
काठमाडौं :सिसडोल र बञ्चरेडाँडामा स्थानीय बासिन्दाले काठमाडौं उपत्यकाको फोहोर फाल्न नदिने घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी स्थानीयले भदौ १ देखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका हुन्।
सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै उपत्यकाको फोहोरमैला फाल्न नदिने बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए। गत जेठ २७ गते भएको सम्झौता कार्यान्वयन गर्न सरकार र काठमाडौं महानगरपालिकाले कुनै कदम नचालेको स्थानीयको आरोप छ।
सरकारले पटक-पटक सिसडोल र बञ्चरेडाँडाका बासिन्दालाई धोका दिँदै आएको संघर्ष समितिको निष्कर्ष छ। उनले भने, ‘मानबस्तीरहित ल्यान्डफिलसाइट विकास क्षेत्र वा फोहोरमैला प्रदूषणरहित मानवबस्ती विकास क्षेत्रमध्ये सरकारले एउटा मात्रै छान्न पाउने छ। अब सधैंका लागि फोहोर फाल्न नदिने बाध्यकारी आन्दोलन गरिएको हो। ’