
काठमाडौँ : कांग्रेस नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेस एक्लैले प्रचण्ड बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने बताएका छन् । उनले अबका चुनावमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने बताए ।
‘कांग्रेस एक्लै चुनाव लड्छ, सानदार ढंगले लड्छ । र, प्रचण्ड बहुमत ल्याएर चुनाव जित्छ । पाँच वर्षसम्म कांग्रेसले एकलौटी सरकार चलाउँछ । त्यतिञ्जेलमा कांग्रेसले यत्रो समयदेखि थुप्रिएर रहेका समस्याहरुको समाधान गर्नुपर्नेछ,’ भक्तपुरको गुण्डुमा बुधबार कांग्रेसको सभालाई सम्बोधन गर्दै नेता थापाले भने, ‘अब हामीसँग धेरै समय छैन ।’
उनले कांग्रेसको कसैसँग मिलेर चुनाव लड्ने ‘क्यारेक्टर’ नै नभएको दाबी गरे । ‘हामीले कसैसँग मिलेर चुनाव लड्छौँ भन्दैमा हाम्रो कार्यकर्ताले अर्को पार्टीलाई गएर भोट हाल्दैनन् । मेरो निर्वाचन क्षेत्रमा मैले २५ हजार मत पाएँ । मैले मेरो पार्टीका क्रियाशील सदस्यलाई दुई गुणा गर्दा, मेरो सम्पर्कमा भएका समेतगरी १० हजार मान्छे चिनौँला, बाँकी रहेको १५ हजार भोट कसले हाल्यो ? मलाई नै थाहा छैन,’ उनले प्रश्न गर्दै भने, ‘अनि मैले मेरो निर्वाचन क्षेत्र हो भनेर अर्कोसँग तालमेल गर्दैमा त्यो भोट त्यता जाने हो र ?’
नेता थापाले आगामी निर्वाचनमा नेकपा एमालेलाई कुचो लगाएर बढार्ने बताए । ‘हाम्रो पार्टीका सबै नेता, कार्यकर्ताले संकल्प गर्नुपर्नेछ, यो पटकको सबै चुनावमा नेकपा एमालेलाई बढार्ने हो । कुचो लगाएर बढार्ने हो । बढार्दा खेरि कहीँ कतै कुना–काप्चामा बाँकी रहेछ भने त्यसलाई भ्याकुम लगाएर बढार्ने हो,’ थापाले भने । उनले एमाले अध्यक्ष केपी ओलीले सिंगल–सिंगल भिड्ने भनिरहेको भन्दै एमालेलाई सिंगल भिडेर देखाउन चुनौती दिए । ‘उहाँले ‘सिंगल–सिंगल आइज’ भनिरहनुभएको छ । खासमा सिंगल भिड्न नसक्ने उहाँहरु नै हो । सिंगल–सिंगल भिडेर एमाले सरकारमा आएको इतिहास नै छैन । सिंगल भिड्दा उहाँहरु सधैँ तेस्रो हो,’ उनले भने, ‘हामी त सधैँ सिंगल–सिंगल भिडिरहेका छौँ ।’
उनले महाधिवेशनका नाउँमा पार्टीमा नेता कार्यकर्ताका बीचमा एकापसको सम्बन्धमा तिक्तता नबढाउन आग्रह गरे । ‘मंसिरमा महाधिवेशन सकिन्छ, पुसदेखि झोला बोकेर चुनावमा होमिने हो । अधिवेशनको नाउँमा पार्टीभित्र तिक्तता नबढाऔँ । महाधिवेशन लगत्तै चुनावमा जानुपर्ने छ । त्यसलाई ध्यानमा राखेर महाधिवेशन होमिनुस् । अब तोकिएकै मितिमा महाधिवेशन हुन्छ,’ थापाले भने ।
नेता थापाले ओलीले आफ्नो साढे ३ वर्षे कार्यकाल सम्झिँदा लज्जाबोध भएर शीर निहुराएर हिड्नुपर्ने अवस्था रहेको बताए । ‘उहाँको कार्यकालका काम हेर्दा उहाँले लज्जाबोध भएर शीर निहुराएर हिँड्नुपर्ने हो । उहाँ त गाउँ–गाउँ डुल्नुभएको छ । कुरा सुन्छु, उहाँको फुर्ती देख्छु । आफ्नै कारणले ७ वटा प्रदेशमध्ये पाँच वटा सरकार ढलेका छन् । तैपनि फुर्ती घटेको छैन,’ थापाले भने, ‘जनताले झण्डै दुईतिहाई सहित ५ वर्षका लागि चुनेर पठाएका हुन् । अनि आफ्नै सरकार बचाउन नसक्नेले तिम्रो सरकार ढाल्दिन्छु भन्नुको के अर्थ ?’
नेता थापाले ओलीलाई नेपाली जनताले सजाय दिने विश्वास व्यक्त गरे । ‘कोभिडका कारणले ११ हजार मान्छेले ज्यान गुमाएका छन् । तीमध्ये ६ हजार मान्छेलाई बचाउन नसकिन सक्थ्यो । तर, पाँच हजार मान्छेले तत्कालीन सरकारको लापर्वाहीले गर्दा जीवन गुमाउन बाध्य भएका हुन् । तिनको हत्या भएको हो,’ उनले भने, ‘ती पाँच हजार मान्छे पूर्वप्रधानमन्त्री ओलीको चरम लापर्वाही, विज्ञानमा विश्वास नगर्ने, प्रमाणमा विश्वास नगर्ने कारणले ज्यान गुमाउन बाध्य भएका हुन् । यसको दोष उहाँलाई लाग्छ ।’
थापाले विगतको नेकपा एमाले अब ओली प्राइभेट लिमिटेडमा परिणत भएको बताए । ‘उहाँहरुले नाम नेकपा एमाले भने पनि त्यहाँ फरक मत राख्ने मान्छेसम्म पनि छैनन् । दुई जना देख्छु, भीम रावल र घनश्याम भूसाल । उहाँहरुलाई फेरि कहिले पार्टीबाट निकालिदिने हो ? थाहा छैन,’ थापाले भने, ‘अब एमाले, एमाले रहेन । त्यो त ओली प्राइभेट लिमिटेड हो । ओली प्राइभेट लिमिटेडले दण्ड पाउनुपर्छ । आज देशको जुन हालत छ, यसको दोषी को हो ? जनता विवेकी छन्, सजाय दिन्छन् ।’