जनताले आफ्नो सम्मान, मर्यादा र शिर ठाडो राख्न संसद् बनाउँछन् । संसद् विघटन गर्दा ‘जनताको मानमर्दन भएको थियो’ भन्ने ऐतिहासिक कथ्य पछिका विघटनहरूमा पनि देखियो ।यो लेखको शीर्षकमा प्रयोग भएका तीनैवटा शब्द नेपाली होइनन् । यिनका प्रयोग यसरी भए– प्रधानमन्त्री खड्गप्रसाद ओलीको सिफारिसमा ५ पौस २०७७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो गणतान्त्रिक संसद् भङ्ग गरेपछि उठेका चक्रवातका धूलोले आँखा मिचेर बसेको अवस्थामा त्यसलाई व्यक्त गर्न उपयुक्त भाषिका खोजिरहेको थिएँ ।

त्यही बेला नेकपाका उच्च नेता प्रचण्डले पुस १३ गते राति कान्तिपुर टीभीको ‘फायरसाइड’मा पत्रकार रूपेश श्रेष्ठसँग गरेको अन्तर्वार्ता आयो । मेरानिम्ति केपी ओलीले संसद् भङ्ग गरेको कुरा र प्रचण्डको व्याख्या दुवैले प्रश्नहरू उजागर गरिदिए ।

नेपाली परिवर्तनशील राजनीति कसरी काम गर्दै थियो र अब कतातिर जान्छ ? के यो विनिर्माणतिर अभिमुख छ ? भन्नेजस्ता प्रश्नहरू एकैसाथ आए । राजनीतिक विश्लेषक नभएको हुनाले म साहित्यिक आधारहरूद्वारा नै अर्थहरूको खोजी गर्ने जमर्को गर्छु । ओलीको चाहिँ तथाकथित ‘याक्सन्’ हो ।त्यसैले त्यहाँ धेरै भाषा र व्याख्या छैनन् । तिनै हिजो पार्टीका लेनदेनमा प्रयोग भएका सूत्रवाक्यहरू मात्र बोल्दै जानु नै नियति भएको छ उनको । हाम्रा राष्ट्रिय र अन्तर्राष्ट्रिय नाट्य कार्यक्रममा आएर तिनले बोलेका कुराहरूका सम्झना छन् । ओली मान्छे सिर्जनशील हुन् । उनीसँग निकै नेताहरूमा नभएको भाष्य सामर्थ्य छ । तर, अब तिनमा सायद त्यो सामर्थ्य हुँदैन । अब ती त्यही पुनरावृत्ति हुने शक्ति र अर्थ नलाग्ने उक्तिहरू मात्र बोल्नुले दिनदिनै सीमित हुँदै जानेछन् । उनले जनताका यत्रा दुःखले, जसमा आफैं पनि छन्, आर्ज्याको ऐतिहासिक संसद् अनायास भंग गरेकाले त्यसो हुने हो ।

प्रचण्ड उन्मुक्त र आत्मस्वीकृतिमूलक भाषा बोल्ने अवसर प्रयोग गर्दै थिए । ती संसद् भङ्ग भएपछि फुटेको नेकपाको तर्फबाट बोल्दै थिए । तिनले आफ्नो, केपी ओली, माधव नेपाल, वामदेव गौतम, झलनाथ खनाल, बादल र अरू केही नेताका चरित्र र तिनका मनोगत आयामको खुलासा गरेका थिए । मूलतः त्यो अन्तर्वार्तामा हाम्रोजस्तै साहित्यिक शैली खोज्दै थिए ती । आफ्नो स्वभावबारे व्याख्या गर्दै थिए । रूपेश भाइको प्रश्नको उत्तर दिँदै तिनले भने— म अस्थिर होइन, म जमेर नबस्ने मानिस हुँ । मैले ‘ब’ मित्रहरू (वैद्य, बाबुराम, बादल, वामदेव आदि) लाई खेदेको होइन । उनीहरू

आफ्ना अर्कै कार्यक्रम र धारणा लिएर गएका हुन् । सायद प्रचण्ड भन्दै थिए– इतिहासका आँधीमा साथीहरू उनको वरिपरि उठेका थिए अनि ती सँगै हिँडिरहेका थिए । म साथीहरू लिएर आएको छु, आएको पुल भत्कियो, जाने ठाउँ छैन भन्दै ती बृहत् वामवृत्तमा आइपुग्दा मैले उनलाई बाइबलका मोजेज् फ्लक लिएर निस्केको तुलना गरेर यही अखबारमा लेख लेखेको थिएँ । तर, नेकपाको राजनीतक घटनाक्रममा तिनको र तिनका साथीहरूको त्यो महायात्राले के पाठ खेल्यो इतिहासले मूल्याङ्कन गर्नेछ । तिनले भने– बद्लिनु राजनीति र राजनीतिज्ञका निम्ति नयाँ शक्ति खोज्नु र त्यसको सञ्चार गर्नु हो । प्रचण्डले गुनासो गरेको अर्थपूर्ण थियो– अहिले अमेरिका अनि प्रजातान्त्रिक संसदीय व्यवस्था भएका, भारत, बेलायत फ्रान्स आदि देशले यो संसद् भङ्ग भएको विषयमा कुनै आलोचना गरेनन् । रूपेशले सोधे— चीनले के गर्छ ? प्रचण्डले भने— चीनले यस्ता कुराको आलोचना गर्दैन । अर्थपूर्ण लाग्यो ।संविधानसभा हठात् विघटन भएको समाचारले जन्माएका लेखहरू पढ्दै जान्छु । केही दिनभित्रै आफूले सोच्दै नसोचेका तरङ्गहरू उठेका छन् । सबै दलका मिटिङहरू विद्युत् गतिमा भइरहेका छन् । कमिनिस्टहरूले आफ्ना समूह र सम्बन्धका इतिहास खोतलेका छन् । हिजोको बाटो बद्लेकाहरूका स्मृतिहरूका पनि व्याख्या भएका छन् । कतिपय विचारकहरूले अबको कमिनिस्ट पार्टी त्रुटि सुधार गरेर अर्कै बनाउनुपर्छ भनेका छन् । कमिनिस्टइतर दलहरूमा पनि तरंग छाएको छ विचारधाराको ।

समस्याले होइन, जनाताका पीडाबोधले होइन, अनिश्चित भविताको कल्पनाले होइन, नेताका ह्यामर्सियाले ट्रयाजेडी जन्माउँदै छ । तर, यो विश्वास गरेर भीषण जनमतबाट छानेको सरकार र दलका खेलबाडको चर्को मोल जनताले चुकाउनुपर्छ ।

हिजोदेखिका ती पार्टीभित्रका लुप्त कुराहरू बाहिर बहसमा आएका छन् । कांग्रेसका केही नेताले सबै फरक विचार मुल्तबी राखेर एक हुनुपर्छ भनेर प्रस्ताव ल्याएका छन् । नेपाली राजनीति विश्लेषण गर्ने दलहरूको यो चिन्ताजनक अवस्थालाई ‘के सक्यो दैलो देख्यो’ भन्ने उक्तिमा चरितार्थ गर्न सकिन्छ । अहिले हामीलाई अस्तित्ववादी उपन्यासकार झँ पोल सार्त्रको युद्धकालको उपन्यास ‘आत्मामा फलाम’ को पात्र मेथ्युज्को जस्तो विश्वास गर्ने वा देखिने एउटा दृष्टि दिइएको छ । मेथ्यु त्यसैमा विश्वास गरेर विसंगत जीवनसँग लडिरहन्छ । तर, खासमा अगोचर तह छ, जुन ऊ आकलन गर्न सक्दैन । हामीलाई दिएको तह मेथ्युको जस्तो ओली र दाहाल समूहको राजनीतिक प्रतिद्वन्द्विता हो । अर्को अगोचर तहका इन्डोप्यासिफिक र रोड एन्ड बेल्टका अन्तरंग शीतयुद्ध आदि अनेकौं कुरा लिएर खेलिने खेलहरूबारे हामीलाई थाहा हुँदैन । प्रचण्डले यो कुरा हो भने ‘फायरससाइड’ मा । फ्रान्ज काफ्काको प्रसिद्ध कथा कायापलट वा ‘मेटामोर्फोसिस’जस्तो परिवर्तन भएका छन् कमिनिस्ट नेताहरू अहिले, थाहा हुँदै छ ।

यो संघीय गणतन्त्रात्मक संविधान बनाउन धेरैले धेरै कुरा छोडेका छन् । जनजाति, मधेसी, महिला, दलित र हिजोको विचार मान्नेहरू सबैले यो संविधानका निम्ति निकै कुरा छोडे । सम्झिन्छु, यो संविधानलाई पूर्ण रूपले नमानेका नेपालका उप–प्रधानमन्त्री कमल थापाले समेत २०१५ मा भारतीय प्रतिनिधिको विचार खण्डन गर्दै जेनेभामा नेपालको संविधानको डिफेन्स गरेका थिए । मेरा पूर्वविद्यार्थी यी थापाले मलाई भनेका थिए, यसो गर्दा उनलाई गौरवान्वित भएको महसुस भएको थियो । त्यस अर्थमा सबैले यो संविधानलाई मानेर एउटा इतिहास रचेका हुन् ।लेखहरू पढ्दै जान्छु । तिनमा मूलतः कानुन र संविधानका धाराहरूको व्याख्या गरिएका छन् । सबैको निष्कर्ष छ, यो गणतन्त्र संविधानले प्रधानमन्त्रीले संविधानसभा भङ्ग गर्ने प्रावधान नै खारेज गरेको छ । यसमा राजनीतिक विश्लेषणहरू जोडिएका छन्, जसले भन्छन्— अब नेपालको राजनीतिक स्थिति डामाडोल हुनेछ र यसले नेपालले पाएका उपलब्धि गुम्नेछन्, त्यसको साथसाथै लोकतन्त्रलाई काम गर्न अप्ठ्यारो हुनेछ । नेपाली जनताले पाँच वर्षका निम्ति शासन गर्न र व्यवस्था मिलाउन, देशका विपन्न नरनारीको जीवनमा नयाँ जीवन सञ्चार गर्ला भनेर छानेको नेकपाका अहिलेका राजनीतिक भाषिका दुःखद र भ्रामक छन् ।

यो बीचमा नेपालमा ठूला संकट आए । विश्वव्यापी महामारी कोभिड–१९ को महासंकट अब सूचनाको मात्रै होइन, संवेदना, चिन्ता, नैतिक अनि भावनात्मक विषय भएको छ । त्यस्तो बेलामा देशमा राजनीति र सरकारले कसरी काम गर्छन् भन्ने विषय मुख्य हुन्छ । नेपालमा सरकार बलियो र जनादेश पाएको हुनाले मलाई भित्र समस्या समाधान हुन्छ भन्ने विश्वास लागिरहन्थ्यो । तर, नेपाली राजनीतिले अनौठो किसिमले अन्तर्मुखी चरित्र लियो । त्यो रहस्यवादी हुँदै गयो । नेपालमा कमिनिस्ट र अरू दलका नेताहरूका मनोगत चरित्र प्रकट हुँदै गए । ती खग्रास ग्रहणजस्ता भए । तिनको एक पाटो मात्रै देखियो । त्यो चरित्रको नाटक हेर्न महँगो टिकट काटेर जनता लाइन लागे । काठमाडौंको जाडोमा आफ्नो कमाइको दाम लिन किसानहरू थुर्थुर कामेर आए ।लाखौंको संख्यामा नेपाली जनता कोभिड आक्रान्त भएर देश फर्के अनि थाहा पाए तिनको देश, तरल र आकारहीन एक फोकलोर र रहस्य मात्रै रहेछ । मूल समस्या गौण भए । ती अमेरिकी उपन्यासकार राल्फ एलिसन्को विश्वप्रसिद्ध उपन्यास ‘इन्भिजिबल् म्यान’ अथवा ‘अदृश्य मानिस’ को अश्वेत पात्रजस्तै अदृश्य भए । लाखौंको संख्यामा घरमा पकाएको सेलरोटी पोको पारेर ती भारततिरै फर्के । नेपालको राजनीतिलाई फाइदामा बदल्ने र कमाउनेहरू मात्र देखिए । दल र नेताहरूले यी अदृश्य जनतामाथि राजनीति गर्न थाले र तिनकै अधिकार छिनेर ती शासनमा बसे ।

‘अदालतको बयान’ (२०३३) मा बीपीले जोड दिएर भनेका छन्– राजा महेन्द्रले संसद् भङ्ग गरेको दिन सर्वसाधारण नेपालीको मानमर्दन भएको थियो । अहिले तिनै जनताले छानेका नेता तिनलाई देख्तैनन्, तिनका अधिकारमाथि खेलबाड गर्छन् र तिनको मानमर्दन गरिबस्छन् भने त्यो एउटा गम्भीर र चिन्ताको अवस्था हो, देश र जनताका निम्ति ।समस्याले होइन, जनाताका पीडाबोधले होइन, अनिश्चित भविताको कल्पनाले होइन, नेताका ह्यामर्सियाले ट्रयाजेडी जन्माउँदै छ । तर, यो विश्वास गरेर भीषण जनमतबाट छानेको सरकार र दलका खेलबाडको चर्को मोल जनताले चुकाउनुपर्छ । अनेकौं दलका राजनेताहरूका महत्त्वाकांक्षा समाधानभन्दा तिनको प्राप्ति गर्ने अभ्यासमा परिणत हुनेछन् । जनताले आफ्नो सम्मान, मर्यादा र शिर ठाडो राख्न संसद् बनाउँछन् । संसद् विघटन गर्दा ‘जनताको मानमर्दन भएको थियो’ भन्ने ऐतिहासिक कथ्य पछिका विघटनहरूमा पनि देखियो ।त्यसैले संसद् भङ्ग हुनु अशुभ संकेत हो । यो कुराको चेतना भएको राजनीति मात्र लोकतान्त्रिक हो । प्रधानमन्त्रीले संविधान भंग गरको विरोधमा सडकमा आवाजहरू उठिरहेका छन् । नेपालको सर्वोच्च अदालतमा यो मुद्दाको बहस सुरु भएको छ । विदेशी सरकारी दूतहरू र दलका नेताहरू सक्रिय छन् । यो अनपेक्षित घटना र अशान्तिको कारण संसद् भङ्ग हुनु नै हो । तर, यहाँसम्म आइपुग्नुको कारणमा नेकपाका र अरू दलका नेताहरूका स्वभावदोष र आत्मकेन्द्रित शक्ति अनि धनमा लिप्त कर्महरू जिम्मेदार छैनन् भन्न सकिँदैन ।


Your Views
Related News