काठमाडौं : बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएकामध्ये चार शवको सनाखत भएको हो ।

सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको हो।

उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको हो । पहिचान भएकाहरुको पोष्टमार्टमको काम आज हुन्छ ।

१० शवको अझै सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो ।

बुधबार राति आएको बाढी र पहिरोले वस्तीमा क्षति पुर्याएको हो । केही मानिसले भागेर ज्यान बचाए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको हो ।

बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका हुन् । कतिपय शव क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान गर्न नसकिएको उद्धारमा खटिएका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताउनुभयो ।

बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ , आज बिहानैदेखि खोजी शुरु भएको हो ।

स्थानीयले ३५ जना बेपत्ता भएको बताएका हुन् । कतिपयको घरमा पाहुनाहरु पनि आएकाले बेपत्ता भएकाहरुको संख्या एकिन भइसकेको छैन ।

पहिरोले फलेघर र सुपुर्दुङका दर्जन बढी घर बगाएको छ भने वडा नं. ८ सम्म आइपुग्दा ४० घर बगेका हुन् । अधिकांश घरको भग्नावशेषसमेत नदेखिएको अवस्था छ ।

बस्ती भएको स्थानमा अहिले खोला बगेको हो। ढोरपाटन जाने सडकको देउरालीबाट खसेको पहिरोले भुजीखोला थुनिएर ताल बनेको र त्यसपछि बाढी आउँदा ठूलो क्षति पुगेको स्थानीयले बताएका हुन् ।

 

 

Your Views
Related News