इटहरी : सुनसरीमा कोरोना संक्रमित संख्या बढ्दै गएपनि सुनसरी प्रशासनले निषेधित क्षेत्रलाई खुकुलो बनाउने निर्णय गरेको छ । बिहीबारदेखि बिहान १० बजेसम्म बजार खुल्ने भएको हो । साथै आवतजावतका लागि रिक्सा सञ्चालन गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय

सुनसरीले जनाएको छ । कार्यालयले बुधबार जारी गरेको विज्ञप्तीअनुसार १८ गतेदेखि निषेधित क्षेत्र खुकुलो पार्न लागिएको हो । तर हाट बजार, भेला, कार्यक्रममा भने प्रतिबन्ध अझै कायमै छ । बजार र यातायात आंशिक खोलेपनि पर्याप्त सतर्कता अपनाउन आग्रह गरिएको छ । मास्क, स्यानेटाइजरलाई अनिवार्य गर्न भनिएको छ । यस्तै पसल तथा रिक्सालाई पटक पटक डिस्इन्फेक्सन गर्नुपर्ने शर्त राखिएको छ ।

निषेधाज्ञाबारे निर्णय गर्न बसेको बैठक। फाइल तस्बिर।

लामो समयदेखिको बन्दाबन्दीका कारण समस्यामा परेका सर्वसाधारणलाई यो निर्णयले राहत दिने विश्वास गरिएको छ । प्रशासनले अनुमति नदिएपनि इटहरीका व्यवसायीहरुले बिहीबारदेखि बजार खोल्ने घोषणा गरेका थिए ।

व्यवसायी र प्रशासनले बजार खोल्ने निर्णय गरिरहँदा सुनसरीमा कोरोना संक्रमितहरुको संख्या भने दिनदिनै बढिरहेको छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार बुधबार मात्रै ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

तीमध्ये इटहरीमा मात्रै ५८ जना छन् । मंगलबार सुनसरीभरी ५६ जनामा कोरोना देखिएको थियो ।सुनसरीमा कोरोना संक्रमितको संख्या ८ सय ३० पुगेको छ । तीमध्ये ३ सय ८५ जना कोरोना मुक्त भएका छन् । ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

 

Your Views
Related News