
पोखरा : कास्कीको पर्यटकीय गाउँ घान्द्रुक गइरहेको जीप मोदी खोलामा खसेर दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाएका छन्। उनीहरु सबैजसो काठमाडौंका रहेको पुष्टि भएको छ। उनीहरु सबै दसैं बिदामा घान्द्रुक घुम्न जाँदै थिए।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र प्रहरी प्रमुख एसपी रमेश थापा घटनास्थल पुगेर मृतकहरुको पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाएका छन्। दुर्घटनामा घाइते २० वर्षीया देविका घिसिङलाई उपचारका लागि पोखरा पठाइएको छ। उनी भीरमा अड्किएर बाँचेकी हुन्। उनको नाक र बायाँ हातमा चोट छ। उनी काठमाडौं ३ गोंगबुकी बासिन्दा हुन्।
काठमाडौंबाट बसमा गएका उनीहरु पोखरा बागलुङ राजमार्गको नयाँपुलबाट ग १ ज ६९०० नम्बरको बोलेरो जीप रिजर्भ गरी घान्द्रुक हिँडेका थिए। जीप घान्द्रुक नपुग्दै हुदु भन्ने ठाउँको भीरबाट डेढ सय मिटर तल मोदीखोलामा खसेको प्रत्यक्षदर्शी स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।
दुर्घटनामा ज्यान गुमाउने चालक ४२ वर्षीय खुसीमा क्षेत्री र एकजनाबाहेक सबै ७ जना २५ वर्षभन्दा साना छन्।
दुर्घटनामा मृत्यु हुनेमा जीप चालक कास्की अन्नपूर्ण गापा ५ नयाँपुल बस्ने ४२ वर्षीय खुशीमान क्षेत्री, काठमाडौं ३ गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीया सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशीष आले, २७ वर्षीय विनय क्षेत्री रहेका छन्।