आमा कुकरको रूपमा अनि बुबा गोरुको। छोराबुहारीले बुबाआमालाई सदाका लागि विदाइ गरेपछि सोही घरमा पुनर्जन्म लिएका थिए उनीहरूले। श्राद्धको दिन थियो। छोरो श्राद्ध गर्नुअघि गोरु जोत्न गएको थियो। मला लगाएर खान पनि नदिइकन जोत्यो र घरमा श्राद्ध गर्नुपर्ने भएकाले ल्याएर भोकै दिनभर बाँध्यो।

आमा यता कुकुरको रूपमा जन्म लिएकी थिइन्। यता बुहारीले श्राद्धका लागि खीर तयार गरेकी थिइन्। त्यसमा सर्प आएर विष वमन गरेर गयो। त्यो कुकुररूपी आमाले देखेकी थिइन्। त्यो खीर खाए श्राद्धमा सहभागी सबै मान्छे मर्न सक्छन्, त्यसैले जुठो हाल्दिनुपर्छ भन्ने ठानेर आमारूपी कुकुरले जुठो हालिन्।

त्यत्रो मिहिनेत र खर्चले तयार पारेको अनि श्राद्धमा बाँढ्न तयार पारेको खीर फाल्नु पर्दाको पीडाले बुहारीले आमारूपी कुकुरलाई कुटिन्। घाइते भएर उनी बाहिर अलिपर बसिन्। अर्को खीर बनाएर श्राद्ध त गरियो। राति कुकुर र गोरुले कुरा गरे। दुवैले आज भोकै छु भनेर दु:खमनाऊ गरे। गोरुले आफूलाई मला नखोली दिनभर भोकै राखेर काम लगाएको गुनासो गर्‍यो।

‘तिमीले पूर्वजन्ममा रजस्वला अवस्थामै जथाभावी भाँडाकुँडा छोएका कारण यस्तो भएको रहेछ’, गोरुले कुकुरलाई भन्यो। यी सबै कुरा छोराले सुन्यो। संयोगले छोरो पशुको भाषा बुझ्ने रहेछन्। त्यो कुराले छोरालाई रातभर पीडा भयो। दु:खका साथ रात बिताए उनले। अब कसरी उद्धार गर्ने ? चिन्तनमनन गर्दै उनी वनतिर लागे।

सर्वतपा नामक ऋषिसँग भेट भयो। उनले दु:ख बिसाए। ऋषिले सात वर्षसम्म विधिपूर्वक ऋषिपञ्चमीको पूजा गर्ने सल्लाह दिए। त्यसपछि बुबाआमाको उद्धार हुनेछ भनेपछि छोराबुहारीले चोखोनितो भएर विधानअनुसार पूजा गरे।

सत्कर्मको प्रभावले गोरु बनेका बुबा र कुकुर बनेकी आमाको पनि उद्धार भयो। यदि त्यो सम्भव हुन्छ भने हामीले पनि विधिपूर्वक पूजा गरे ऋषिपञ्चमीले मोक्ष र सुखशान्ति प्रदान गर्नेछन् भनेर ‘भविष्य पुराण’मा उल्लेख छ।

सातऋषिको पूजा
ऋषिपञ्चमी एउटा यस्तो पर्व हो जुन भाद्र शुक्ल पञ्चमीमा महिलाले शरीर शुद्धि र सकारात्मक चिन्तनका लागि व्रत लिएर मनाउने गर्छन्। ऋषि तर्पणीमा पुरुषले जस्तै महिलाले पनि उक्त दिन बिहान स्नान गरेर सप्तऋषिको पूजा गर्छन्। ‘कष्यप, अत्रि, भरद्धाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ट ऋषिका साथ अरुन्धतीको पनि पूजा गरिन्छ।

यिनै ऋषिको ऋषितर्पणीमा पुरुषले र ऋषिपञ्चमीमा महिलाले पूजा गर्छन्’, वाल्मिकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराई भन्छन्, ‘पूजाअघि विधिपूर्वक ३६५ अपामार्ग (वनस्पति विशेष) ले दत्तिउन गर्छन्। अपामार्गका विशेषताहरू दाँतको मजबुती गर्ने, गर्भाशयको शुद्धि गर्ने आदि हुन्। यो गरेपछि गोबरमाटो आदि शरीरभर ३६५ पटक लगाएर स्नान गर्छन्।’

शिक्षा, स्वास्थ्य र शुद्धतासँग जोडिएको पर्व
नेपाल प्रज्ञा प्रतिष्ठानको सामाजिक शास्त्र विभागका प्रमुख प्रा. दिनेशराज पन्त ऋषिपञ्चमी पर्व शिक्षा, स्वास्थ्य र शुद्धतासँग जोडिएको तर्क गर्छन्। जनैपूर्णिमामा ऋषिहरूको पूजा गर्छौं जुन यसमा पनि हुन्छ। खासमा दत्तिउन गर्ने ३६५ दिन हो भनिएको छ तर त्यसो हुन सकेको छैन।

ऋषिपञ्चमीकै दिन सही अनि महिलाले सही, दत्तिउनले दाँत माझ्ने चलन आजसम्म चलिआएको छ। शौच गर्ने र शुद्ध हुनेमा पनि जोडिएको देखिन्छ यो पर्व। ‘अरुन्धती स्त्री भएर पनि सप्तऋषिसँग जोडिएर सम्मान पाइन्, उनको पनि पूजा हुन्छ यस दिन।

प्राचीनकालमा पनि स्त्रीलाई पनि सम्मान गरिन्थ्यो भन्ने बलियो प्रमाण हो यो’, प्रा. पन्त थप्छन्, ‘शिवपार्वतीको पूजा हरितालिका अर्थात् तीजका दिन पूजाआजा गरिन्छ। हिजो गणेश चौथीमा शिवपार्वतीको छोरा गणेशको पूजाआजा हुन्छ। यसले महिलालाई शारीरिक शुद्धता हुन प्रेरित गर्छ।’ पर सरेको नबार्ने चलन बढेको सन्दर्भमा यसको महत्व बुझाउन यो चाड अनिवार्य देखिएको उनको तर्क छ। ऋषिलाई सम्मान गर्ने परम्पराको विकास गर्नु पनि यो चाडको उद्देश्य हो।

यसरी गरिन्छ ऋषिपञ्चमी पूजा
स्नान गरेपछि शुद्ध कपडा लगाएर दियो कलश गणेशको पूजा गरी अरुन्धतीसहित कश्यपादि सप्तऋषिको षोडस उपचारले मन्त्रसहित पूजा गर्ने प्रचलन रहेको डा. भट्टराईको भनाइ छ। उनका अनुसार, यसै क्रममा गोडा नउठाइकन व्रतालु महिलाले सातपटक परिक्रमा गर्छन्। आरती पुष्पाञ्जली र पूर्णपात्रो गरेर सप्तऋषिको विसर्जन गर्छन्। यसपछि हलोले नजोतेको सामा आदिको फलार गरी ऋषिको ध्यान गर्दै दिन बिताउँछन्। ‘यसमा रजस्वला भई शुद्ध भएका कन्या वा नारीले विशेष पूजा गर्छन् भने सम्पूर्ण महिलाले ऋषिहरूको पूजा गर्छन्।’, उनी भन्छन्।

पञ्चर्मीको सांस्कृतिक सन्देश
ऋषिपञ्चमीको कथा अनुसार रजस्वला अवस्थामा विभिन्न नकारात्मक उर्जाहरू हटाउन र सकारात्मक भावको विकास गर्नका लागि सप्तऋषिको पूजा गरिन्छ। सनातन् धर्मसंस्कृतिको सन्देशलाई निरन्तरता दिन पनि यी ऋषिको पूजा गरिन्छ।

यस्तै हाम्रो शरीरमा रहेका षडचक्रहरूको चिन्तन–मनन र आफूलाई परमात्मासँग जोड्न पवित्रता आवश्यक पर्छ। त्यसैले जनविश्वास अनुसार सप्तऋषिबाट यस संसारमा आवश्यक पर्ने भौतिक ज्ञान र अर्को जन्ममा ईश्वरसँग मिल्नका लागि पनि ऋषिपञ्चमीले दिने विशेष संस्कृतिको सन्देश हो।

शास्त्रमा ध्यान भंग नहुनका लागि सप्तऋषिबाट पवित्रता, एकाग्रता जस्ता अनगिन्ति भावहरू आफूमा आधान गर्न ऋषिपञ्चमीले सन्देश दिन्छ। रतिरागात्मक नाचगान, संगीतले कामदोष, प्रीतिदोष बढाउने हुँदा यसबाट बच्न पनि ऋषिपञ्चमीले हामीलाई प्रेरणा दिइरहेको हुने संस्कृतिविद्को तर्क छ। यस प्रकारका सकारात्मक सन्देश नै ऋषिपञ्चमीको संस्कृतिपरक सन्देश हो।

विगत र वर्तमान
वर्तमानको तीज, दसैं, तिहार आदि पर्व भड्किला र मनोरञ्जन प्रदान बन्दै गएका छन्। तर जुनसुकै पर्वले पनि चारवटा कुरालाई वहन गर्नुपर्छ। धर्म, संस्कार, संस्कृति र सांस्कृतिक कार्यक्रम।

‘धर्म अर्थात् शास्त्रीय विधानअनुसार पूजा हो। संस्कार आफन्तजनसँग बसेर पूजा आदि गर्नु र संस्कृतिले हरेक पर्वभित्र रहेका सकारात्मक भाव, नकारात्मक प्रभाव आदिबारेमा चिन्तन गर्नु हो’, भट्टराई भन्छन्। सांस्कृतिक कार्यक्रममा त्यस पर्वमा पूजा गरिने प्रधान देवताको गुणगान गर्दै नाचगान भजनकीर्तन गर्नु रहेको उनी बताउँछन्। यी चारवटै पक्षले पर्वको अनुशासन निर्वाह गर्नुपर्ने हुन्छ।

यसैको सेरोफेरोमा रहेर पर्वहरू मनाइए पनि धर्म संस्कारमा खासै विचलन नआए पनि संस्कृति र सांस्कृतिक पक्षमा भने अत्यन्तै धेरै परिवर्तन देखिएको छ। तडकभडक, नकारात्मक चिन्तन आदिले समाजलाई नै विखण्डनतिर र पर्वका सकारात्मक पक्षभन्दा नकारात्मक पक्षतिर प्रेरित गरिरहेको देखिएको भन्दै संस्कृतिविद्हरूले चिन्ता व्यक्त गरेका छन्। ऋषिपञ्चमी यसको ज्वलन्त उदाहरण हो। रजस्वला प्रकृतिले दिएको कुरा हो बार्नै पदैन भन्ने छन्। गीत र दरमा पनि तडकभडक देखिएको छ।

 

Your Views
Related News