काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि गुटहरू टुक्रा–टुक्रा परेका छन् ।

नयाँ गुटहरू निर्माणको तयारीमा छन् । सभापतिमा शेरबहादुर देउवा शानदार मतसहित निर्वाचित बनेपछि कांग्रेसभित्रका गुटहरू तितरवितर बनेका हुन् । देउवाले गुटलाई चासो नदिएकै कारण ती गुटहरूले टाउको उठाउन सकिरहेका छैनन् ।

अहिलेसम्मको अवस्था हेर्दा सभापति देउवाले अधिकतम सहमतिका साथ सबैलाई मिलाएर अगाडि बढ्ने प्रयास गरेका छन् । केन्द्रीय कार्यसमितिमा मनोनीत हुन् वा राष्ट्रिय सभाको हालैको निर्वाचनमा टिकट वितरणका कुरा हुन्, देउवाले सुझबुझपूर्ण निर्णय लिएका छन् । देउवाले राष्ट्रिय सभाको निर्वाचनमा पार्टीका ६ जना उम्मेदवारलाई नै विजयी बनाएर रेकर्ड राखेका छन् । राष्ट्रिय सभामा कांग्रेस कमजोर थियो ।

प्रधानमन्त्री समेत रहेका सभापति देउवाले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभामा कांग्रेसलाई बहुमतमा पुर्‍याउने गरेर कामहरू गरेका छन् । उनले विवादित निर्णय गरेका छैनन् । देउवाको नाम भजाएर अरुबाट हुने छिटफुट घटना बाहेक केही अप्रिय कार्य भएका छैनन् ।

देउवाले १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने छैनन् । उनको समूहबाट को हुन्छ उत्तराधिकारी भनेर चर्चा र परिचर्चा हुन थालेका छन् ।

देउवा समूहबाट दुई वटा गुट निर्माण हुने चर्चामा छन् । पहिलो गुट उप–सभापति पूर्णबहादुर खड्काले निर्माण गर्नेछन् । दोस्रो गुट केन्द्रीय सदस्य डा.आरजु राणाले गर्नेछिन् ।

उप–सभापति खड्काले १५औँ महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवारका रुपमा अहिलेदेखि छनक दिन थालेका छन् ।

नेतृ डा.राणा पनि कमजोर छैनिन् । कांग्रेसभित्र डा.राणाको जबरजस्त उपस्थिति छ । उनलाई कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीको बलियो उम्मेदवारका रुपमा समेत लिन थालिएको छ । केन्द्रीय कार्यसमितिमा राम्रो मत ल्याएर निर्वाचित बनेकी छिन् । प्रतिनिधि सभाको निर्वाचनमा कैलालीबाट उम्मेदवार बनेर पुरुष उम्मेदवारसँग टक्कर लिएकी छिन् ।

त्यति मात्र होइन पूर्वसांसद समेत रहेकी डा.राणालाई नेपालको भावी पहिलो महिला प्रधानमन्त्रीका रुपमा समेत हेर्न थालिएको छ ।

नेपालमा महिला राष्ट्रपति, महिला सभामुख बनिसकेका छन् । अब महिला प्रधानमन्त्रीको पालो छ ।

डा.राणा राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायमा परिचित नाम हो । डा.राणालाई बौद्धिक रुपमा समेत लिने गरिन्छ । सामाजिक कार्यहरूमा उनको ठूलो योगदान छ । महिलाका क्षेत्रमा डा.राणाले गरेको योगदानले नेपालमा क्रान्तिनै ल्याइदिएको चर्चा हुने गरेको छ ।

दक्षिण एसियामा डा.राणाको नाम अग्रपंक्तिमा आउनेगर्छ । म्यानमारकी नेतृ आङसाङ सुकीपछि डा.राणालाई लिने गरिएको चर्चा समेत छ ।

डा.राणाका विषयमा उनका पति समेत रहेका प्रधानमन्त्री एवम् सभापति देउवासँग जोडेर विभिन्न कुराहरू बाहिर आउने गरेका छन् । त्यसमा सत्यता छैनन् । डा.राणा आफैमा सक्षम महिला हुन् ।

डा.राणाले कांग्रेसभित्र एउटा धार निर्माण गरिन् भने त्यो नै बलियो हुने देखिन्छ । राजनीतिक विश्लेषकहरूले पनि डा.राणाको राजनीतिक भविष्य निकै उज्वल रहेको चर्चा गर्ने गरेका छन् । डा.राणाले कांग्रेसका इमान्दार, सक्षम, योगदान गरेका र कुशल नेताहरूलाई साथमा लिन समेत थालिसकेकी छिन् ।

 

Your Views
Related News