काठमाडौँ : कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागमा ४८ जना सदस्यलाई बुधबार मनोनयन गरेका हुन् । पार्टीको विधानअनुसार ६ महिनाभित्र गठन गरिसक्नुपर्ने विभाग देउवाले कार्यकाल सकिएर महाधिवेशनको कार्यतालिका घोषणा भइसकेपछि गठन गरेका छन् ।

पार्टी महाधिवेशन प्रभावित बनाउन विभाग गठन र मनोनयनको कार्य गरेको भन्दै संस्थापनइतर पक्षले विरोध जनाउँदै आएको छ । उसले गठन भएका विभाग खारेजीको मागसमेत गर्दै आएको हो ।

देउवाले संस्थापनइतर पक्षको विरोधलाई बेवास्ता गर्दै यसअघि गठन भइसकेका विभागलाई पूर्णता दिन लागेका छन। देउवाले ४७ विभागमध्ये २० वटामा संयोजक तोकेका थिए भने १९ विभागमा सदस्य मनोनयन गरेका हुन् ।

देउवाले पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा संयोजक रहेको प्रचार विभागको उपप्रमुखमा सुरेश आचार्य र सचिवमा दिनेश थापामगरलाई मनोनयन गरेका हुन् ।

 

Your Views
Related News