पोखरा : गण्डकी प्रदेश सरकारले बागलुङको ढोरपाटनका बाढीपिहरो पीडितलाई अस्थायी बसोबासका लागि तत्काल एक लाख रुपैयाँ दिने भएको हो।

पीडितले आफ्नै जग्गा तर सुरक्षितस्थलमा घर बनाएमा प्रदेश सरकारले एकलाख रुपैयाँ आर्थिक सहयोग गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका हुन् ।

मुख्यमन्त्री गुरुङ र प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान शनिबार हेलिकप्टरमा घट्नास्थल पुगेर पीडितहरुलाई सहयोग गर्ने बताएका छन् । उनीहरुले नयाँ घर नबनुञ्जेल पीडितलाई अस्थायी बसोबासमा नगरपालिकासँगको समन्वयमा सहयोग गर्ने पनि बताएका हुन् । ‘पीडित र स्थानीय तहबीच छलफल भएर तत्काल आवश्यकताको पहिचान भएर माग हुनेछ,’ मन्त्री चुमानले भने, ‘मागका आधारमा प्रदेश सरकारले आवश्यक सहयोग गर्छ।’

उनीहरुले प्रति मृतक परिवारलाई जनही ५० हजार रुपैयाँका दरले १४ परिवारलाई राहत रकम वितरण गरियो। सनाखत हुन बाँकीको हकमा सनाखत भएपछि उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय बागलुङलाई रकम दिइएको गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले बताउनुभयो।

खाद्यान्न नगरपालिका लगायत अन्य संघसंस्था र व्यक्ति विशेषले पनि दिएकाले टेन्ट, म्याट्रेस र प्राथमिक उपचारका सामाग्री उपलब्ध गराइएको हो। ४० परिवारलाई भाँडाकुँडाको सेट उपलब्ध गराइएको हो । बाढीपहिरोले क्षतिग्रस्त लघु जलविद्युत र सडक निर्माण जतिसक्दो चाँडो गरिने मुख्यमन्त्री गुरुङले बताएका हुन् ।

बुधबार राति खसेको पहिरोपछिको भुजीखोलामा आएको बाढीले ढोरपाटन–७, ८ र ९ का ८० घर पूर्णरुपमा र अन्य ५१ घरमा आंशिक क्षति पुर्‍याएको हो।

ठूलो क्षेत्रको खेतीयोग्य जमिन पनि बगेको र पुरिएको हो। पहिरोपछिको बाढीमा परेर १५ जनाको मृत्यु भएको छ भने २३ जना अझै बेपत्ता ,मृतकमध्ये १४ जनाको सनाखत भएको हो । उक्त घटनामा परी २ जना घाइको उपचार भैरहेको छ।

 

Your Views
Related News