काठमाडौं : एनआईसी एसिया बैंकको १६ लाख रुपैयाँ लुटिएको घटनामा कर्मचारीकै संलग्नता देखिएको छ । कर्मचारीको संलग्नता देखिएपछि प्रहरीले एनआईसी एसिया बैंकको बानेश्वर शाखाका कलेक्टर प्रदीप खत्रीसहित ४ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार खत्रीकै योजना र अन्यको मिलेमतोमा बैंकको पैसा लुटिएको अनुसन्धानका क्रममा खुलेको छ ।

‘बैंकले ठूलो परिमाणमा पैसा जम्मा गर्ने संस्थाका लागि कलेक्टर राखेको हुँदो रहेछ, त्यही भूमिकामा रहेका खत्री आफैंले आफैंलाई लुटाएको पाइएपछि पक्राउ गरेका हौं’ उनले अनलाइनखबरसँग भने, ‘अन्यको भूमिकाबारे अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले खत्रीसँगै सिन्धुपाल्चोकका विमल तामाङ, रामेछापका शक्तिराज पौडेल, अनिश खड्कालाई पनि पक्राउ गरेको छ । पक्राउ परेकामाथि डाँका चोरीसम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान हुने मैनालीले बताए ।

आफैं पैसा संकलन गर्ने, आफैं लुटाउने

महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी मिमबहादुर लामाका अनुसार घटना १८ पुसको हो । कलेक्टर खत्रीले काठमाडौं–१० को वडा कार्यालयबाट १२ लाख ४५ हजार रुपैयाँ र मेटलाइफ इन्स्योरेन्स शान्तिनगरबाट ३ लाख ५० हजार ४२४ रुपैयाँ लिएर बैंकतिर जाँदै थिए । बानेश्वरको युनिग्लोब कलेज अगाडि बैंकको शाखा कार्यालय नजिकै दुई जनाले उनको पैसा लुटे ।

उनले बैंकमा खबर गरे, बैंकले प्रहरी वृत्त, बानेश्वरलाई जानकारी गरायो । ‘क्लोज सर्किट (सीसी) क्यामरा फुटेजको आधारमा अनुसन्धान सुरु गर्‍यौं, लैजाँदै गरेको त देखिएन’ डीएसपी लामा भन्छन्, ‘बरु दुई जना भाग्दै गरेको देखियो ।’

बैंकले केही ढिला गरी प्रहरीलाई घटनाबारे जानकारी गराएको थियो । त्यसबेलै प्रहरीले कलेक्टरमाथि शंका गरिसकेको थियो । ‘कलेक्टर खत्रीलाई पनि शंकाको घेरामा राखेर फुटेज पनि हेरिरहेका थियौं’ उनी भन्छन्, ‘फुटेजका दुई जना व्यक्तिबारे थाहा भएपछि पक्राउ गर्‍यौं ।’

स्रोतका अनुसार सीसी टीभी फुटेजमा उनीहरु चढेको मोटरसाइकलको नम्बर देखिएको थियो । त्यसको आधारमा प्रहरी त्यसरी लुटपाटमा संलग्न व्यक्ति शक्तिराज पौडेल र अनिश खड्कासम्म पुगेको थियो । ‘उनीहरुको हाउभाउ हेर्दा व्यवसायिक जस्तै लाग्थ्यो, पक्राउ परेपछि सबै बेलिबिस्तार लगाइहाले’ लामा भन्छन्, ‘त्यसपछि कलेक्टरको पनि संलग्नता खुलिहाल्यो ।’

डीएसपी लामाका अनुसार कलेक्टर खत्रीले बैंक भएकै भवनमा काम गर्ने विमल तामाङसँग मिलेर उनले बैंकको पैसा आफैं लुटाउने योजना बनाएका थिए । ‘त्यही योजना अनुसार तामाङले पौडेल र खड्कालाई जोडेका थिए’ उनी भन्छन्, ‘तर उनीहरुको योजना सफल हुनसकेन ।’

लुट्नेलाई ६ लाख, लुटाउनेलाई ३ लाख

काठमाडौं प्रहरीका एसपी मैनालीका अनुसार लुटपाटबारे प्रहरीले ढिला गरी मात्रै सूचना पाएको थियो ।

‘ढिलो सूचना आउँदा उनीहरुले लुटिएको रकम भाग लगाइसकेका रहेछन्’ मैनाली भन्छन्, ‘लुटपाटमा संलग्न पौडेलले ६ लाख ३० हजार र खड्काले ४ लाख रुपैयाँ पाएका थिए ।’

मैनालीका अनुसार बैंकका कर्मचारी खत्रीको भागमा चाहिँ ३ लाख रुपैयाँ परेको पाइएको छ । उनीसँगै योजना बनाउने कार्यमा संलग्न विमलको भागमा पनि ३ लाख रुपैयाँ छुट्टयाइएको थियो ।

‘कलेक्टरको रकम पनि विमलले नै राखेका रहेछन्’ मैनाली भन्छन् । उनीहरुको साथबाट १३ लाख ४६ हजार रुपैयाँ बरामद भएको छ । त्योमध्ये २ लाख ८४ हजार चार सय २४ रुपैयाँ उनीहरुले खर्च गरिसकेको पाइएको छ ।

 

Your Views
Related News