नुवाकोट :नुवाकोटको त्रिशूली अस्पताल सहित बागमती प्रदेश सरकार मातहतका मन्त्रालय र कार्यालयहरूले करीब २८ करोड रुपैयाँको सामाग्रि सिधै खरिद गरेको पाइएको छ ।

बागमती प्रदेश सरकार अन्तरगत रहेका मन्त्रालय देखि कार्यालयसम्मले २७ करोड १८ लाख रुपैयाँको विभिन्न सामग्री सोझै खरिद गरेको महालेखापरीक्षकको कार्यालयले तयार पारेको प्रतिवेदनमा भनिएको छ । प्रदेश सरकार मातहतका ७ वटा मन्त्रालय र २० वटा निकायले सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत विभिन्न सार्वजनिक निर्माण, वस्तु तथा सेवा खरिद गरेको भन्दै त्यसलाई कानून विपरित भनिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको नुवाकोटको त्रिशुली अस्पतालले प्रतिस्पर्धाको विधि अवलम्बन नगरी अस्पताल विकास समितिको नामबाट एक करोड १४ लाख ३८ हजार रुपैयाँको औषधि सिधै खरिद गरेर आर्थिक अनियमितता गरेको उल्लेख गरिएको छ । यो सगै त्रिशूली अस्पतालको फार्मेसीबाट ७२ लाख ५८ हजार रुपैयाँ र विभिन्न बजेटको उप शीर्षकबाट ४८ लाख ५० हजार रुपैयाँ समेत गरी कुल दुई करोड ३५ लाख ४६ हजार रुपैयाँको औषधि सोझै खरिद गरेर कानूनको उल्लंघन र आर्थिक अपारदर्शी गरेको प्रतिवेदनमा भनिएको छ ।

त्रिशूली अस्पतालले सार्वजनिक खरिद ऐन विपरीत दैनिक रूपमा तथा एकै दिनमा एकभन्दा बढी पटक हुने गरी सोझै खरिद गरेको देखिएकाले आर्थिक अनियमितताको पुष्टि हुने महालेखापरीक्षकको कार्यालयले तयार बनाएको प्रतिवेदनमा भनिएको छ ।प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहत ६ कार्यालयले ३ करोड २३ लाख ६३ हजार रुपैयाँको निर्माण कार्य र ५ कार्यालयले २ करोड ३६ लाख १८ हजार रुपैयाँको मालसामान समेत गरी ५ करोड ५९ लाख ८१ हजार रुपैयाँको दरभाउ पत्र लिइ सोझै खरिद गरेको पाइएको छ ।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि विकास निर्देशनालयले विभिन्न समयमा पटकपटक गरी ४१ लाख ६८ हजार रुपैयाँको मेशिनरी औजार, फर्निचर लगायत सार्वजनिक खरिद ऐन विपरीत सोझै खरिद गरेको छ ।

त्यस्तै, सोही मन्त्रालय मातहतको शीतोष्ण बागवानी केन्द्र, दामनले रिटेनिङ वाल, स्ल्याव ढलान, पानी ट्याङ्की निर्माण, सेड हाउस, नेट हाउस निर्माण लगायत कार्य गर्न ७ निर्माण व्यवसायीलाई जिम्मा दिएको छ । उक्त कार्यबापत केन्द्रले सार्वजनिक खरिद ऐन विपरीत ३१ लाख २३ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको नुवाकोटको त्रिशूली अस्पताल जस्तै, अर्को हेटौंडा अस्पतालले फार्मेसीबाट बोलपत्रको माध्यमबाट ८१ लाख ४० हजार रुपैयाँ र सोझै एवम् खुला दररेटबाट खरिद बापत १ करोड ५१ लाख ४ हजार रुपैयाँ र पुरानो बक्यौता बापतको ५१ लाख ६२ हजार रुपैयाँसमेत गरी २ करोड ८४ लाख ६ हजार रुपैयाँ भुक्तानी गरेको छ । कुल खरिदको धेरै हिस्सा प्रतिस्पर्धा नहुने गरी सोझै खरिद गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

 

Your Views
Related News