
काठमाडौं : बिहीबारबाट सुरु यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा शुक्रबार (आज) नेपालले बंगलादेशको समना गर्दैछ। संयूक्त अरब इमिरेट्स (यूएई) को सार्जाह क्रिकेट रंगशालामा खेल ११ : १५ मा सुरु हुनेछ।
देव खनालको कप्तानीमा रहेको नेपाल बंगलादेशलाई पराजित गर्दै खेलमा सुखद सुरुवात गर्न चाहन्छ। यद्यपि नेपाललाई त्यति सजिलो भने हुने छैन। इतिहासलाई हेर्दा नेपाल र बंगलादेश यू-१९ क्रिकेटमा चिरपरिचित प्रतिद्वन्द्वी हुन्। यसअघिका चार खेलमा नेपालले बंगलादेशलाई जित्न सकेको छैन।
सन् २००८ मा बंगलादेश पुगेको नेपालको टोलीले कुनै बल नखेली खेल स्थगित भएको थियो। त्यस्तै दोस्रो खेलमा बंगलादेशले ३ विकेटले बाजी मारेको थियो। त्यसको आठ वर्षपछि २०१६ मा आईसीसी यू-१९ विश्वकपमा नेपाल ६ विकेटले पराजित भएको थियो भने पछिल्लोपटक २०१९ को अन्डर १९ एसिया कपमा पनि बंगलादेश विजयी भएको थियो।
नेपालको टोलीमा कप्तान देव खनालसहित उपकप्तान शेर मल्ल, दिपेश कँडेल, विवेक यादव रहेका छन्। त्यस्तै गुलशन झा, विवेक रानामगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलकराज भण्डारी, अर्जुन कुमाल, वशिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद र राहुल भण्डारी टोलीमा समावेश छन्।