काठमाडौं : जल तथा मौसम विज्ञान विभागले भारी हिमपातको सम्भावना रहेको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले बिहीबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली, अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभावले वर्षा र भारी हिमपात हुने जनाएको छ।

महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू-भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको र उच्च पहाडी, हिमाली भू-भागमा भारी हिमपातको सम्भावना रहेको छ। राती सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागमा मध्यम वर्षा, उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

महाशाखाका अनुसार शुक्रबार कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र देशको उच्च पहाडी र हिमाली भू-भागको केही स्थानहरूमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ।
शनिबार प्रदेश १ मा सामान्यदेखि पूर्णतया बदली रही देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

जारी बुलेटिनमा भनिएको छ,‘पहाडी भू-भागमा मध्यम वर्षा र देशका उच्च पहाडी, हिमाली भू-भागका धेरै स्थानहरूमा भारी हिमपात सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ।’

 

Your Views
Related News