काठमाडौँ — बहुमतको सरकार गठन दाबी गर्नका लागि अग्रसर कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको हो । बैठकमा पार्टीका पूर्व पदाधिकारी पनि सहभागी हुनेछन् ।

संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिनको समय सीमा आज बेलुकी ९ बजे सकिँदैछ ।

बिहीबार बिहान देउवा निवासमा भएको जनता समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँगको वार्तापछि देउवाले बैठक बोलाएका हुन् । सत्ता साझेदारीका लागि तयार माओवादी केन्द्रको स्थायी कमिटी बैठक पनि अपराह्न ५ बजेका लागि बोलाइएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहका चार नेतालाई गरेको कारबाही बिहीबार नै फुकुवा गरेका छन् । यसलाई माधव समूहका नेताले सकारात्मक भनेर प्रतिक्रिया दिएका छन् । यता नेपाल निकट कानुन व्यवसायीहरुले उनलाई राजीनामा नगर्न सुझाव दिएका छन् ।

 

Your Views
Related News