क्रिकेटको स्तर उकास्नमा व्यावसायिक प्रशासन व्यवस्थापन बलियो भयो भने मात्र यसको दीर्घकालीन लाभ नेपाली क्रिकेटले हासिल गर्नसक्छ ।

अहिलेको परिस्थितिमा नेपाल क्रिकेट संघ (क्यान) को विधानबमोजिमका प्रावधानलाई शब्दबाट जीवन्तता प्रदान गर्नका लागि उचित योजनासहितका कार्य अगाडि बढाउने उपयुक्त समय नेपाली क्रिकेटलाई प्राप्त भएको हो ।

तत्कालका लागि नेपाली क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट सर्तसहितको निलम्बन फुकुवाको लामो तथा पट्यारलाग्दो प्रक्रियागत ढिलाइबाट उन्मुक्ति पाउने प्रयासमा लागेको देखिदै छ ।

यसका कारक तत्त्वहरू तथा नतिजामुखी तयारीको अवस्था के कस्तो छ भन्ने सवालहरू तथा कौतूहलताको उत्तर या त क्यान वा आईसीसीलाई नै थाहा छ । तर क्रिकेटसँग सरोकार राख्नेलाई वस्तुस्थितिको आकलन गर्न अप्ठ्यारो छ। हो, अहिलेको अवस्थामा परेका प्राथमिकताले धेरै कुरालाई निर्धारण गर्छ तर पनि सम्बोधन कसरी भइरहेको छ वा परिस्थितिको विश्लेषण गरी तदनुरूपका कदमहरू कसरी अगाडि बढिरहेछ । तर आगामी दिनहरूमा सकारात्मक नतिजाको प्रतीक्षामा सिंगो नेपाल र नेपालीहरू बसिरहेका हुन् । समग्रमा अहिलेको आवश्यकता र चाहना भनेको क्यान पुनः एक स्वशासित र संगठित संस्थाको रूपमा पहिचान बनाउन सक्षम होस् भन्ने नै होक, ।

यसका लागि विगतदेखि वर्तमानसम्म क्यानका पदाधिकारीहरूको कार्यशैली र कार्य सम्पादन क्षमता तथा प्रशासनिक व्यवस्था र यसको कार्यान्वयन पक्षलाई विश्लेषण गर्ने प्रयास यस लेखमा गरिएको हो। क्यानको विधानसम्मत गरिनुपर्ने कार्यहरू र क्रिकेट व्यवस्थापनमा आवश्यक पर्ने स्थापित मूल्य र मान्यतालाई आधार मान्दै विभिन्न सुधार गर्न सकिने क्षेत्रको पहिचान गरी सुझावको रूपमा प्रस्तुत गरिएको हो ।

संगठित संस्था बनाउनका लागि क्यानको व्यवस्थापन तथा प्रशासनिक पक्षको भूमिका महत्त्वपूर्ण हो । विगतका तीतामीठा अनुभवले गर्दा पनि यसको आवश्यकता, उपादेयता र प्राथमिकता हामी सहजै बुझ्छौ। क्यानको सांगठनिक व्यवहारहरू सदैव अनुमानयोग्य र भरपर्दो होस् भन्ने चाहना सबैको हो। यसका लागि त विद्यमान चुनौती तथा सवालहरूलाई क्यानले क्रमशः सम्बोधन पनि गर्दै जानुपर्छ । वैधानिक प्रावधानअनुरूप क्यान अगाडि बढेको खण्डमा व्यवस्थापनका चुनौतीहरूलाई सामना गर्न सहज हुन्छ ।

समयसापेक्ष संस्थागत संरचनालाई पूर्णता दिनुपर्ने आवश्यकता एकातिर छँदै छ भने अर्कातिर प्रभावकारी कार्य सम्पादनको प्रत्याभूति गराउने जिम्मेवारी क्यानको हातमा छ । निष्पक्षता र पारदर्शिताको सिद्धान्त कार्यान्वयन र व्यवहारिकताको कसीमा खरो उतार्न क्यानको भावी रणनीति, योजना र कार्य सम्पादन शैलीले महत्त्वपूर्ण भूमिका खेल्छ ।

व्यवस्थापन र प्रशासनलाई प्रभावकारी, चुस्तदुरुस्त र प्रतिफलमुखी बनाउने हो भने नेपाली क्रिकेटमा पहिलेदेखि नै जकडेर बसेको मानसिकता त्याग्न अति जरुरी छ । उदाहरणका लागि कार्य समितिका पदाधिकारीले आफ्नो पदीय काम, कर्तव्य र अधिकार राम्ररी बुझ्न नसकेको होस् वा यसको उपेक्षा गर्ने प्रवृत्तिलाई लिन सक्छ ।

खेलाडी चयन, प्रशिक्षण, अम्पायर व्यवस्थापन जस्ता क्रिकेटसँग प्रत्यक्ष सरोकार राख्ने प्राविधिक विषयवस्तुलाई सहज र प्रभावकारी तुल्याउन कार्य समितिले आवश्यकताअनुसार गठन गर्ने समितिहरूको कार्य सम्पादन शैली वा सम्भावित हस्तक्षेप वा झन्झटिलो प्रक्रिया अबको दिनमा सरलीकरण गरिएन भने यो क्रिकेट व्यवस्थापनको लागि प्रत्युत्पादक हुन्छ।

कार्यसमितिको सुपरिवेक्षणको भूमिका र कार्य सञ्चालन, प्राविधिक, मानव संशाधन, अर्थ र संचारको उचित व्यवस्थापन गर्दै व्यवस्थापकीय कार्य सम्पादनका वैधानिक प्रावधानलाई संस्थागत गर्ने कार्यमा सम्बन्धित सबै लागेमा मात्र कार्यसमिति र प्रशासनबीचको पातलो रेखाले छुट्याउने गरेको असमझदारी र अविश्वासको वातावरण हटाउन सकिन्छ । अन्यथा नयाँ परिवेशमा पनि यो संस्थागत विकासको एक बाधकका रूपमा रह्न्छ । क्यानमा देखिएको अस्थिरताले निम्त्याएको अन्योलताले नेपाली क्रिकेटको व्यवस्थापकीय पाटोको अदूरदर्शितालाई सतहमा ल्याइदिएको नै हो । पद्धतिमुखी भन्दा व्यक्तिपरक भई सिद्धान्त र विधि कुनामा थन्क्याएर स्वेच्छाचारी प्रवृत्ति हाबी गराई व्यवस्थापनको मर्ममाथि प्रहार हुँदै आएको नेपालमा अन्य क्षेत्रमा थुप्रै उदाहरण छ। यसमा पनि क्यान अपवादमा पर्न सकेन । तर अबको प्रयास भने यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ भन्ने नै छ ।

क्रिकेट व्यवस्थापनका लागि आवश्यक पर्ने नेतृत्वदायी भूमिका र कार्य सम्पादन शैलीमा खिया लाग्न नदिन पदाधिकारीदेखि सम्बद्ध सबैले वैधानिक सर्वोच्चता र सुशासनको सिद्धान्त आत्मसात गर्ने अठोट गर्नुपर्छ ।

क्रिकेटको स्तर उकास्नमा व्यावसायिक प्रशासन व्यवस्थापन बलियो भयो भने मात्र यसको दीर्घकालीन लाभ नेपाली क्रिकेटले हासिल गर्छ । योग्यता, व्यावसायिक विज्ञता र कार्यदक्षता क्रिकेट व्यवस्थापन र कार्य सम्पादनका लागि उपयुक्त व्यक्ति चयनको प्रमुख आधार हुन् । क्रिकेट प्रशासनलाई सही रूपमा परिचालन गर्नका लागि क्यानलाई निश्चित लक्ष्य, उद्देश्य तथा सिद्धान्त आत्मसात गर्ने असल नैतिक आचरण, व्यवहार र अनुशासनमा चल्न सक्ने विशिष्ट चरित्र भएको जिम्मेवार मानव स्रोतको खाँचो पर्दछ । जसले आफ्नै क्षमताबाट व्यवस्थापकीय जिम्मेवारीबोध गरी यिनै सेरोफेरोमा रहेर कार्यसम्पादन गरी क्यानको लक्ष्य र उद्देश्य प्राप्तिमा योगदान पुर्‍याउनुपर्ने हुन्छ ।

अबको दिनमा क्यानले गुणात्मक उपलब्धि हासिल गर्न मानव संसाधन वा जनशक्ति व्यवस्थापनमा नवीन एवं आधुनिक मान्यता र शैलीलाई अवलम्बन गर्नैपर्छ । यसमा जोड दिनु किन आवश्यक छ भने क्यानको कार्यक्षमता र नेटवर्किङ वृद्धिमा यसले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । आईसीसीलगायत विभिन्न देशका क्रिकेट नियन्त्रण बोर्ड, सरोकालवाला निकायहरू तथा निजी क्षेत्रसित समन्वय गर्ने भूमिका एकातिर छँदै छ भने अर्कोतिर आर्थिक तथा प्राविधिक स्रोतसाधनलाई सबल बनाउनका लागि वित्तीय तथा विविध सहयोग भित्र्याउन सक्ने र परिचालन गर्नसक्ने क्षमता पनि आवश्यक पर्छ ।

खेलाडी, प्राविधिक र व्यवस्थापनको स्वरूप, स्वभाव र व्यवहार एकअर्कामा अन्तरसम्बन्धित छन् जुन क्रिकेटको सर्वाङ्गीण विकासको निर्धारक पनि हो । यसैका लागि क्रिकेट विकास अबको दिनमा तबमात्र सम्भव हुनेछ जब हामी सुदृढ कार्यप्रणालीको विकास गर्न सक्षम हुनेछौं ।

कार्यप्रणाली पनि वस्तुनिष्ठ र वैज्ञानिक हुनैपर्छ । जुन कुरामा नेतृत्ववर्ग या त उदासीन देखिन्छन् वा त्यति ध्यान दिने गरेको जस्तो क्रिकेटका सरोकारवालाले अनुभूत गर्न सकिरहेको देखिँदैन । हामीकहाँ अर्को कमजोर पक्ष भनेको संस्थागत सम्झना प्रणालीको कमी पनि हो ।

यसको प्रमुख कारण भनेकै सामूहिक कार्यको प्रबर्द्धन गर्ने परिपाटीको कमीभन्दा अत्युक्ति नहोला । अनि यो सामूहिक अन्तर्क्रियालाई बेवास्ता गर्ने व्यक्तिवादी तथा आत्मकेन्द्रित सोच र व्यवहारको उपज पनि हो । यस्तो सोचले वञ्चितीकरणलाई प्रश्रय पनि दिइरहेको हुन्छ । साथै स्वार्थ समूहको चपेटामा पर्नसक्ने सम्भावना सधैं हुुन्छ ।जसले संस्थागत विकासमा अवरोध सिर्जना गर्छ

अब क्यानको ध्यान पनि संस्थागत संस्कृति, संस्कार, सिद्धान्त र आदर्शलाई विकसित तथा मर्यादित बनाउनमा केन्द्रित हुनुपर्छ । यसका लागि क्यानले उपलब्ध मानवीय स्रोतको योग्यता र क्षमताको पूरापूर सदुपयोग गर्न सक्नुपर्छ । फेरि योग्य हुनु भनेको नै कार्य सम्पादनमा दक्ष हुनु भन्ने भ्रम त्याग्न पनि जरुरी हुन्छ । पक्कै पनि अन्य क्षेत्रमा निर्णय क्षमताको कमजोर स्थिति एक प्रमुख चुनौतीको रूपमा रहने गरेको छ । अहिलेको अपेक्षा भनेको क्यानले यसमा सुधारात्मक प्रयासको थालनीको प्रत्याभूति उच्च इच्छाशक्तिका साथ व्यवस्थापन तथा प्रशासनिक संयन्त्रलाई एक साधनको रूपमा लिई सही तथा उचित तबरले परिचालन र सदुपयोग गर्न सकोस् भन्ने नै हो ।परम्परागत ढंगको सोच, व्यवहार र कार्यशैलीबाट अब नेपाली क्रिकेटले अपेक्षाकृत निकास दिन सक्दैन । तसर्थ नेपाली क्रिकेटको विकास प्रक्रियालाई व्यवस्थित गर्न र प्रभावकारितामा वृद्धि गर्न अब यिनीहरूमा परिवर्तन र रूपान्तरण हुनु आवश्यक छ । जसबाट मात्रै खस्केको साख उठाउन सकिने सम्भावना छ ।

स्रोत : पूर्वराष्ट्रिय खेलाडी एवं क्रिकेट खेलाडी संघ नेपालका अध्यक्ष

 

 

Your Views
Related News