प्रधानसेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व प्रभुराम शर्माले सम्हालेको पाँच साता पुग्दा उनले करिब एक वर्ष अध्ययन गरेको भारतको राष्ट्रिय रक्षा महाविद्यालयको एउटा प्रतिनिधिमण्डल अध्ययन भ्रमणका लागि काठमाण्डू आइपुगेको छ।

भारतीय सेनाका रियर एड्मिरल धिरेन भिगको नेतृत्वमा आइतवार काठमाण्डू आएको ३९ सदस्यीय टोली कार्तिक ६ गतेसम्म नेपालमा रहने नेपाली सेनाले जनाएको छ।

उक्त टोलीले नेपालका प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम छ।

यो भ्रमण परम्पराको निरन्तरता भएको र यस्ता आदानप्रदानले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ बलियो बनाउने नेपाली सेनाले उल्लेख गरेको छ।

सुरक्षा मामिलाका विज्ञहरूले चाहिँ नेपाल-भारत सम्बन्धमा कैयौँ पेचिला विषयमा गतिरोध देखा परिरहेका बेला यस्ता खालको भ्रमणले दुई सरकारबीच विश्वासको वातावरण बनाउन सक्ने टिप्पणी गरेका छन्।

यो कस्तो खालको भ्रमण हो?

उक्त महाविद्यालय न्याश्नल डिफेन्स कलेज (एनडीसी) का नामले परिचित छ।

त्यसका प्राध्यापक र शिक्षार्थी समेत सम्मिलित टोलीले एक साता नेपालमा रहँदा नेपाली सेनाको भद्रकालीस्थित मुख्यालय, पोखरास्थित मध्य कमान्ड हेडक्वार्टर र शिवपुरीस्थित कमान्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने जनाएको छ।

उक्त टोलीले पशुपतिनाथ, मुक्तिनाथ , एभरेस्ट भ्यू नाम्चे सहितका क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौड्याल भन्छन्, “एनडीसी भनेको भारतमा चल्ने सबैभन्दा ठूलो कोर्स हो। त्यसमा सहभागी हुने सबै जना यस्तो भ्रमणमा सहभागी हुन्छन्। उनीहरू यहाँ मात्र नआएर अन्यत्र पनि जाने गर्छन्। योभन्दा अघिल्लो साल कोरोनाभाइरसका कारण नआएको हो। नत्र भने साधरणतया सधैँ एउटा टोली नेपालमा आउँछ।”

उनले अहिलेको भ्रमणलाई नियमित प्रक्रिया भन्दै यो सैनिक कूटनीतिको एउटा अङ्ग र एनडीसी गरिरहेका सैनिक अधिकारीहरूको अध्ययनको एउटा हिस्सा भएको जनाए।

नयाँ दिल्लीमा रहेको राष्ट्रिय रक्षा महाविद्यालयको ४७ हप्ता लामो रणनितीक सुरक्षा पाठ्यक्रमको हिस्साका रूपमा पछिल्लो भ्रमणलाई लिनुपर्ने सैन्य मामिलाका जानकारहरू बताउँछन्।

भ्रमणको लक्ष्य के हो?

उक्त महाविद्यालयको वेबसाइटका अनुसार विदेशको अध्ययन भ्रमणका क्रममा एनडीसी गरिरहेका शिक्षार्थीहरूले गैरसैनिक र सैनिक दुवै तहका उच्चपदस्थ अधिकारीहरूसँग अन्तरक्रिया गर्ने अवसर पाउँछन्।

त्यसबाहेक सैन्य, उद्योग, प्रशासन र आर्थिक केन्द्रहरूको भ्रमण गर्ने अवसर पनि मिल्ने महाविद्यालयले जनाएको छ।

यस्तो आदानप्रदानले भ्रमण गरेको देशलाई नजिकबाट बुझ्न र सुमधुर सम्बन्ध विकास गर्न सहयोग पुग्ने महाविद्यालयले जनाएको छ।

नेपालमा रहँदा उक्त भ्रमण दलले प्रधानमन्त्रीसहित सरकारका शीर्ष तहका अधिकारीहरूलाई भेट्ने निश्चित भएको सैनिक मुख्यालयले जनाएको छ।

सैनिक प्रवक्ता पौड्याल भन्छन्, “प्रधानमन्त्रीज्यूसँगको शिष्टाचार भेटजस्तै हो। यसअघि पनि रक्षामन्त्रीहरूसँग भेट हुने गरेको थियो। यस्तो भ्रमणमा आउने सदस्यहरूले अन्तरक्रिया गर्ने र अनौपचारिक खालको शिक्षाहरू हासिल गर्ने कुरा नै धेरै हुन्छ।”

एनडीसी कोर्स पूरा गर्नु सेनामा माथिल्लो तहका पदहरूमा पुग्न अनिवार्य मानिन्छ।

नेपाली सेनाका यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापा र अहिलेका प्रधानसेनापति प्रभुराम शर्मा दुवैले भारतीय रक्षा महाविद्यालयबाट एनडीसी गरेका हुन्।

भारतमा स्पष्ट सन्देश पुर्‍याउन सहयोगी हुने विश्वास

त्यहाँबाट नै उक्त कोर्स गरेका नेपाली सेनाका अवकाशप्राप्त उपरथी विनोज बस्न्यात उक्त महाविद्यालय भारतको रक्षा मन्त्रालय अन्तर्गतको एउटा ‘थिङ्क ट्याङ्क’ समेत भएकाले यस्ता अध्ययन भ्रमणहरूको निक्कै महत्त्व हुने बताउँछन्।

उनले भने, “सीमासम्बन्धी मुद्दाहरू लगायत कैयौँ पेचिला विषयहरूमा पनि यस्ता भ्रमणले सहयोग पुर्‍याउँछ। किनभने विज्ञहरूले कुरा राखेका हुन्छन् र नेपाल-भारत सम्बन्धमा कुनै किसिमको चिसोपन छ भने एक प्राज्ञको रूपमा त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने कुरा पनि सुझाव दिइन्छ। यस्तो आदानप्रदानबाट अझ स्पष्ट सन्देश पुग्छ जस्तो मलाई लाग्छ। “

यस्तो अध्ययनपछि भ्रमण दलका सदस्यहरूले महाविद्यालयमा आफ्नो प्रस्तुति दिने उल्लेख गर्दै उनले थपे, “वहाँ फर्किसकेपछि नेपाल-भारत सम्बन्धमा अहिले किन यस्तो अवस्था देखियो, भारतीय पक्षको अपेक्षानुसार किन भएन अथवा अहिले दुई देशको सम्बन्धमा सीमाका सवालको महत्त्व यति रहेछ भन्ने सबै कुराहरू आउँछ। ती कार्यपत्रहरू त्यहाँबाट भारतीय रक्षा मन्त्रालय हुँदै सम्बन्धित मन्त्रालयहरूमा समेत पुग्छ।”

 

Your Views
Related News