सुर्खेत : गाउँमा डाक्टर आएको थाहा पाएपछि हुम्ला, ताजाकोटकी ९ वर्षीया बालिका असार पहिलो साता उनलाई भेट्न मैला स्वास्थ्यचौकी आइन। तीन साताअघि बालिकाको पाखुरा भाँचिएको रहेछ ।

उनको अवस्था देख्दा वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीको आङ सिरिङ्ग भयो । ‘हात तलदेखि माथिसम्म पाकेको थियो, किरा पस्नेजस्तो घाउ देखिन्थ्यो,’ उनले भने, ‘धन्न, बेलैमा भेट भयो, मैले घाउ सफा गरेर औषधीमूलो गरिदिएँ, अहिले त सन्चो भइसक्यो होला ।’

कर्णालीका ग्रामीण क्षेत्रमा सबै बिरामी ती बालिकाजस्तै भाग्यमानी भने रहेनन्। चैत ११ देखि सुरु भएको देशव्यापी लकडाउनले थुप्रैको भाग्य ‘लक’ गरिदियो । लकडाउन सुरु भएदेखि नै कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा स्वयंसेवा गरिरहेका डा. केसीले ग्रामीण क्षेत्रका मान्छे रोग पालेर बस्न बाध्य भएको बताउनुभयो। ‘लकडाउनले गाडी नचल्दा बिरामी अस्पताल जान सकिरहेका छैनन्, कतिपय त कोरोनाको डरले पनि अस्पताल जाँदैनन्,’ उनले भने, ‘मान्छेहरूमा त्रास छ, कोरोनाका कारण उपचार नपाएर अन्य रोगले मान्छेहरू मरिरहेका हुन् ।’ नसर्ने र दीर्घरोगका बिरामी लकडाउनको मारमा बढी परेको उनले बताउनुभयो ।

फागुन पहिलो साता डडेलधुरा अस्पताल पुगेका केसी त्यहाँ दुई महिना बसे । डडेलधुराका साथै बैतडी, डोटी, बझाङका बिरामीको उपचार गरेको छु। त्यहाँ उनले उपचारका लागि धनगढी, नेपालगन्ज वा भारत जानुपर्ने जटिल समस्या भएका बिरामीको पनि शल्यक्रिया गरे । ‘मैले भेट्न नसकेका यस्ता बिरामी गाउँमा अरू पनि होलान्,’ उनले भन्नूभयो ।

  • अगुवाकै असावधानी

भदौ १२ गते बिहान डा. केसी जुम्लाको गुठीचौरस्थित स्वास्थ्यचौकीमा गएका हुन् । त्यहाँ पुग्नेबित्तिकै स्वास्थ्यकर्मी र स्थानीय अगुवा उनलाई भेट्न आए । उनीहरू कसैको मुखमा पनि मास्क थिएन । ‘गाउँका सबैभन्दा सचेत मान्छे नै यति लापरबाही गरिरहेका छन् भने लकडाउन गर्दैमा कोरोनालाई जितिन्छ त ?,’ उनले भनाइ गर्नुभयो ।

केसी राज्यले लकडाउनभन्दा बढी जोड सचेतीकरणमा दिनुपर्ने सुझाउँछन् । मास्क अनिवार्य लगाउने, साबुनपानीले हात धुने र सामाजिक दूरी कायम गर्ने हो भने लकडाउनको आवश्यकता नपर्ने उनको भनाइ गर्नुभयो । यो काममा स्थानीय स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी, जनप्रतिनिधि र राजनीतिक दलका नेता–कार्यकर्तालाई स्वयंसेवी रूपमा परिचालन गरिनुपर्ने उनले बताउनुभयो। ‘यति बेला गाउँका जनतालाई सही सूचना र ज्ञानको खाँचो छ, लकडाउनले भने कोरोनालाई ठूलो हाउगुजी बनाएको छ,’ उनले भने, ‘लकडाउन गर्दैमा कोरोना नियन्त्रण हुन्छ भन्ने सरकारी सोचले समस्याको खाडल झन् गहिरो बनाइरहेको हो ।’

  • बास र पानीसमेत मुस्किल

डा. केसी २२ वर्षअघि पहिलोपटक जुम्ला पुगे ,अहिलेजस्तो सडक नभएको अवस्था थियो । हिँडेरै खलंगा पुगेका थिए । पछिल्लोपटक कोरोना कहरले उति बेलाको भन्दा सास्ती दिएको उनको अनुभव सुनाए । कतिपय ठाउँमा त पानीसमेत पिउन नपाएको अनुभव उनले बताउनुभयो । ‘कोरोनाबारे गाउँमा भ्रमपूर्ण सन्देश फैलाइँदा एक–दुई ठाउँमा मैले बास पनि पाउन सकिनँ, यसो हुनुमा गाउँलेभन्दा सन्देश सम्प्रेषण गर्ने राज्यका निकायको दोष हो,’ उनले भने, ‘गाउँलेहरू एक–आपसमा अत्यन्तै असावधानीसाथ बसेका छन्, नयाँ मान्छेलाई भने अछुतको व्यवहार गर्छन ।’

डडेलधुराबाट सुरु भएको ६ महिना लामो यात्रामा उनी एक्लै ,लकडाउनले गाडी नचल्दा हिँडेरै गाउँ–बस्तीमा सेवा गरिरहेका हुन् । साउन तेस्रो साता बिहान ८ बजे जुम्लाको खलंगाबाट हिँडेर भोलिपल्ट बिहान ११ बजे मुगुको गमगढी पुगेको स्मरण गर्दै ७४ वर्षीय केसीले भने, ‘म एक हिसाबले बूढो पनि हुँ, सामान्यतया दुई दिन लाग्ने बाटोमा छिटै हिँडेजस्तो महसुस गर्नुभयो।’ हाडजोर्नीसम्बन्धी बिरामीको उपचारका साथै कोरोनाबारे सचेतनासमेत फैलाउने गरेको उनले बताउनुभयो ।

  • अवरोधले आक्रोशित

केसी स्थानीय प्रशासन र जनप्रतिनिधिले ठाउँ–ठाउँमा अवरोध गर्दा भने आक्रोशित हुनुपर्यो। डोल्पाको जगदुल्ला र जुम्लाको गुठीचौर गाउँपालिकाले अनुमतिबिना बिरामी जाँचेको भन्दै उनलाई रोक लगाएका हुन् । जुम्ला जिल्ला प्रशासन कार्यालयले त स्वतन्त्रतापूर्वक हिँडडुल गर्नसमेत रोक लगाएको उहाँ बताउनु हुन्छ ।

शुक्रबार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा औषधी किन्न जाँदा पनि अवरोध गरिएपछि उनको आक्रोश झन् बढेको हो। ‘म आफ्नो मर्जीले जनतालाई सेवा गर्न आएको हुँ, यसको लागि कसैको अनुमति लिँदैन, भनसुन पनि गर्दैन,’ उनले भने, ‘नेपाल मेडिकल काउन्सिलको रजिस्टर्ड चिकित्सक हुँ, सरकारी सेवाबाट रिटायर्ड भएपछि आफ्नो ज्ञान र अनुभव बाँड्नेबाहेक मेरो अरू कुनै स्वार्थ नरहेको उहाँ बताउनुहुन्छ ।’ स्थानीय तहदेखि केन्द्रसम्मका सरकारका लागि लकडाउन र निषेधाज्ञा ‘तानाशाही’ योजना लाद्ने साधन भएको केसीले आरोप लगाउनुभयो ।

 

Your Views
Related News