
एप्पलले आफ्नो नयाँ संस्करणका आइफोन १३ सिरिज सार्वजनिक गरेको छ । क्यालिफोर्निया स्ट्रिमिङ नामक उक्त अनलाइन समारोहमा एप्पलले आइफोन १३ सिरिज ल्याएको हो ।
यस सिरिज अन्तरगत आइफोन १३, आइफोन १३ प्रो र आइफोन १३ म्याक्स र सानो आकारको आइफोन १३ मिनी गरी ४ वटा मोडेल रहेको कम्पनीले जनाएको छ ।
आइफोन १३ को हकमा एप्पलले आइफोन १२ को डिजाइनमा कुनै परिवर्तन गरेको छैन त्यसैले यो आइफोन १२ जस्तै देखिनेछ । फोनमा १२ मेगापिक्सेलको क्यामरा रहेको छ ।
आइफोन १२ को तुलनामा आइफोन मिनीमा साढे २ घण्टा बढी ब्याट्री ब्याकअप हुने एप्पलको दाबी छ । आइफोन १३ मिनीको सुरुआती मूल्य ६९९ डलर तोकिएको छ भने आइफोन १३ को सुरुआती मूल्य ७९९ डलर तोकिएको छ ।
आइफोन १३ मा ६.१ इन्चको डिस्प्ले हुनेछ भने मिनी मोडेलमा ५.४ इन्चको डिस्प्ले रहनेछ ।
आइफोन १३ मा वाटर प्रुफ, फेस आइडी, सुपर रेटिना एक्सडिआर ओएलइडी डिस्प्ले, शक्तिशाली तथा उत्कृष्ट डुअल रियर क्यामरा , १३ मेगापिक्सेलको वाइड तथा १२ मेगापिक्सेलको अल्ट्रावाइड सेन्सर, सिक्स कोर सिपियु, ४ कोर जीपीयू जस्ता फिचर छन ।
यो फोन पिंक, ब्लू, रेड, मिडनाइट, स्टारलाइट गरी ५ वटा रङमा उपलब्ध रहेको छछ । । आइफोन १३ सिरिजमा न्यूनतम १२८ जिबीदेखि अधिकतम ५१२ जिबी स्टोरेज विकल्प हुनेछ ।
एप्पलको आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्समा ट्रिपल रियर क्यामरा रहेका छन । क्यामरासँगै थ्री एक्स अप्टिकल जूम फिचर हुनेछ ।
आइफोन १३ प्रो को डिस्प्ले रिफ्रेस रेट १२० हर्ज छ । यसमा सुपर रेटिना एक्सडिआर डिस्प्ले रहेको छ । ६.१ इन्चको स्क्रिन साइजमा उपलब्ध हुने आइफोन १३ प्रो को सुरुआती मूल्य ९९९ डलर तोकिएको छ ।
६.७ इन्च स्क्रिन साइजमा उपलब्ध हुने आइफोन १३ प्रो म्याक्समा १ टेराबाइट स्टोरेज अप्सन पनि उपलब्ध छ । आइफोन १३ प्रो म्याक्सलगायत सबै नयाँ आइफोनका क्यामरामा नाइट मोड हुनेछ जसले रातको समयमा उत्कृष्ट तस्वीर तथा भिडियो खिच्न सहयोग पुग्नेछ ।
१३ प्रो म्याक्सको मूल्य १०९९ डलर तोकिएको छ । नयाँ आइफोनको प्रिअर्डर सेप्टेम्बर १७ देखि सुरु हुने बताइएको छ ।