
अफगानिस्तान नियन्त्रणमा लिएको तालिबानले सबै सरकारी कर्मचारीहरूलाई आममाफी दिएको बताउँदै उनीहरूलाई ”पूर्ण विश्वासका साथ” काममा फर्कन आग्रह गरेको छ।
”सबैका लागि आम माफी घोषणा गरिएको छ … त्यसकारण तपाईँ पूर्ण रूपमा विश्वस्त भएर आफ्नो नियमित दिनचर्यामा फर्कनुपर्छ,” समाचार संस्था एएफपीले तालिबानको विज्ञप्तिलाई उद्धृत गरेको छ।
तालिबानको पछिल्लो घोषणा अफगानिस्तानमा छाएको त्रासकाबीच आएको छ।
सरकारी कर्मचारी, पश्चिमा राष्ट्रको संलग्नता रहेका संस्था र अमेरिकी सेनाका लागि दोभासेका रूपमा काम गरेकाहरू तालिबानले बदला लिन सक्ने सम्भावनाका कारण त्रसित छन्।
तालिबान उसले दिने क्रूर सजायका लागि परिचित छ। युद्ध अपराध गरेको आरोप लगाइएको भए पनि उसले त्यो आरोप अस्वीकार गर्दै आएको छ।

तस्बिर स्रोत, GETTY IMAGES
अफगानिस्तान मामिलामा ‘पर्ख र हेर‘को रणनीतिमा पाकिस्तान
पाकिस्तानको राजनीतिक तथा सैन्य नेतृत्वले अफगानिस्तान सम्बन्धी मामिलामा ‘पर्ख र हेर’ को रणनीति अङ्गालेको स्थानीय सञ्चार माध्यम ट्रिब्युनले प्रकाशन गरेको समाचारमा उल्लेख छ।
उक्त पत्रिकाले आधिकारिक स्रोतहरूलाई उद्धृत गरेको छ जसले काबुलमा नयाँ सरकारलाई मान्यता दिने विषयमा आफूहरूले हतार नगर्ने बताएका छन्।
उनीहरूले चीन, रुस र इरान जस्ता राष्ट्रहरूसँगै कसरी अघि बढ्ने भन्ने विषयमा पाकिस्तानले सहकार्य गर्ने बताए।
समाचार वेबसाइट डनले प्रधानमन्त्री इमरान खानले अध्यक्षता गरेको एउटा बैठकले अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनको अफगानिस्तानबाट फिर्तीलाई समर्थन गर्दै त्यसलाई ”द्वन्द्वको तार्किक अन्त्य” को संज्ञा दिएको जनाएको छ।
पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले ”समावेशी राजनीतिक समाधानको मध्यस्थता गर्नका लागि सबै अफगान सरोकारवालाहरूसँग सहकार्य गरिनैरहने” जनाएको छ।
सोमवार प्रधानमन्त्री खानले सांस्कृतिक साम्राज्यवादबारे भाषण गर्ने क्रममा बोल्दै अफगानहरूले ”दासत्वको बन्धन तोडेको” टिप्पणी गरेका थिए।
सन् १९९६मा अफगान तालिबान सरकारलाई मान्यता दिने तीन राष्ट्रमा एक पाकिस्तान पनि थियो।
धार्मिक आस्थामा आधारित पाकिस्तानका राजनीतिक दलहरू जमात-ए-इस्लामी र जेयूआइ-एफले अफगान तालिबानलाई उनीहरूको पछिल्लो ”सफलता”का लागि बधाई दिनुका साथै अफगानिस्तानमा उनीहरूको आन्दोलनका लागि पूर्ण समर्थन र सहयोग प्रदान गर्ने बताएका छन्।
अफगानिस्तानमा तालिबानको पुनः नियन्त्रण कायम भएको खुसीयाली मनाउन यी धार्मिक समूहका केही सदस्यले मिठाइ समेत बाँडेका थिए।

तस्बिर स्रोत, GETTY IMAGES
अस्तव्यस्त काबुल विमानस्थल पुन: खुला
सैन्य विमानहरूले काबुलस्थित विमानस्थलबाट त्यहाँ रहेका कूटनीतिज्ञ र सर्वसाधारणहरूलाई अन्यत्रै लान पुनः सुरु गरेका छन्। सोमवार उक्त विमानस्थल अस्तव्यस्त देखिएको थियो।
देश छोड्न व्यग्र दशौँ हजार अफगानहरू धावन मार्गसम्मै पुगेको र उडान भर्न लागेका विमान चढ्ने प्रयास गरेको तस्बिरहरू सार्वजनिक भएका थिए।
त्यो क्रममा पाँच जनाको मृत्यु भएको बताइएको छ। उनीहरूको मृत्यु गोली लागेर भएको हो वा भाग दौडमा च्यापिएर भन्ने कुरा भने स्पष्ट छैन।
अधिकारीहरूका अनुसार मंगलवार भने तुलनात्मक रूपमा अवस्था निकै शान्त छ।
”हिजो यहाँ आएका अधिकांश मानिसहरू घर फर्किएका छन्,” एक जना पश्चिमा राष्ट्रका सुरक्षा अधिकारीले समाचार संस्था रोयटर्सलाई भने।
तालिबानले नियन्त्रणमा लिएको तेस्रो दिन लडाकुहरूको व्यापक उपस्थिति रहे पनि राजधानी काबुलका सडकहरू शान्त देखिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।