बाढी पहिरो क्षतिका बारे जानकारी लिन बझाङको चैनपुर पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेशको बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा पुगेका छन् । बाढी पहिरोका कारण भएको क्षतिको निरीक्षणका लागि उनी बिहीबार सुदूरपश्चिम पुगेका हुन् । प्रधानमन्त्री देउवाले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत उपलब्ध गराउने बताएका छन् ।

सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले समयमै राहत उपलब्ध गराउने दावी गरे। उनले भने, ‘मौसमविद्ले जलवायु परिवर्तनका कारण ठूलो महाविपत्तिले क्षति पुगेको भनिरहेका छन् । सबैभन्दा बढी क्षति सुदूरपश्चिममा पुर्‍याएको छ, नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन सरकारले निर्णय गरिसकेको छ, समयमै राहत उपलब्ध गराउँदछौं ।’

प्रधानमन्त्री देउवाले सुर्खेत विमानस्थलमा बाढी पहिरोले कर्णाली प्रदेशमा पुर्‍याएको क्षतिबारे प्रदेश सरकार र सुरक्षा निकायका प्रमुखबाट जानकारी लिएका थिए । प्रधानमन्त्री देउवाले बाढी प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखलाई समेत निर्देशन दिएका छन् ।

बाढीबाट प्रभावित भएकालाई सरकारले राहत दिने तथा बाढी–पहिराले घर भत्किएकाको घर निर्माणका लागि आर्थिक सहयोग दिने प्रधानमन्त्री देउवाले बताए । उनले बाढी प्रभावितको स्वास्थ्योपचारदेखि आवास निर्माणमा सरकारले सहयोग गर्ने बताए ।

बिहीबार बाढी प्रभावित क्षेत्र सुदूरपश्चिमको डोटी पुगेका प्रधानमन्त्री देउवाले यहाँका बाढी प्रभावित क्षेत्रका व्यक्तिहरुको उद्धार र राहतका लागि निर्देशन दिए । प्रधानमन्त्री देउवाको नेतृत्वमा आएको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आले एवं पूर्वमन्त्रीहरु एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर छन् ।

प्रधानमन्त्रीसहितको उक्त टोली बाढीबाट प्रभावित भएको सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको निरीक्षणका लागि जाने क्रममा बझाङ पुगेको हो । प्रधानमन्त्रीसहितको सो टोली बिहीबार बिहान काठमाडौँबाट सुर्खेत दिपायल दै चैनपुर गएको हो । प्रधानमन्त्री देउवाले जनप्रतिनिधि र स्थानीयसँग बाढी, पहिरो र डुबानबाट भएको क्षतिको बारेमा जानकारी लिएका छन् ।

 

Your Views
Related News