गत फेब्रुअरी १ तारिखमा कूमार्फत् सेनाले सत्ता आफ्नो हातमा लिएयता म्यान्मारमा सुरक्षाकर्मीहरूले ७०० जनाभन्दा बढीको हत्या गरिसकेको एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (बर्मा) ले जनाएको छ।

 त्यसरी मारिएकामध्ये तीनजनाका आफन्तसँग कुराकानी गरेको छ। कू पछि म्यान्मारमा हिंसाको उतारचढाव जारी छ। प्रदर्शनकारीमाथि दमन बढ्दा त्यसका पीडितहरूको सङ्ख्या पनि बढिरहेको छ।मारिएकामध्ये केहीले कू विरुद्धको प्रदर्शनमा हिस्सा लिएका थिए।तर बालबालिकासहित कतिपय अरू चाहिँ सामान्य रूपमा आफ्नै घरमा बसिरहेका बेला मारिए।

प्रस्तुत छ: तीन पीडित परिवारले सुनाएका उनीहरूका कथा।

टिकटकमा प्रजातन्त्रका पक्षमा गीत गाउने किशोरी

प्रजातान्त्रिक आन्दोलनकी उत्साही समर्थक चौध वर्षीया पान ई फूले प्रजातन्त्रको पक्षमा गीत गाउँदै टिकटकमा कैयौँ भिडिओहरू बनाएकी थिइन्।सुरक्षा चिन्ताले उनकी आमा थिडा सानले उनलाई सडक प्रदर्शनमा सामेल हुन दिइनन्।तर त्यो मात्र उनलाई बचाउनका लागि पर्याप्त भएन।गत मार्च २७ तारिखमा उनी सैन्य कारबाहीबाट बच्न भागिरहेका प्रदर्शनकारीलाई आफ्नो घरको ढोका खोल्न चाहन्थिन्।तर पान ई फूलाई आफ्नै घरभित्र गोली हानेर मारियो।

तस्बिर स्रोत,COURTESY OF FAMILIES

तस्बिरको क्याप्शन,

चौध वर्षीया पान ई फूले प्रजातन्त्रको पक्षमा गीत गाउँदै टिकटकमा कैयौँ भिडिओहरू बनाएकी थिइन्

त्यो दिन कूपछि सबैभन्दा धेरै मानिसहरू मारिएको दिन थियो।उक्त दिन ११ जना बालबालिकासहित ११४ जना मारिएका थिए।उनकी आमा थिडा सानले भावुक हुँदै बीबीसीसँग भनिन्, “उ एक्कासि लडी, मैले सोचे चिप्लिएकी होली। तर मैले त्यसपछि उसको ढाडमा रगत देखे अनि थाहा पाएँ- उसलाई गोली लाग्यो।”बर्मेली भाषामा ‘पान’ भनेको फूल, “ई” भनेको कोमल र “फू” भनेको सेतो हो।”जन्मँदा मेरी छोरी सुन्दर थिई, सानो कोमल फूलजस्तै। त्यसैले मैले उसको नाम त्यस्तो राखेकी थिएँ,” थिडाले भनिन्।

उनी आफ्नी छोरी घरायसी काममा कति सहयोगी थिइन् भनेर सम्झिन्छिन्।उनकी छोरीले ठूली भएर एउटा अनाथालय खोल्ने सपना देखेकी थिइन्।उनी भन्छिन्, “मलाई लाग्छ मेरी छोरीविना म बाँच्नुको अर्थ छैन। म उसको साटो आफू मर्न चाहन्छु।”पान ई फूको मृत्युले उनका १० वर्षीय भाइ मग साई साईलाई पनि गहिरो असर पारेको छ।

सानका अनुसार दिदीको हत्यापछि भाइ पनि रातभरि सुत्न नसकेको बताउँछिन्।उनी सुत्नुको साटो दिदीको टिकटक भिडिओहरू हेर्छन् र भावुक बन्छन्।उक्त घटनापछि पान ई फूको परिवार त्यस स्थानबाट अन्तै सरेको छ। थिडालाई त्यहाँ फेरि अनिष्ट हुने डरले सताएपछि परिवारले उक्त स्थान छाडेको हो।तर अझै पनि उनलाई डरले सताइरहेको छ।उनी भन्छिन्, “हाम्रो जीवन अब सुरक्षित छैन।”

खुसमिजाज स्वर्णकार

तस्बिर स्रोत,COURTESY OF FAMILIES

तस्बिरको क्याप्शन,जीन मिन टेट आफ्ना साथीहरूलाई सहयोग गर्न जे पनि गर्न तयार हुन्थे

जीन मिन टेट आफ्ना साथीहरूलाई सहयोग गर्न जे पनि गर्न तयार हुन्थे।उनका एकजना साथी को साईले बीबीसीलाई भने, “जतिसुकै आर्थिक समस्या भए पनि उ साथीहरूलाई आर्थिक कुरामा होस् वा अन्य कुरामा सहयोग गर्थ्यो। उ असल थियो। उ सधैँ मुस्कुराइरहन्थ्यो।”मार्च ८ तारिखमा गोली लाग्नु पूर्वसम्म उनी कूविरुद्धको प्रदर्शनको अग्र मोर्चामा हुन्थे।उनी अन्य प्रदर्शनकारीलाई बचाउन कोसिस गर्थे।

उनकी आमा डो अन मा उनलाई गोली लाग्यो भन्ने सुन्ने बित्तिकै अस्पतालतर्फ दौडिइन्।उनले बीबीसीसँग भनिन्, “मलाई आमा भनेर बोलाएको उसका अन्तिम शब्दहरू म सुन्न चाहन्थे। मैलै पाइनँ। त्यहाँ जताततै रगत लतपतिएको थियो। मैले उसलाई हेर्न सकिनँ। उ पहेँलो र चिसो थियो। पहिले नै धेरै रगत बगिसकेको थियो।””म के भनौँ? त्यो क्रूर र निर्दयी थियो। मलाई यसको शव सकेसम्म चाँडो घर ल्याउनु थियो।”जीन मिन टेटले स्वर्णकारको रूपमा तीन वर्षसम्म तालिम लिएका थिए।उनी परिवारका कान्छो र एकमात्र छोरा थिए।

तस्बिर स्रोत,COURTESY OF FAMILIES

तस्बिरको क्याप्शन,जीन मिन टेट

डो अन मा उनले गरेका वाचाहरू सम्झिन्छिन्। उनले पर्याप्त पैसा कमाएर आमाका लागि नयाँ घर किन्ने सपना सुनाएका थिए।उनी भन्छिन्, “उ खुसमिजाज खाले मान्छे थियो। कसैलाई पनि कहिल्यै उसले दु:खी बनाएन। उ मैले पकाएको मीठो मानेर खान्थ्यो। अन्यत्रको खाना खान अस्वीकार गरेर घरमै साथीहरूलाई बारम्बार बोलाइरहन्थ्यो।”मारिएका दिन पनि उनले आमालाई कामका लागि जान लागेको बताएका थिए।उनले ढाँटे किनकि आमाले उनलाई प्रदर्शनमा जान अघिल्लो रात पनि रोकेकी थिइन्।तर उनी आफ्नो छोराले जे चाहन्थ्यो त्यसका लागि ज्यान दिएको बताउँछिन्।”म मेरो छोराप्रति गर्व गर्छु। उ नायक हो,” उनले भनिन्, “उ आफ्नो देशलाई योगदान दिन एकदमै उत्सुक थियो।”

ट्याक्सी ड्राइभर, जसलाई आफ्नै श्रीमतीका अगाडि गोली हानियो

फेब्रुअरी २८ तारिखमा हाइन टुट अङ र उनकी श्रीमती मा जीन मार कू विरोधी प्रदर्शनमा गएका थिए।ती दम्पती आफ्नो काम सकेपछि प्रदर्शनहरूमा सहभागी हुने गर्थे।तर त्यस दिन मा जीन मार मात्र घर फर्किइन्।

 

उनीहरू प्रदर्शनमा सहभागी हुन जान एउटा बसमा चढ्दै थिए।

तर गोली चलेकाले त्यो बस रोकियो र यात्रुहरू झर्नुपर्‍यो।”सडक पार गर्दै गर्दा उनलाई गोली हानियो,” मा जीन मारले बीबीसीलाई भनिन्, “घटनास्थल हामीभन्दा खासै टाढा थिएन। त्यहाँ प्रदर्शनकारीहरूले डस्टबिन र काँडेतारले बाटो बन्द गर्दै थिए किनकि उनीहरूमाथि गोली चलिरहेको थियो।””उनी पीडाले चिच्याए र मैले उनको छातीमा रगत देखेँ। मैले समातेर प्वालमा दबाब दिएँ।”

उनी अस्पतालतर्फ दौडिए तर त्यस बेलासम्म ढिलो भइसकेको थियो।हाइन टुट अङ मोटरसाइकल-ट्याक्सी ड्राइभर थिए। त्यसैले छेउछाउका सबैले उनलाई चिन्थे।मा जीन मार भन्छिन्, “उनी एकदमै साधारण मानिस थिए। उनी शान्त स्वभवका थिए र अरू मानिससँग धेरै कुरा गर्दैन थिए। फुर्सदमा उनी मोबाइलमा गेम खेल्थे। आफूले इमानदारीसाथ कमाएको पैसाले परिवारको हेरचाह गर्थे।”अनलाइनमार्फत भएको चिनजानपछि उनीहरूले पाँच वर्षअघि विवाह गरेका थिए।

“हामी जहाँ जान्थ्यौँ हामी साथै हुन्थ्यौँ। म उनलाई सम्झिरहन्छु।” अहिले पनि मा जीन मार प्रदर्शन गरिरहने बताउँछिन्। कूको अन्त्य नहुन्जेल प्रदर्शन गरिरहने उनको भनाइ छ।

बीबीसी…


Your Views
Related News