सन् २०१० को एक साँझ। महिना ठ्याक्कै याद छैन भ्वाइस अफ नेपाल तेस्रो संस्करणका विजेता किरण गजमेरलाई।

आफूले त्यो बेला लगाएको हाफ पाइन्ट सम्झिँदै भन्छन्, “गर्मीको समय थियो।” झापा, खुदुनाबारीस्थित भुटानी शरणार्थी शिविरका मानिसहरू टहराबाहिर शीतल हावा खाइरहेका थिए।

एक्कासि उनको घरतिरबाट कसैले कठिनसँग लामोलामो सास फेरिरहेको आवाज निरन्तर आयो।


गजमेर भन्छन्, “हामी पनि हतारिँदै र अत्तालिँदै कोठातिर गयौँ। हजुरआमालाई फेरि गाह्रो भएछ। उहाँ बेहोस हुनुन्थ्यो। शिविरभित्रकै स्वास्थ्य चौकी पुर्‍यायौँ।”

उमेरले भर्खरै ५७ पुगेकी हजुरआमा नरमाया मुटुको बिरामी थिइन्। उनमा दम र मधुमेहको समस्या पनि थियो। कहिलेकाहीँ रोगले च्याप्थ्यो र साबिकको औषधोपचारपछि ठिक पनि हुन्थ्यो।

त्यस दिन भने स्वास्थ्य चौकीमा उपचार सम्भव भएन। अस्पताल पुर्‍याउन सुझाव दिइयो। “झन्डै मध्यरात हुन लागेको थियो, न निजी सवारी साधन थियो न त ट्याक्सी नै। कसरी पुर्‍याउनु?”

गजमेरका बुवा र काकाहरूले एम्बुलेन्स बोलाउन पटकपटक फोन गरे। कुनै सम्पर्कमा आएन त कुनैले समय लाग्ने बताए।

“हामीले त कुरेका हौँ तर समयले कुरेन। हजुरआमा बित्नुभयो,” उनले भने।

 

Your Views
Related News