पार्टीभित्र अहिलेको गुटबन्दीलाई हेरेर नेपाली कांग्रेसप्रति जनताको आशा र भरोसा क्षीण हुन थालेको देखिन्छ । तपाईं आफ्नो पार्टीको यो अवस्थाको मूल्यांकन वा विश्लेषण कसरी गर्न चाहनुहुन्छ ? हो, नेपाली कांग्रेसमा अहिले थुप्रै कमजोरी देखिएका छन् । प्रतिनिधिसभाका लागि भएको गत आमनिर्वाचनमा मुस्किलले २५ सिटमा सीमित हुनुबाट नै हाम्रो पार्टीको कमजोरी थाहा भइहाल्छ । यसका स्पष्टीकरण धेरै होलान् : यथा, एमाले र माओवादी मिले; निर्वाचनमा मधेसवादी दलहरूसँग एकता हुन सकेन । भन्नका लागि जे भने पनि भयो । तर सत्य यही हो कि कांग्रेसको नराम्रोसँग हार भयो । कुनै पनि स्पष्टीकरणले निर्वाचनमा कांग्रेस नराम्ररी हारेको कुराको खण्डन गर्न सक्दैन ।

कांग्रेसलाई कांग्रेसले हरायो भन्ने आवाज बडो जोडदार छ । कांग्रेसलाई कांग्रेसले हरायो । गोविन्दराज जोशी र पुष्करनाथ ओझालाई बलिको बोका बनाए नेताद्वयले । उनीहरूले यसैमा चित्त बुझाएका छन् । कुरा त्यति सजिलो छैन । कुनै पनि राजनीतिक पार्टीको निर्माण एउटा खास सामाजिक प्रक्रियाबाट हुन्छ । नेपालले कुनै पनि हालतमा पश्चिमी देशको जस्तो उत्पादनको प्रणाली स्वीकार गर्न सक्दैन । यो कुराको संकेत बीपीमा छ, उहाँको आखिरी वर्षमा । समाजभित्र सत्ता संघर्ष हुन्छ । हामीले पार्टी बनायौं; कम्युनिस्टहरूसँग संघर्ष भयो, राजासँग संघर्ष भयो । त्यही प्रक्रियाबाट पार्टीभित्र पनि संघर्ष हुन्छ । पार्टीभित्र पनि सत्ता चाहियो नि त, साधन र सम्पदा चाहियो ।

नेपाली कांग्रेसको संसदीय दलको नेता हुनु भनेको उसले मनोनीत गरेका कतिपय मान्छेले साधनस्रोत र सुविधा पाउनु हो । मुख्य सचेतकले गाडी पाउँछ, सुविधासम्पन्न कार्यालय पाउँछ । उसले दुई–चार जना कर्मचारी नियुक्ति गर्न पनि पाउँछ । अन्य कतिपय पदमा भागबन्डा पाइन्छ । पार्टीका विभिन्न मानिसका बीच मैले वा मेरा पक्षकाले कुन पद पाउने भन्ने कुरा भइरहन्छ । पार्टीमा गुट हुनु नयाँ कुरा हुँदै होइन । संसारमा कुनै पनि राजनीतिक पार्टीमा गुट नभएको कल्पना नै हुँदैन, चाहे बेलायतको, अमेरिकाको अथवा भारतकै पार्टीको कुरा गर्नुहोस् । नेपाली कांग्रेस पार्टीको स्थापनाकालदेखि आजसम्मको इतिहास हेर्नुहोस्, बीपी कोइराला स्वयं आफ्नो राजनीतिक जीवनमा अनेकौं गुट बनाउँदै, गुट तोड्दै, गुट फोड्दै अगाडि बढ्नुभएको ऐतिहासिक यथार्थ छ । त्यसैले गुट भएर मात्र पार्टी हारेको होइन । मुख्य कुरो यो बुझ्नुपर्छ । गुट नभनेर तपाईंले यसलाई गिरोह भन्ने गर्नुभएको छ । कांग्रेस पार्टीमा अहिले गिरोह नै हावी भएको हो त ? हो । यो बुनियादी प्रश्न हो ।

राजनीतिक पार्टीलाई माया गर्ने प्रत्येक व्यक्तिले र पार्टीको भविष्यका बारेमा चिन्तित प्रत्येक कार्यकर्ताले सोच्नुपर्ने कुरो हो । गुट भनेको के हो र गिरोह भनेको के हो ? यो बडो महत्त्वपूर्ण कुरा छ । पहिले हामी गुटको सकारात्मक पक्षमा जाऔं । राजनीतिक पार्टीमा संघर्षका समयमा र सत्ताका समयमा एकनासले गुट चल्दैनन् । संघर्षका समयमा जोडदार गुट बन्छ । राजा महेन्द्रले पुस १ गते, २०१७ सालमा जसरी काण्ड गराए, त्यसको सामना कसरी गर्ने भन्ने कुरा सुरु भयो । सूर्यप्रसाद उपाध्यायले, बिलकुलै प्रारम्भमै, जेल गएर पनि साध्य छैन, हिन्दुस्तान गएर पनि साध्य छैन भन्नुभएको थियो । सूर्यबाबुलाई तपाईंले पनि चिन्नुहुन्थ्यो र मैले पनि चिन्थें । सुवर्णजीले हिन्दुस्तान गएर सशस्त्र क्रान्ति गर्न खोज्नुभो । बीपी जेलमै हुनुहुन्थ्यो । सुवर्णजी बाहिर बसेर देशभित्र संघर्ष कसरी गर्ने भनेर बोधप्रसाद उपाध्याय, महेन्द्रनारायण निधिजस्ता नेताले हिन्दुस्तानमा नबसौं, बरु देशभित्रै गएर जेल बसौं भने ।

नेपाली कांग्रेसको पटना अधिवेशनमा सामेल भएर महेन्द्रनारायण निधिले आफ्नो मतभेद राख्नुभयो । उहाँ नेपाल आएर जेल पर्नुभयो । कुनै समयमा, एउटा बिलकुलै अर्कै खालको परिस्थितिमा, यही नेपालमा, एक जना अमेरिकी कूटनीतिज्ञ जेम्स मोरियार्टीले भनेका थिए— घर जलिरहेको छ, भत्किरहेको छ, ढल्दै गरेको छ; घरका मालिकहरू आफूले मास्टर बेडरुम पाउनुपर्छ भनेर कराइरहेका छन् । यिनीहरू कोठाका लागि झगडा गर्दै छन् । मोरियार्टीले त्यति बेलाको नेपालको अवस्थाका बारेमा यस्तो टिप्पणी गरेका थिए । अहिले कांग्रेस पार्टीका बारेमा यो सटीक टिप्पणी ठहरिनेछ । कांग्रेसको भवितव्य नहेरी आफ्नो कोठाको रक्षा गर्न खोज्नेलाई गुट होइन, गिरोह भनिन्छ । त्यही गिरोहले आज पार्टी चलाएको छ ।

बीपी कोइरालाको आचार्य नरेन्द्रदेव, जयप्रकाश नारायण, लोहियाजस्ता नेताहरूसँग संगत थियो । जवाहरलाल नेहरूजस्ता नेतासम्म पहुँच थियो । फेरि, कुन अभिप्रेरणाले उहाँले नेपाल फर्किएर राजनीति गर्न थाल्नुभयो ?

यो तपाईंले बडो सही प्रश्न उठाउनुभयो । अहिले नेपाल र भारतका बीचमा जस्तो मनस्थिति छ, मानौं कि, भारत र हाम्राबीचमा अभेद्य पर्खाल लागिसकेको छ जस्तो । त्यस्तो पर्खाल नै त लागेको छैन नि ! काव्यात्मक अभिव्यक्तिमा यसको अनुवाद गर्ने हो भने सीमा विवादको नाममा दुई देशबीचको जमिनको धाँजा नै फाटेको आभास दिइएको छ । एउटा जमाना यस्तो पनि थियो, भारतका कविहरूले नेपाली विद्यार्थीलाई सम्बोधन गरेर लेख्थे, ‘सीमा के नाम में अगर जमीन फट गई है, आओ अपने नसे उधेड के उसे सी देना है ।’ त्यस्तो प्रेमपूर्ण वातावरण थियो ।

नेपालको समाजले संघर्ष गरेको छ । संघर्षको जगलाई कसैले देख्दैन, गजुरलाई मात्र देख्छन् सबैले।

त्यति बेला बीपी कोइराला धेरैजसो पटनामा बस्नुहुन्थ्यो । घर विराटनगरमा थियो । बाल्यकालमा पढाइ–लेखाइ बनारसमा भएको थियो । बनारसभन्दा पहिले भागलपुरको टेडीमा हुनुहुन्थ्यो । उहाँले ‘आफ्नो कथा’ मा बाल्यकालीन जीवनको वर्णन गर्नुभएको छ । ‘नरेन्द्रदाइ’ उपन्यासको कथा सत्य घटनामा आधारित छ । कथाकारले कुनै घटनाका बारेमा लेख्दा कल्पना त थप्छ नै । नरेन्द्रदाइ गाउँको एउटी सेविकासँग प्रेम गरेर हिँडेका थिए । त्यो सत्य घटनालाई उहाँले कथाको रूप दिनुभएको छ । बनारसको जन्म, टेडीमा बितेको बाल्यकाल, बनारसको पढाइ, दार्जिलिङ र पटनामा वकालत, पटनामा प्रवास र पटनामै जेल ।

त्यति बेला बीपी भारतमा बिलकुलै समादृत र स्वीकृत हुनुहुन्थ्यो । तपाईंलाई सोचेर बडो आश्चर्य लाग्ला, गणेशमानजीले मेरो काका रुद्रप्रसाद गिरिलाई लेखेको एउटा पत्रमा लेख्नुभएको छ— गिरिजी, यो डिल्लीरमण रेग्मीले बीपीलाई धेरै दुःख दियो भने, उहाँलाई भारतका ठूलठूला नेताहरूले राजदूत बन्न भनिरहेका छन्, उहाँ राजदूत बनेर लन्डन गइदिन बेर छैन । त्यसैले बीपीलाई हामीले फकाई–फुल्याई हाम्रो नेता बनाइराख्नुपर्छ । यो प्रसंग ग्रीष्मबहादुर देवकोटाको ‘नेपालको राजनीतिक दर्पण’ मा छ ।

त्यति बेला भारत र नेपालका बीचमा कता लाग्ने भन्ने ‘इस्यु’ नै थिएन । बीपी बिहारमा पनि स्वीकृत हुनुहुन्थ्यो र भारतमा पनि । बिहारको सोसलिस्ट कांग्रेस पार्टीमा आफूले केही दिन काम गरेको कुरा उहाँले यत्रतत्र लेख्नुभएको छ । आज नेपाल र भारत सम्बन्धलाई विशाल वितण्डा बनाइएको छ । त्यति बेला यस्तो कसैले सोच्नै सक्दैनथे ।

बीपी ३० अक्टोबर १९६८ का दिन सुन्दरीजल कारागारबाट, राजा महेन्द्रको निगाहमा, रिहा हुनुभयो । त्यस बेला प्रधानमन्त्री भएका सूर्यबहादुर थापाले आफ्नो डायरीमा लेखेका छन् : राजा महेन्द्र धरमरमा थिए बीपीका बारेमा । कहिले छोड्ने, कहिले नछोड्ने । सूर्यप्रसादले बीपीको जिम्मा लिएपछि बीपीलाई छाडेको भन्ने किटेर लेखेका छन् सूर्यबहादुरले । बीपीको आत्मकथामा यसको वास्तविक प्रस्तुति छैन । बीपी छुटेर भारत पुग्नुभएपछि दुई–तीन महिना यताउता जानुभयो । सुवर्णजीसँग लगातार सम्पर्कमा हुनुहुन्थ्यो । सुवर्णजी राजा महेन्द्रप्रति बिलकुलै विश्वस्त हुनुहुन्नथ्यो । सुवर्णजी राजासँग विश्वस्त नभएर पनि के गर्ने ? भारतले उथलपुथल गर्न दिँदैन भन्ने कुरा उहाँले गणेशमानजीलाई पनि भन्नुभएको थियो । भारतले २०१८ सालको विद्रोहमा बल्लबल्ल २६ थान राइफल दिएको थियो । त्यो पनि कत्रो प्रयासपछि ।

बीपी हिन्दुस्तानमा बस्दा निकै अप्ठ्यारो अवस्थामा हुनुहुन्थ्यो । खासगरीकन सुवर्णशमशेरसँग सम्बन्ध सिद्धिएपछि उहाँ झन् अप्ठ्यारो अवस्थामा पर्नुभयो । त्यही बेला पुग्नुभयो गिरिजाप्रसाद कोइराला र सरोज कोइराला । यसमा अध्ययन भएको छैन । गणेशमानजीको थुप्रो टिप्पणी छ । स्वयं बीपीका बयान छन् । ‘आत्मवृत्तान्त’ छ । धेरै टाढा जानैपर्दैन । यहाँसम्म कि, बंगलादेशको परिघटना पनि बीपीको ‘आत्मवृत्तान्त’ मा छ । कुनै पनि एउटा परिश्रमी र विवेकशील अध्येताले बीपीको ‘आत्मवृत्तान्त’ दोहोर्‍याएर पढ्यो भने, गणेशमानजीका टिप्पणी र अन्तर्वार्ता पढ्यो, सामान्य अध्ययन गर्‍यो भने र टिम्बुरबोटे काण्डका बारेमा पढ्यो भने बीपीको अवस्था कस्तो खतरनाक र अप्ठ्यारो थियो, थाहा हुन्छ । आफ्ना कतिपय मान्यतालाई स्थापित गराउनुपर्ने, पार्टीभित्र र पार्टीबाहिर आफ्नो व्यक्तित्वलाई पुनःस्थापित गराउनुपर्ने, पार्टी पुनःस्थापित गराउनुपर्ने; त्यो पनि अत्यन्त प्रतिकूल परिस्थितिमा !

बीपीको जीवनको एकदम ठूलो घटना ओखलढुंगा काण्ड हो । ओखलढुंगा काण्ड भयो डिसेम्बर १९७४ मा । त्यही समयमा राजा वीरेन्द्रको राज्याभिषेक भयो । युरोप, अमेरिका, भारत, पाकिस्तानका ठूला नेताहरू आए राज्याभिषेकमा सरिक हुन । कसैले हाम्रो देशका बारेमा कुरा उठायो ? हाम्रा इतिहासकारहरू यस्ता कुरामा ध्यान दिँदैनन् । विश्लेषणका लागि तथ्य त चाहियो नि !

भारत सरकारले बीपीको मान्यताका आधारमा नीति बनाएको देखिँदैन । यथार्थ बुझ्नुपर्‍यो नि हामीले । उल्टै भारत सरकारले नीति बनायो, ‘अब बीपी यहाँ बस्नु उचित छैन । यिनी जयप्रकाशतिर ढल्केका छन् । यिनलाई नेपाल नै पठाउनुपर्छ ।’ भारतका तत्कालीन राजदूत महाराजकृष्ण रसगोत्राको आत्मकथालाई आधार बनाएर मैले कान्तिपुरमा लामो लेख लेखेको छु— बीपीको प्रत्यागमनको अर्को कथा । उहाँका ती आठ वर्ष, भन्नुहुन्छ भने, एक प्रकारले, राजनीतिक दृष्टिकोणले व्यर्थजस्ता भएका थिए । उहाँ नेपाल फर्किंदा आठ वर्ष बितिसकेको थियो । उहाँ आउँदा हलचल भएको थियो । त्यसमा कुनै शंका छैन । तर त्यो हलचल र हिन्दुस्तानमा बस्दाखेरिका उहाँका गतिविधिलाई बुझ्दा राम्रो स्थिति थिएन । यहाँ मुख्य कुरो पञ्चायत व्यवस्थाको अन्तरविरोध नै थियो । यो हाम्रो इतिहाससँग जोडिएको छ ।

मैले यो प्रश्न किन सोधेको हुँ भने बीपी बनारसमा बस्दा यहाँबाट मान्छेहरू उहाँलाई भेट्न जान्थे । नेपालमा आन्दोलन भयो भने कि महमुरगन्ज कि सारनाथ नै पुग्थे । त्यहाँ पुगेर सल्लाह लिन्थे, आशीर्वाद लिन्थे, अनि आउँथे । तपाईं बनारसमै बस्नुभयो । ती सबै नेताहरू यहाँ आउ।

स्रोत : कान्तिपुर समाचार

 

Your Views
Related News