संसारका झन्डै नौ लाख मानिसको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीको अन्त्य गर्ने ठानिएको प्रभावकारी खोप बजारमा आउनेबित्तिकै विश्वभरि आपूर्ति गर्ने कठिन चुनौतीका माझ संयुक्त राष्ट्रसङ्घको बालबालिकासम्बन्धी निकाय युनिसेफले नेपालसहित निम्न आय तथा निम्नमध्यम आय भएका ९२ वटा देशका निम्ति सहजीकरण गरिदिने जनाएको हो।

एउटा विज्ञप्ति जारी गर्दै युनिसेफले विभिन्न खोप उत्पादकहरूले खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिरहेको समयमा उसले कोभ्याक्स सुविधाको तर्फबाट ती देशहरूका निम्ति खोप खरिद गरी आपूर्ति गर्ने जनाएको हो। यसका साथै उसले ढुवानी, बन्दोबस्ती तथा भण्डारणको काम गर्ने बताएको हो।

उल्लिखित कार्यहरूका लागि युनिसेफले विश्व स्वास्थ्य सङ्गठन, गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल), विश्व ब्याङ्क, पीएएचओ (प्यान अमेरिकी स्वास्थ्य सङ्गठन), बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनलगायतका संस्थासँग सहकार्य गर्ने बताइएको हो।

  • कसले बेहोर्छ खर्च?

“निकट भविष्यमै उपलब्ध हुने कोभिड-१९ विरुद्धको खोप प्राप्त गर्नबाट कुनै पनि देश वञ्चित हुनुनपरोस् भनी कोभ्याक्स सुविधा सबै देशहरूका निम्ति खुल्ला गरिएको हो।”

कोभिड-१९ सम्बन्धी विभिन्न खोप निर्माताहरूले बनाइरहेका विभिन्न खोपको अनुसन्धान, विकास, उत्पादनमा सघाउ पुर्‍याउन तथा तिनको मूल्य निर्धारण गर्ने विश्वव्यापी मञ्चको रूपमा कोभ्याक्स गठन भएको छ।

यसमा सहभागी सबै देशले खोपको विकास हुनेबित्तिकै त्यसमा समान पहुँच पाउने जनाइएको हो।

कोभ्याक्सको प्रारम्भिक लक्ष्य भनेको सन् २०२१ को अन्त्यसम्ममा खोपका दुई अर्ब डोज (मात्रा) उपलब्ध गराउने छ। जोखिममा परेका मानिस तथा अग्रपङ्तिमा रहेका स्वास्थ्यकर्मीहरूलाई सुरक्षित पार्न त्यो पर्याप्त हुने उसले बताएको हो।

  • युनिसेफको स्थापित क्षमता

विश्वभरि नै खोप कार्यक्रममा युनिसेफको स्थापित क्षमता छ।

करिब १०० देशको तर्फबाट नियमित खोप कार्यक्रमसहित महामारीको समयमा खोप उपलब्ध गराउनका लागि वार्षिक दुई अर्बको सङ्ख्यामा खोप खरिद गर्ने विश्वकै ठूलो खरिदकर्तामा युनिसेफ हो।

“आफ्नो बजार विश्लेषण तथा खरिद कार्यसम्बन्धी विज्ञता उपयोग गर्दै युनिसेफले कोभ्याक्स सुविधाको लागि कोभिड-१९ विरुद्धको खोप खरिद एवं आपूर्ति कार्यका लागि समन्वय गर्नेछ,” विज्ञप्तिमा उल्लेख हो।

नेपालमा पनि युनिसेफ सरकारको राष्ट्रिय खोप कार्यक्रमको एउटा मुख्य साझेदार हो। उसले नेपालभरि खोप सेवा प्रवाह सुदृढ पार्न प्राविधिक तथा वित्तीय सहयोग दिँदै छ।

सबै बालबालिकामा खोपको पहुँच सुनिश्चित गर्न तथा खोपको ओसारपसारका लागि आवश्यक चिसो भण्डारणका बन्दोबस्ती मिलाउन युनिसेफले सहयोग गर्ने गरेको बताएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत बालबालिकाको निम्ति मात्रै आठथरी खोप विभिन्न समयमा गरी उपलब्ध गराइँदै आएको छ।

कोभिड-१९ का सन्दर्भमा युनिसेफले हालसम्म सञ्चालित विश्वकै सबभन्दा ठूलो र तीव्र संयन्त्रमा कोभिड-१९ को खोप खरिद तथा आपूर्तिको नेतृत्व गर्ने बताइयो।

युनिसेफ सहित साझेदारहरूले अहिले खोपका निम्ति आवश्यक पर्ने सुरक्षित सुई तथा चिसो राख्नका निम्ति आवश्यक उपकरण जोहो गर्ने तथा उचित ओसारपसार, भण्डारण र वितरणसम्बन्धी निर्देशिका र तालिम गर्ने, छिटोछरितो ढुवानी अनि जोखिममा परेकाहरूका निम्ति खोप लक्षित गर्ने विषयमा तयारीहरू गरिरहेको जनाएको छ।

 

Your Views
Related News