
सरकारले चालु आर्थिक वर्षको पहिलो महिनामा नै झण्डै १ खर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याँक अनुसार सरकारले पहिलो महिनामा नै १ खर्ब बढी आम्दानी गरेको छ। तर खर्च भने कम नै छ।
भदौ २ गतेसम्ममा सरकारले कुल ९७ अर्ब १९ करोड ६ लाख रुपैयाँ राजस्व उठाएको छ यो भनेको कुल लक्ष्यको ८.४४ प्रतिशत हो। सरकारले चालु अर्थिक वर्षमा ११ खर्ब ५१ अर्ब ६० करोड ४ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबारसम्ममा सरकारले कर बापत ८० अर्ब १ करोड १७ लाख रुपैयाँ संकलन गरेको छ भने गैर कर बापत १७ अर्ब १६ करोड ८९ लाख रुपैयाँ संकलन गरेको छ।
अन्य आम्दानी समेत गरी सरकारले कुल १ खर्ब ९ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो भनेको कुल लक्ष्यको ९.०५ प्रतिशत हो।
गत वर्षको यसै अवधिमा सरकारले ६१ अर्ब ३७ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेकाे थियो। जुन लक्ष्यको ६ प्रतिशतको हाराहारी मात्रै थियो। तर चालु आर्थिक बर्षकाे सुरुवात देखि नै सरकारको राजस्व संकलनमा सुधार आएको देखिएको छ।
हालसम्मको तथ्याँक हेर्दा वर्षभरी नै यही अनुपातमा राजस्व संकलन भए समानुपातिक रुपमा लक्ष्य अनुसारको राजस्व सहजै उठ्ने देखिन्छ।
यस वर्ष पनि खर्च भने कमै छ। तर पनि गत आर्थिक वर्षहरुको तुलनामा यस वर्ष खर्चमा पनि निकै सुधार भएको छ।
सरकारले चालु आर्थिक वर्षको पहिलो महिनामा नै १.०४ प्रतिशत बजेट खर्च गरेको छ। जब की गत वर्षको यसै अवधिमा सरकारले ०.१४ प्रतिशत मात्रै बजेट खर्च गरेको थियो।
यस वर्ष सरकारकाे खर्च गर्ने प्रबृतिमा पनि केहि सुधार भएको देखिन्छ। आर्थिक वर्षको अन्त्यमा गएर मात्रै अत्याधिक बजेट खर्च गर्ने गरेको सरकारले यस वर्ष आर्थिक वर्षको सुरुवात देखिनै बजेट खर्च केहि बढाउन खोजेको देखिन्छ।
भदौ २ गतेसम्ममा सरकारले १७ अर्ब १७ करोड १७ लाख रुपैया बजेट खर्च गरेको छ। जसमा सबैभन्दा ठुलो हिस्सा चालु खर्चकाे छ भने वित्तीय खर्च पनि धेरै नै देखिन्छ।
यस अवधिमा सरकारले कुल ११ अर्ब २२ करोड रुपैयाँ चालु खर्च गरेकाे छ। यो लक्ष्यको १.१२ प्रतिशत हो। यस वर्ष सरकारले १० खर्ब ४ अर्ब ३५ करोड ८८ लाख रुपैया चालु खर्च गर्ने लक्ष्य लिएको छ।
यसैगरी समिक्षा अवधिमा ९५ करोड २३ लाख रुपैयाँ चालु खर्च भएकाे छ । यो भनेको लक्ष्यको ०.२२ प्रतिशत मात्रै हो। पूँजीगत खर्च भने कमै देखिन्छ। यस वर्ष सरकारले कुल ४ खर्ब ३५ अर्ब २४ कराेड ३ लाख रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य लिएको छ।
वित्तीय खर्चतर्फ भने सरकारले हालसम्ममा ४ अर्ब ९९ कराेड ९४ लाख रुपैया खर्च गरेको छ। यो भनेको लक्ष्यको २.४ प्रतिशत हो। यस वर्ष कुल २ खर्ब ७ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ वित्तीय खर्च गर्ने सरकारको लक्ष्य छ।