गर्न भनिएपनि नेपालमा ५० को ग्रेडको बिटुमिन बढी प्रयोग भइरहेको निर्माण व्यवसायीहरु नै स्वीकार्छन् ।

निर्माण व्यवसायीले खर्च बचाउन यस्ता कमसल खालको बिटुमिनको प्रयोग गरेर पिच गर्ने गरेका छन् । जसका कारण सडकको पिच छिट्टै उप्कने गर्दछ ।

सडक विभागको प्रयोगशालामा नमूना जाँचका लागि आउने बिटुमिन अस्वीकृत भएको रेकर्ड एकदमै कम छ । कमसल बिटुमिन प्रयोग गर्दा सडकले पर्याप्त मजबुती त पाउँदैन नै, सडकको आयु पनि छोटो हुन्छ ।

कुनै पनि सडक पिच गर्नुअघि बिटुमिन परीक्षण गर्नुपर्ने हुन्छ । यसरी परीक्षण भएको बिटुमिन उक्त सडकका लागि उपयुक्त भए वा नभएको बारेमा निर्णय गर्ने जिम्मेवारी इन्जिनियरको हुन्छ । तर, इन्जिनियरहरुको नै साँठगाँठमा कमजोर गुणस्तरको बिटुमिन प्रयोग गरेर सडक निर्माण गरिन्छ । जाँचका लागि राम्रो गुणस्तरको बिटुमिनको ल्याउने तर, सडकमा भने इन्जिनियर र आयोजनाका अधिकारीसँग मिलेर कमजोर गुणस्तरको बिटुमिन प्रयोग गर्नु नेपालमा समान्य भइसकेको छ ।

नेपालमा भारत, इरान, सिंगापुरलगायतका देशबाट बिटुमिन भित्रन्छन् । ठेकदारहरुले कम मूल्यमा कजमेर गुणस्तरका बिटुमिन किनेर सडक पिच गराउँछन् । सडक विभागका प्रवक्ता सापकोटा २०० वटा ड्र्मको बिटुमिन प्रयोग हुने भए बढीमा १० वटासम्म नमूना ल्याएर परीक्षण गर्ने गरिएको बताउँछन् ।

‘अरु १९० वटा ड्रममा भएका बिटुमिन कमजोर गुणस्तरका छन् भने त्यसले सडकमा समस्या ल्याइदिन पनि सक्छ,’ उनले भने,‘यसमा ठेकदार आफैं जिम्मेवार भइदिने हो भने समस्या हुँदैन ।’

अहिले नेपालका कतिपय सडकमा ‘वाक्स’ भएका बिटुमिनहरु भेटिने गरेका छन् । यस्ता मिसावटयुक्त बिटुमिन भएका सडकमा पिच गरेको केही दिनमै फुस्रो देखिन्छन् । यस्ता सडकमा कालोपत्रे धेरै टिक्नै सक्दैन ।

गुणस्तरीय पिच नै गरिँदैन

सडकको पिच छिटो उप्कनुमा सरकारको सडक निर्माणको मापदण्ड पनि दोषी छ । निर्माण व्यवस्यासीका अनुसार ३० टनको गाडी गुडाउनका लागि आवश्यक पर्ने सडक निर्माण गर्दा प्रतिकिलोमिटर करिब ३० करोड खर्च हुन्छ । तर, यहाँ भने १५ करोड पनि खर्च नगरी काम सक्ने हिसाबमा लागत स्टिमेट तयार हुन्छ ।

ठूला मालबाहक गाडी गुडाउनका लागि ३५ सेन्टिमिटर ग्राबेल, २५ सेन्टिमिटर बेस र १ सय एमएमको डीभीएम हुनुपर्छ र त्यसमाथि पिच गर्नुपर्छ । तर, अधिकांश सडकमा १५ सेन्टिमिटर ग्राबेल, १० सेन्टिमिटर बेस र ४० एमएमको डीभीएम राखेर पिच गरिन्छ । धेरैजसो सडकमा त डीभीएम नै नराखी पिच गरिन्‍छ ।

कार र जीप गुडाउने स्तरको पिच गरेर ३० टनका गाडी गुडाएपछि सडक भत्किनु स्वाभाविक हुने एक प्राविधिक बताउँछन् । पिच गर्दा पर्याप्त मात्रामा रोलर लगाएर सडकलाई ‘स्थिर’ पनि बनाउनुपर्छ । तर, नेपालमा खर्च बढ्ने भन्दै ठेकदारले कालोपत्रे हालेपछि पर्याप्त मात्रामा रोलर नै चलाउँदैनन् ।


Your Views
Related News