खोपको दोस्रो मात्रा लिएको तीन हप्तापछि दिल्लीका एक विज्ञान संवाददातामा उच्च ज्वरो, घाँटी दुख्ने समस्या र असजिलो महसुस हुने लक्षण देखा पर्‍यो।

पल्लव बाग्लालाई एप्रिल २२ मा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भयो। त्यसको चार दिनपछि छातीको परीक्षण गर्दा उनको सफा फोक्सो सेतो हुँदै गएको देखियो।

ज्वरो नथामिएकाले लक्षण देखिएको आठ दिनपछि उनलाई अस्पतालमा भर्ना गरियो। अल इन्डिया इन्स्टिट्यूट अफ मेडिकल साइन्सेज (एम्स) का चिकित्सकहरूले उनको रगत परीक्षण गरे र उनलाई स्टेरोइडहरू दिन थाले। उनलाई मधुमेह भएकाले उनको रगतमा चिनीको मात्रा उच्च देखिन थाल्यो। तर भाग्यवश उनको अक्सिजनको तह कहिल्यै पनि खतरा उत्पन्न गराउनेगरी घटेन।

आठ दिन अस्पताल बसेर फर्कनुअघि चिकित्सकहरूले खोप नलगाएका उनकै उमेरका मधुमेह भएका व्यक्तिको फोक्सोको एक्सरे तुलना गरेर उनलाई देखाए।

बाग्ला भन्छन्, “फरक स्पष्ट थियो। यदि मैले खोप नलगाएको भए मलाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आउने सक्ने कुरा चिकित्सकहरूले बताए। समयमै पूर्ण रूपमा खोप लगाएकाले मेरो जीवन जोगियो।”

अहिलेसम्म भारतले आफ्नो एक अर्ब ३० करोड जनसङ्ख्याको केवल तीन प्रतिशतलाई पूर्ण रूपमा खोप लगाएको छ। तर पूर्ण रूपमा खोप लगाएको दुई हप्तापछि पनि सङ्क्रमण हुने मानिसहरूको सङ्ख्या बढिरहेको छ।

अनुसन्धानको आवश्यकता

स्वास्थ्यकर्मी विशेष गरी चिकित्सक, नर्स र अस्पताल अनि क्लिनिकका कर्मचारीमा यस्तो देखिनु सामान्य हो। तर बाग्ला फरक व्यवसायमा भएकाले वैज्ञानिकहरूले उनको नाक र घाँटीबाट नमुना सङ्कलन गरेर उनलाई सङ्क्रमण गर्ने भाइरसको आनुवंशिक अध्ययन गर्ने प्रयास गरेका छन्।

तस्बिर स्रोत,REUTERS

तस्बिरको क्याप्शन,अहिलेसम्म भारतमा कुल जनसङ्ख्याको २.५ प्रतिशतले मात्र कोभिडको पूरा मात्रा खोप पाएका छन्

यसको उद्देश्य अहिले अस्तित्वमा रहेका खोपहरू – भारतको हकमा दुईवटा खोप – कोरोनाभाइरसको नयाँ र अझ सङ्क्रामक प्रकारहरूबाट मानिसलाई जोगाउन पर्याप्त छन् भन्ने प्रश्नको उत्तर खोज्नु हो।

कोरोनाभाइरसका खोपहरू प्रभावकारी रहेकोमा विवाद छैन। तिनले सङ्क्रमण रोक्न नसके पनि भाइरसका खतरनाक प्रकारबाट हुने गम्भीर प्रकारका समस्या र मृत्युबाट जोगाउन सक्ने ठानिएको छ।

तर “भ्याक्सीन लगाएपछि पनि हुने सङ्क्रमण” अनपेक्षित हैन।एप्रिल २६ सम्म संयुक्त राज्य अमेरिकामा खोप लगाइसकेका साढे नौ करोड लाख मानिसमध्ये ९,००० भन्दा बढीमा सङ्क्रमण देखिएको बताइन्छ।

तीमध्ये ९ प्रतिशत अर्थात् ८३५ जना अस्पतालमा भर्ना भएका थिए र १३२ अर्थात् एक प्रतिशतको मृत्यु भएको थियो। अस्पताल पुगेका एकतिहाइ बिरामी र ज्यान गुमाएका १५ प्रतिशत बिरामीमा ‘सङ्क्रमण नदेखिएको वा कोभिड-१९ सँग सम्बन्धित नरहेको’ विवरण आएको थियो।कमजोर तथ्याङ्कका कारण भारतको अवस्था अझै अस्पष्ट छ।त्यहाँ ठूलो सङ्ख्यामा पूर्ण रूपमा खोप लगाएपछि पनि सङ्क्रमण देखा परेको र केहीले ज्यान पनि गुमाएका विवरण आएका छन्।तर सङ्क्रमणले नै ज्यान लियो कि लिएन भन्ने स्पष्ट छैन।

प्रमाणको अभाव किन?

अधिकारीहरूले खोप लगाएका प्रत्येक १०,००० मानिसमध्ये २,००० देखि ४,००० जनामा फेरि सङ्क्रमण देखिएको बताएका छन्। तर उक्त तथ्याङ्क अपूर्ण छ किनभने तीन महिनासम्म परीक्षण गराएका व्यक्तिलाई खोप लिएको वा नलिएकोबारे केही सोधिएको थिएन।अस्पतालबाट आएका प्रमाणहरू मिश्रित छन्।अमेरिकाको मायो क्लिनिकका प्रा. डा. भिन्सेन्ट राजकुमार आफूले तमिलनाडुका दुईवटा प्रमुख सरकारी अस्पतालमा कुरा गरेको र खोप लगाएका उनीहरूका कर्मचारीको एकदमै ‘सानो अंश’ मा मात्रै सङ्क्रमण देखिएको पाएको बताए।“तीमध्ये थोरैलाई सङ्क्रमण भएको थियो र उनीहरूको अवस्था चाँडै सुधार भयो।”

तस्बिर स्रोत,REUTERS

तस्बिरको क्याप्शन,खोपको अभावका कारण खोप अभियान सुस्त भएको छ

अर्कोतर्फ राजधानी दिल्लीको सबैभन्दा ठूलो कोभिड-१९ अस्पताल लोकनायक जयप्रकाश नारायण अस्पतालको सघन उपचार कक्षका ६० प्रतिशत चिकित्सकहरू पूर्ण मात्रा खोप लगाइसकेपछि पनि सङ्क्रमित भए।तर कसैलाई पनि भर्ना गर्नु नपरेको सघन उपचारका एक विज्ञ फराह हुसेनले जानकारी दिइन्। “उनीहरूका परिवारका कतिपय सदस्य बिरामी भए र तीनलाई अस्पताल नै ल्याउनुपर्‍यो।”

दिल्लीकै अर्को अस्पताल फोर्टिस सी-डीओसीमा गरिएको अध्ययनमा खोप लगाएका ११३ स्वास्थ्यकर्मीमध्ये १५ जनामा दोस्रो मात्रा लिएको दुई हप्तापछि सङ्क्रमण देखियो। तीमध्ये १४ जनामा मध्यम खालको सङ्क्रमण थियो भने एक जनालाई अस्पताल भर्ना गर्नुपर्‍यो।

“हामीले स्वास्थ्यकर्मीमा ठूलो सङ्ख्यामा फेरि सङ्क्रमण भएको देखिरहेका छौँ। तर अधिकांश मध्यम खालका छन्। खोपले गम्भीर खालको सङ्क्रमणलाई रोकिरहेको छ,“ मधुमेहसम्बन्धी विज्ञ तथा उक्त शोधका सहलेखक डा.अनुप मिश्रा भन्छन्।

विज्ञको चिन्ता कस्तो?

केरलामा पनि खोपको पूर्ण मात्रा लगाएर सङ्क्रमण देखिएका छजना स्वास्थ्यकर्मीको स्वाबको अध्ययन गरिएको थियो।तीमध्ये दुई जनामा शरीरको प्रतिरोधी क्षमतालाई परास्त गर्न सक्ने ‘म्यूटन्ट’ भेरिएन्टबाट सङ्क्रमण भएको देखियो। तर कसैलाई गम्भीर खालको रोग नदेखिएको उक्त अध्ययनका लेखक तथा अनुवंशशास्त्री डा. विनोद स्कारिया बताउँछन्।

वैज्ञानिकहरू खोपले कस्तो काम गरिरहेको छ भन्ने पत्ता लगाउन र सर्वसाधारणमा देखा परेको यस्तो सङ्क्रमण रोक्न थप तथ्याङ्क आवश्यक रहेको बताउँछन्।

तस्बिर स्रोत,EPA

तस्बिरको क्याप्शन,अहिले भारत कोरोनाभाइरस महामारीको दोस्रो लहरले नराम्ररी प्रभावित भएको छ

भाइरसविज्ञ शाहिद जमीलले खोप लगाएपछि पनि सङ्क्रमण देखा परेकाले मानिसहरूमा धेरै शङ्का उत्पन्न भएको र उनीहरू विभिन्न कुरा सुनेर चिन्तित भएको बताए।सबैभन्दा ठूलो चिन्ता भारतमा दैनिक खोप लगाउने दरमा कमी आइरहेको छ र सामुदायिक स्तरमा रोगप्रतिरोध क्षमता कायम हुने बिन्दु अझै टाढा छ।खोपप्रतिको अनिच्छाले अवस्थालाई अझ खराब बनाउन सक्छ।

अबको बाटो के?

वैज्ञानिकहरूका अनुसार भारतको खतरनाक र अनियन्त्रित दोस्रो लहरले भाइरसलाई आफ्नो स्वरूप परिवर्तन गर्न अझ सहज बनाइन्छ। अनि सङ्क्रामक खालका भाइरसले खोपका कारण विकसित हुने रोगप्रतिरोध क्षमतालाई परास्त गर्न सक्छन्।

तस्बिर स्रोत,GETTY IMAGES

तस्बिरको क्याप्शन,भारतले आपूर्ति गर्न नसक्दा धेरै देशमा कोभिड खोप पुग्न सकेको छैन

त्यही भएर भाइरसमा देखिएको परिवर्तनलाई अध्ययन गर्नु आसन्न अर्को लहरको तयारीका लागि महत्त्वपूर्ण मानिएको छ।अन्त्यमा फरकफरक प्रभावकारिता भए पनि खोपले मानिसहरूलाई गम्भीर प्रकारको रोग र अस्पताल जानुपर्ने अवस्थाबाट जोगाइरहेको वैज्ञानिकहरू बताउँछन्।

तर खोपको पूर्ण मात्रा लगाएकालाई पनि सङ्क्रमण हुन सक्ने र उनीहरूले अरूलाई सार्न सक्ने भएकाले, सुरक्षा मापदण्डमा सम्झौता गरिनुहुँदैन। मास्क लगाउने, भिडभाड हुने सामाजिक कार्यक्रममा नजाने, कम वायु चल्ने वा वातानुकूलित कार्यक्षेत्रमा नबस्ने जस्ता मापदण्ड लामो समय पालना गरिनुपर्छ।

भारतको केरला राज्यले गरे जस्तै दुईवटा मास्क लगाउने व्यवस्थालाई बाध्यकारी पारिनुपर्छ। जनस्वास्थ्य सन्देश प्रष्ट शब्दमा सुनाइनुपर्छ: के पूर्ण रूपमा खोप लगाएका मानिसहरूले उदाहरणका लागि स्वतन्त्रतापूर्वक घरभित्र, परिवारमा वा कार्यक्षेत्रमा भेला हुन मिल्छ?बाग्ला भन्छन्, “खोपले काम गर्छ तर त्यसले तपाईँलाई जे मन लाग्यो त्यही गर्न र सावधानी नअपनाई आरामले बस्न छुट दिँदैन। तपाईँले एकदमै चनाखो हुनुपर्छ।”


Your Views
Related News