
विराटनगर : नेपाली कांग्रेसको राजनीतिमा कोइराला परिवारले प्रभाव रहेको छ। प्रदेश नं. १ को आधारमा कांग्रेस नेता डा. शेखर कोइराला पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सभापतिका आकांक्षा देखाइरहेका थिए। तर भर्खरै सम्पन्न जिल्ला र प्रदेश अधिवेशनले कोइराला पक्ष कमजोर रहेको देखायो। कोइराला परिवारको किल्ला मानिएको प्रदेश १ मा कांग्रेसको संस्थापन एवं पार्टी सभापति शेरबहादुर देउवा पक्षको दबदबा देखिएको छ। पार्टीको पहिलो प्रदेश अधिवेशन र यसअघि सकिएका जिल्ला अधिवेशनले त्यसको पुष्टि गरेको हो।
१४ औँ महाधिवेशनमा पार्टीको केन्द्रीय सभापति उठ्ने तयारी डा. कोइरालाले गरिरहेका बेला उनकै गृह प्रदेशमा भने संस्थापन पक्ष बलियो बनेको छ। प्रदेश १ को अधिवेशनमा सभापतिसहित अधिकांश पदाधिकारीमा संस्थापन पक्षले बाजी मार्यो। डा. कोइरालासमेतको समर्थन पाएपछि सभापतिमा उम्मेदवारी दिएका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट गुरुराज घिमिरे संस्थापन पक्षीय उम्मेदवारसँग पराजित बने।
घिमिरेको पराजयले सभापतिमा उठ्ने तयारी गरेका कोइरालालाई धक्का लाग्ने देखिएको छ। प्रदेश १ को अधिवेशनको आइतबार राति प्राप्त अन्तिम मतपरिणामअनुसार संस्थापन समूहका उद्धव थापा २ मतअन्तरले सभापतिमा विजयी बनेका छन्। थापाले ८ सय ४४ मत पाएर विजयी भइरहँदा उनका प्रतिस्पर्धी घिमिरेले ८ सय ४२ मत ल्याए। कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको साथ पाएर सभापतिको उम्मेदवार बनेका थापालाई पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाको पनि समर्थन थियो।
अधिवेशनबाट निर्वाचित भएका ८ पदाधिकारीमध्ये ३ जना मात्रै सांस्थपनइतरका छन्। सभापतिसहित ५ पदाधिकारी संस्थापन पक्षले जितेको छ। पार्टीको प्रदेश महामन्त्रीमा विजयी भएका उमेश थापा र सह–महामन्त्रीमा निर्वाचित खड्गबहादुर फागो तथा विनोद बस्नेत इतर समूहका हुन्।
डा. कोइरालामाथि संस्थापन र संस्थापनइतर पक्षकै नेताले घेराबन्दी गर्दा पनि पार्टीको मोरङ जिल्ला सभापतिमा उनकै समर्थन रहेका डिगबहादुर लिम्बू सानदार मतसहित विजयी भएका थिए। प्रदेश अधिवेशनमा पनि संस्थापन पक्षका उम्मेदवार कमजोर भएका कारण घिमिरेले जित्ने कोइराला पक्षको दाबी थियो। केन्द्रीय राजनीतिमा प्रभाव जमाए पनि प्रदेश झरेका स्पष्टवक्ता घिमिरेलाई जिताउनका लागि झापाबाट भने सहयोग भएको बताइन्छ।
कांग्रेसका नेताको भनाई अनुसार डा. कोइरालाको गृह जिल्ला मोरङ र सुनसरीले असहयोग गरेकै कारण उनको समर्थन रहेका उम्मेदवार घिमिरे सभापतिमा पराजित भएका हुन्। कांग्रेसका नेता केदार कार्की लगायत घिमिरेलाई सभापति उठाउन हुँदैन भन्ने पक्षमा थिए। घिमिरेको विपक्षमा रहेका कार्कीसहितका नेताहरु कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालालाई टिकट दिनुपर्छ भन्ने पक्षमा थिए।
तर अन्तिम समयमा घिमिरेले टिकट पाए। घिमिरेले टिकट पाएपछि असन्तुष्ट बनेका इतर समूहका नेताले चुनावी अभियानमा सहयोग नगरेको बताइन्छ। केदार कार्की र राजीव कोइराला लगायतकै असहयोगका कारण इतर समूहको राम्रो प्रभाव हुँदाहुँदै पनि घिमिरेले पराजय बेहोर्नु परेको कांग्रेसका नेताहरु बताउँछन्।
निष्ठाको राजनीति गरिरहेका विवादरहित नेता राजीवलाई पार्टी प्रदेश सभापतिको टिकट दिनुपर्छ भन्ने जमात कांग्रेसभित्र ठूलो थियो। तर उनलाई ‘ब्याक’ गरेर घिमिरेलाई टिकट दिलाउन डा. कोइराला लगायत इतर समूहका केन्द्रीय नेताको भूमिका रहेको एक नेताले बताए। कोइरालाले टिकट नपाएपछि उनकै रोजाइमा सुनसरीका उमेश थापालाई महामन्त्रीको टिकट दिइयो। निर्वाचनमा थापा विजयी पनि भए। प्रदेश निर्वाचनमा केदार कार्कीले विनोदकुमार बस्नेतलाई समर्थन गरेका थिए। बस्नेत महेश आचार्यनिकट हुन्। उनी पनि सहमहामन्त्रीमा विजयी भएका छन्। प्रदेश अधिवेशनको उम्मेदवारीलाई लिएर असन्तुष्ट बनेका इतर समूहका नेतासँग निकट रहेकाहरु मात्तै विजयी भएपछि शंका गर्ने ठाउँ धेरै रहेको बताइन्छ।
स्रोतका अनुसार प्रदेशका १४ जिल्लामा संस्थापन पक्षभन्दा संस्थापनइतर पक्षसँग एक सयभन्दा मत बढी थियो। त्यसमा झापाबाट विश्वप्रकाश शर्माको टिमले इतर समूहलाई नै समर्थन गरेको थियो। तर मोरङ र सुनसरीमा कोइराला पक्षको भोट काटिएपछि प्रदेशको नेतृत्व गर्नबाट घिमिरे बञ्चित भएको चर्चा छ।
१४ औं महाधिवेशनअन्तर्गत भएका जिल्ला अधिवेशनमा सिटौलासहितको संस्थापन पक्षले आठबाट जिल्लामा विजय हासिल गरेको थियो। १४ जिल्लामध्ये प्रदेश १ का धनकुटा, सोलुखुम्बु, ताप्लेजुङ, इलाम, पाँचथर, ओखलढुंगा, उदयपुर र झापामा संस्थापन पक्ष विजयी बनेको हो। झापामा भने सिटौला समूहका उम्मेदवार विजयी बने। इतर समूहले मोरङ, सुनसरी, संखुवासभा, तेह्रथुम, खोटाङ र भोजपुरमा सभापति जितेको छ।
कोइराला पक्षको प्रभाव रहेकै कारण १३ औँ महाधिवेशनमा देउवा समूहले प्रदेश १ मा ३ वटा मात्रै जिल्लामा सभापति जितेको थियो। यसपटक सिटौलासमेतको साथ पाएपछि ८ वटा जिल्लामा आफ्नो नेतृत्व ल्याउन सक्यो।
कांग्रेस प्रदेश १ को उपसभापतिमा संस्थापन पक्षीय टंकप्रसाद राई र रमेशजंग रायमाझी विजयी भएका छन्। राईले ८ सय ४७ र रायमाझीले ८ सय ९० मत ल्याए। उप–सभापतिका अन्य उम्मेदवार गोविन्दप्रसाद ढुंगानाले ७ सय ६५ र विश्वनाथ रिजाल (त्रिलोचन)ले ६ सय ६९ मत मात्रै ल्याए। इतर पक्षबाट महामन्त्रीमा विजयी बनेका उमेश थापाले ८ सय २३ र संस्थापन पक्षबाट जितेका भूपेन्द्र राईले ८ सय २४ मत प्राप्त गरे। महामन्त्रीका अन्य उम्मेदवारहरु दीपनकुमार श्रेष्ठले ७ सय ६४ र पदमसुन्दर पालुङ्गवाले ८ सय ७ मत ल्याएका छन्।
इतर पक्षबाट सह–महामन्त्रीमा विजयी खड्गबहादुर फागोले भने पदाधिकारीमध्ये सर्वाधिक एवं लोकप्रिय मत प्राप्त गरेका छन्। मोरङको उर्लाबारी नगरपालिकाका मेयर उनी १ हजार २६ मत ल्याएर विजयी बनेका हुन्। इतर पक्षकै विनोदकुमार बस्नेत ७ सय ४७ मत प्राप्त गर्दै पार्टीको प्रदेश सह–महामन्त्री बनेका छन्।
अन्य प्रतिस्पर्धीमध्ये रोहितकुमार साहले ६ सय ६५, वीरकाजी राईले ६ सय ४७ र शुभचन्द्र राईले ८४ मत मात्रै ल्याउन सके। महिला कोटाबाट सह–महामन्त्रीमा निर्वाचित संस्थापन पक्षकी प्रमिला गच्छदारले ८ सय ३७ मत ल्याइन। उनीसँग प्रतिस्पर्धामा उत्रिएकी उम्मेदवार सीता कार्कीले ७ सय ३३ मत मात्रै प्राप्त गरिन्।
पार्टीको १४ औं महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस प्रदेश १ को नेतृत्व चयनका लागि गत शनिबार निर्वाचन भएको थियो। आइतबार राति अवेर मतगणना सकिएको हो। निर्वाचन समितिका अधिकृत भरतबहादुर थापाका अनुसार निर्वाचनमा १ हजार ७ सय ५३ मत खसेको थियो। प्रदेश १ अधिवेशनमा कांग्रेसका १ हजार ८ सय ५ जना मतदाता प्रतिनिधि थिए। ५२ जना प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएनन्।
प्रदेश १ अधिवेशनमा कांग्रेसको संस्थापन र इतर समूह आआफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा उत्रिएका थिए। कांग्रेस प्रदेश समितिमा रहने १ सभापतिसहित ८ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी परेको थियो।