
कोरोनाविरुद्धको फाइजर खोप आइतबारदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाइने भएको छ । कार्तिक २८ देखि मंसिर ४ गतेसम्म दीर्घरोगीलाई यो खोपको पहिलो मात्रा लगाइने छ । यो खोप पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा दिइने छ । दोस्रो मात्रा मंसिर २७ देखि पौष २ गतेसम्म लगाइने छ ।
कोभ्याक्स सुविधामार्फत आएको फाइजर खोप करिब ५० हजार दीर्घ रोगीले पाउने स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिए । दाहालका अनुसार फाइजर खोप बचत भएमा खोप लगाउन बाँकी रहेका दीर्घरोगीलाई प्राथमिकतामा राखी मंसिर ५ देखि ७ गतेसम्म १२–१७ वर्ष उमेर समूहका नागरिकलाई उपलब्ध गराउने सरकारको योजना छ । नेपालले कोभ्याक्स सुविधामार्फत सहयोग स्वरुप कार्तिक ९ गते फाइजर बायोएनटेक एक लाख ६२० मात्रा प्राप्त गरेको हो ।