वैज्ञानिकहरूले कोरोनाभाइरस सङ्क्रमण भएका मानिसहरूका खुट्टा वा हातका औँलामा छालाको समस्या देखिनुको कारण व्याख्या गर्न सकिने बताएका छन्। “कोभिड टो” नाम दिइएको उक्त अवस्थामा मानिसहरूको खुट्टा या हातको औँला सुन्निने र तिनमा चिलाउनेगरी रातो दाग देखा पर्छ।

शरीरको प्रतिरक्षा प्रणालीले भाइरसविरुद्ध लड्न आक्रामक रूप लिँदा त्यसको प्रभावस्वरूप कोभिड टो देखा पर्ने जनाइएको छ।

अनुसन्धानकर्ताहरूले प्रतिरक्षा प्रणालीमा संलग्न कुन भागका कारण यस्तो असर देखिन्छ त्यसको किटान गरेका छन्।

ब्रिटिश जर्नल अफ डर्माटोलजीमा उल्लिखित निष्कर्षहरूले यस्ता समस्याको उपचार गर्न सहयोग पुर्‍याउने अनुमान गरिएको छ।

 

के हो कोभिड टो?

कोभिड टो जुनसुकै उमेर समूहका मानिसमा देखिन सक्ने समस्या हो। तर त्यसले बालबालिका तथा किशोरकिशोरीलाई बढी प्रभावित गर्छ।

कतिपयका लागि यस समस्या पीडारहित हुन्छ। तर कतिपय अवस्थामा भने छालामा देखिने डाबर अत्यधिक दुख्ने, चिलाउने, फोकाहरू आउने र सुजन हुन्छ।

स्कटल्यान्डकी १३ वर्षीया सोफिया कोभिड टो पीडित हुन्। उनलाई हिँड्न र जुत्ता लगाउन समेत गाह्रो भएको थियो। गर्मी यामभरि उनले लामो यात्रा तय गर्न आफू कसरी ह्वीलचेअरको भर परेँ भन्नेबारे बताएकी छन्।

समस्या देखिएको सङ्क्रमित छालाको रङ्ग रातो वा बैजनी हुन सक्छ। केही मानिसमा दुख्ने डाबर वा छाला खस्रो हुने समस्या देखा पर्छ। त्यसमा पीप पनि जम्न सक्छ।

मानिसहरूमा यस समस्या हप्तौँदेखि महिनौँसम्म रहन सक्छ।पीडितहरूमा खोकी लाग्ने, ज्वरो आउने, स्वाद वा गन्धमा परिवर्तनजस्ता कोभिड-१९ का लक्षणहरू नदेखिन सक्छन्।

किन हुन्छ कोभिड टो?

रगत र छालामा गरिएको परीक्षणमा आधारित पछिल्ला अध्ययनका निष्कर्षहरूले प्रतिरक्षा प्रणालीको दुई भाग जिम्मेवार हुनसक्ने जनाएको छ। दुवै भाग मानिसको शरीरले कोरोनाभाइरसविरुद्ध लड्ने संयन्त्रअन्तर्गत पर्छन्।

तीमध्ये एक टाइप-१ इन्टर्फेरोन भनिने एन्टिभाइरल प्रोटीन हो। अर्को चाहिँ एन्टिबडी हो जसले झुक्किएर भाइरसको साटो शरीरका कोशिका र तन्तुहरूलाई आक्रमण गर्छ।

यूनिभर्सिटी अफ प्यारिस, फ्रान्सका अनुसन्धानकर्ताहरूका अनुसार सङ्क्रमित स्थानमा रक्तसञ्चार गर्ने रक्तनलीको सतहमा भएका कोशिकाहरू पनि संलग्न हुन्छन्।

अनुसन्धानमा सन् २०२० मा कोभिड टो भएको आशङ्का गरिएका ५० जना सहभागी थिए। तीबाहेक १३ अन्यमा छाला चिलाउने र सुन्निने लक्षण भएका मानिस समाविष्ट थिए।

उनीहरूमा भने कोरोनाभाइरस सङ्क्रमणको लक्षण देखिएको थिएन। उनीहरूलाई यस्तो समस्या कोभिड-१९ महामारीअगावै देखिएको थियो।

ब्रिटिश स्किन फाउन्डेशनकी प्रवक्ता एवं सल्लाहकार चर्मरोग विशेषज्ञ डा. फेरोनिक बाटाईका अनुसार कोभिड टो महामारीको प्रारम्भिक चरणमा बारम्बार देखा परेको थियो।

डेल्टा भेरिअन्टको लहरमा भने कम देखिएको उनले बताइन्। अधिकांश मानिसले खोप लगाएका कारण उक्त सङ्ख्यामा कमी आएको हुनसक्ने अनुमान गरिएको छ।

“खोपपश्चात् कोभिड टो कम देखिएको छ,” उनले भनिन्।

कोभिडका कारण हुने छालाका समस्याहरू गम्भीर सङ्क्रमणपछि देखिन सक्छन्। साथै लक्षणरहित सङ्क्रमितहरूमा पनि केही समयपश्चात् यस्तो समस्या देखिएको छ।

त्यसैले कोरोनाभाइरसकै कारण यस्तो समस्या देखिएको किटान गर्ने प्रशस्त आधारहरू नहुन सक्ने उनले बीबीसीसँग बताइन्।

द ब्रिटिश असोसिएशन अफ डर्म्याटोलजिस्टले कोभिडका कारण हुनसक्ने चर्मरोगको सूची नै तयार पारेको छ।

 

Your Views
Related News