नेपालगन्ज : नेपालगन्जमा रहेको भेरी अस्पतालले शुल्क लिएर पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने अनुमति पाएको हो । भेरी अस्पतालमा सञ्चालनमा रहेको पीसीआर प्रयोगशालाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ राष्ट्रिय परीक्षण निर्देशिकाले तोकेभन्दा बाहेक व्यक्तिगत प्रयोजनका लागि शुल्क तिरेर पीसीआरको स्वीकृति पाएको छ ।

भेरी अस्पताल विकास समितिको बिहीबार बसेको बैठकले स्वेच्छाले कोरोना परीक्षण गर्न आउने व्यक्तिका लागि दुई हजार दुई सय रुपैयाँ शुल्क निर्धारण गरेको समितिले सूचना जारी गरी जनाएको हो।

‘निर्देशिकाले तोकेभन्दा बाहेकका स्वेच्छाले कोरोना परीक्षण गराउन चाहने व्यक्तिबाट प्रतिपरीक्षण दुई हजार दुई सय मात्र लिने निर्णय गरिएको छ,’ भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धितालले जनाउनुभयो ।

प्रदेश ५ सरकारले नेपालगन्जको भेरी अस्पतालसहित प्रदेशभित्रका चार वटा कोरोना विशेष अस्पतालमा ५ सय ८३ जना जनशक्ति र तीन करोड ९६ लाख ३२ हजार रुपैयाँ बजेट स्वीकृत गरेको हो । भेरी अस्पताललाई १ करोड ४० लाख रुपैयाँ स्वीकृत दिएको हो।

कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि ३ महिनाका लागि स्वास्थ्यकर्मी करारमा भर्ना गर्ने र ती जनशक्तिलाई प्रदेश निजामती सेवाका कर्मचारी सरह सेवा सुविधा दिन बजेट स्वीकृत गरिएको हो । भेरीका लागि १ सय ५२ जना दरबन्दी राख्ने निर्णय भएको हो।

भेरी अस्पतालमा प्रदेश सरकारले १ सय ५२ जना जनशक्ति राख्ने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष धितालले बताउनुभयो । यो अस्पतालमा आईसीयू १०, एचडी बेड ३० र आइसोलेसन बेड २० गरी ६० बेड रहनेछन् ।

भेरी अस्पताल बाँकेका लागि एक करोड ४० लाख ७२ हजार ६ सय रुपैयाँ निकासा गरिएको हो ।

 

Your Views
Related News