काठमाडौँ : रातो मत्स्येन्द्रनाथको रथ आज दिउँसो ४ बजे तानिने भएको हो । रथ हाल रहेको स्थान पुल्चोकबाट अलि पर सोह्रखुट्टे पाटीसम्म तानिने भएको छ । ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनका अनुसार रथ यात्रामा गा:बहाल, सुन्धारा, लगनखेल र जावलाखेलका पालो खलकबाट एउटा/एउटा धिमे बाजा र समिति जनशक्ति बसेर यात्रा हुनेछ ।

रथ यात्रामा १७ औं शताब्दीका मल्लकालीन राजा सिद्धिनरसिंहको ऐतिहासिक राज खड्ग पनि राजकिय सम्मानका साथ समारोहस्थलमा पुर्‍याइने र गुरुजु पल्टनको पनि सहभागी गराइने उनको भनाइ रहेको छ । रथ तान्ने दिनलाई पाटनबासीले ‘छोय्ला बु’ भनी एक किसिमको पर्व मनाउने चलन हो ।

परम्पराअनुसार ‘छोय्ला बु’ पुल्चोकबाट रथ गा:बहाल पुगेपछि गा:बहाल क्षेत्र वरिपरिका टोलबासी, सुन्धारा र लगनखेल पुगेपछि आ–आफ्नो क्षेत्रका बासिन्दाले मनाउँनेछन् । तर, यस वर्ष कोभिड–१९ का कारणले गा:बहाल, सुन्धारा र लगनखेल क्षेत्रका सबैले आइतबार मनाएका हुन्।

यसैगरी सोमबार ‘भूज्या:’ भनी पाटनबासीले एक प्रकारको पर्व मनाउँछन् । र सोही दिन मत्स्येन्द्रनाथ बुङमती पुर्‍याउने साइत हेरिन्छ । सम्भवत साइत २६ गते रहनसक्ने ज्यापु समाजका अध्यक्ष महर्जनले बताए । साइत जुरेमा मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा बोकेर पुजारीहरुले बुङमती पुर्‍याउनेछन् ।

यस वर्ष नरिवल खसाल्ने र भोटो भने नदेखाइने भएको छ । रथ यात्रा गर्न शनिबार मत्स्येन्द्रनाथका पुजारी, बाराही, यँवाल गुठीयार, धकुले छुट्टाछुट्टै रुपमा क्षमापूजा गरेका थिए । रथमा बाराहीहरुले काठ, यँवालहरुले बेत र धकुले ब्रेक लगाउने छन् ।

 

Your Views
Related News