आन्तरिक विवाद र पार्टी विभाजनपछि केन्द्रसहित पाँचवटा प्रदेशमा आफ्नो नेतृत्वको सरकार गुमाएको प्रमुख प्रतिपक्ष नेकपा एमालेको शुक्रवारबाट सुरु हुने महाधिवेशनमा गुटबन्दी अन्त्यका लागि प्यानल नबनाई उम्मेदवारी दिने नेताहरूले दाबी गरेका छन्।
नेतृत्वमा दोहोरिने तयारी गरिरहेका अध्यक्ष केपी ओलीलाई महाधिवेशनमा उपाध्यक्ष भीम रावलले चुनौती दिने बताएका छन्। उपमहासचिव घनश्याम भुसालले पनि अध्यक्षमा उम्मेदवारी दिने बताएका छन्। तर उनी आफ्नो तयारीबारे खुलिसकेका छैनन्।
सार्वजनिक घोषणा नगरे पनि अध्यक्षमा दोहोरिने तयारी गरिरहेका ओली र उनीसँग प्रतिस्पर्धाको तयारी गरिरहेका नेताहरूको दुवै समूहले प्यानल नबनाई प्रतिस्पर्धा गर्ने बताएका छन्।
ओलीअघि लामो समय एमालेको नेतृत्व गरेका माधव नेपाल र झलनाथ खनालको नेतृत्वमा एमाले विभाजन भएपछि हुन लागेको महाधिवेशनमा गुटबन्दी अन्त्यको सन्देश दिन प्यानल नबनाउने नेताहरूको दाबी छ।
पार्टीको दशौँ महाधिवेशनका लागि अधिकांश प्रतिनिधिहरू सर्वसम्मत चयन भएर आएको र यसको सन्देश एमालेमा गुटरहित नेतृत्व चयन हुनुपर्ने रहेको एमाले नेता विष्णु रिजालको दाबी छ।
“हामीले जसरी विगतमा जसरी प्यानल बनाएर नामलिस्ट बनाएर यो उम्मेदवार यो टीमको हो भनेर अभ्यास गर्यौँ,” नेता रिजालले भने। “त्यसले सम्पूर्ण रूपमा पार्टी पङ्क्ति विभाजित भयो। यस चोटि चाहिँ त्यस्तो हुँदैन।”
अध्यक्षमा उम्मेदवारी दिने बताएका उपाध्यक्ष भीम रावल निकटका नेता झपट रावल पनि नेता रावलले समूह नबनाईकन उम्मेदवारी दिने दाबी गर्छन्।
“अहिलेसम्म टीम हुन्न भन्ने छ। उहाँ (भीम रावल)ले एक्लै लड्छु भन्नुभएको छ। त्यसपछि व्यक्ति व्यक्तिले उम्मेदवारी दिने भन्ने कुरा छ,” नेता रावलले भने।
प्यानल प्रतिस्पर्धा नहुँदा गुटबन्दी कम भए पनि निर्मूल नहुने नेता रिजालको बुझाइ छ।
कसरी सुरु भयो प्यानल प्रतिस्पर्धा
नेकपा एमालेमा गुटगत राजनीति पञ्चायत कालबाटै कायम छ। एमालेमा कहिले अल्पमत र बहुमत समूह र कहिले नौलो जनवाद र जनताको बहुदलीय जनवाद समूहहरू सक्रिय थिए। विसं २०५२ मा भएको महाकाली सन्धिको पक्ष र विपक्षमा सुरु भएको मतभेद पार्टी विभाजनसम्म पुगेको थियो।
तर एमालेबाट विभाजित भएर नेकपा माले गठन गरेका धेरैजसो नेताहरू २०५६ सालको संसदीय निर्वाचनपछि पुनः एमालेमै फर्किए।
मालेबाट फर्किएका नेताहरू पनि सहभागी भएर २०५९ सालमा जनकपुरमा आयोजित सातौँ महाधिवेशनबाट माधवकुमार नेपाल सर्वसम्मत महासचिवमा निर्वाचित भएका थिए। तर ओली निकटका नेताहरूले नेपाललाई चुनौती दिइरहे।
सातौँ महाधिवेशनसम्म एमालेमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले नेतृत्व चयन गर्ने व्यवस्था थियो।
बुटवलमा भएको आठौँ महाधिवेशनबाट बहुपदीय प्रणालीमा गएको एमालेले नेतृत्व चयनका अधिकांश पदका लागि निर्वाचन गर्नुपर्यो।
बुटवल महाधिवेशनमा केन्द्रीय नेतृत्व चयनमा मात्रै सीमित भएको समूहगत उम्मेदवारी काठमाण्डूमा भएको नवौँ महाधिवेशनसम्म आइपुग्दा जिल्ला स्तरसम्म पुगेको एमाले नेताहरूको बुझाइ छ।
प्यानल बनाएर महाधिवेशनमा प्रतिस्पर्धा गर्दा त्यसको असर पार्टीको तल्लो तहसम्म देखिएको नेता रिजाल बताउँछन्।
“त्यसअघि आधारभूत तहसम्म गुटबन्दी संस्थागत भएको थिएन। पछिल्लो समयमा देख्नेबित्तिकै हाम्रो समूहको भन्ने बन्यो एक पार्टी भए पनि दुई पार्टीको अभ्यास भयो। मेरो कतिपय साथीहरूसँग यो पाँच-छ वर्षमा भेटघाट नै भएन,” उनले भने।

आकाङ्क्षी व्यवस्थापनको चुनौती
एमालेको प्रस्तावित विधानअनुसार आगामी महाधिवेशनबाट केन्द्रीय पदाधिकारीमा १५ वटा पद रहनेछन्। आकाङ्क्षी व्यवस्थापनका लागि पार्टीमा एकजना वरिष्ठ उपाध्यक्षको पद थप गरिएको छ।
प्यानलबिना प्रतिस्पर्धा हुँदा एमाले अध्यक्ष ओलीलाई आफूनिकट नेताहरू र माधव नेपाल समूह छोडेर एमालेमै रहेका नेताहरूलाई मिलाएर आकाङ्क्षी व्यवस्थापन गर्न चुनौतीपूर्ण हुने नेताहरूको बुझाइ छ।
पार्टी विधानले एकै व्यक्तिलाई दुई कार्यकालभन्दा बढी रहन बन्देज गरेपछि वर्तमान महासचिव ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्षको तयारी गरिरहेको उनी निकटका नेताहरूले बताएका छन्। अर्का नेता सुवास नेम्वाङले पनि त्यही पदमा दाबी गरेका छन्। पोखरेल र नेम्वाङ दुवै ओली निकटस्थ नेता हुन्।
महासचिवमा दाबी गरिरहेका विष्णु पौडेल र शङ्कर पोखरेल पनि दुवै जना ओलीसँग निकट छन्। पार्टी पदाधिकारी सर्वसम्मत चयनको प्रयास गरिरहेका ओलीलाई आफूनिकटस्थ नेताहरूको आकाङ्क्षा व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ।
“पञ्चायतकलाको गाउँ पञ्च शैलीमा सहमति गरेर महाधिवेशन प्रतिनिधिहरू आएका छन्। हामी नेतृत्वमा चाहिँ त्यही शैली हुन दिँदैनौँ,” ओलीसँग असन्तुष्ट समूहका नेता झपट रावलले भने।

लामो समय एमालेको नेतृत्व गरेका नेताहरूसँगै एमाले अध्यक्ष ओलीसँग असन्तुष्ट धेरै नेता कार्यकर्ताहरू पार्टीबाट अलग भए पनि एमाले अध्यक्ष ओलीसँग फरक मत राख्ने नेताहरू अझै पनि एमालेमा छन्।
एमाले अध्यक्ष ओलीसँग फरक मत राख्दै आएका नेताहरू पनि अहिले एउटै समूहमा नभएर “छासमिस” भएको असन्तुष्ट मध्येका एक नेता योगेश भट्टराईले बताए।
“अहिले एमालेमा कुनै समूह नै बाँकी छैनन्। सबै छासमिस भइसके। महाधिवेशनमा प्यानलबिनै उम्मेदवारी घोषणा भयो भने त्यो क्रान्तिकारी काम हुन्छ। वास्तवमा पार्टीमा हुनुपर्ने पनि त्यही हो, अरू पार्टीसँग पो प्यानल त। पार्टीमा त व्यक्तिगत प्रतिस्पर्धा हुनु राम्रो हो,” भट्टराईले भने।