काठमाडौँ : देशभर कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार कुल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको हो । बिहीबार मात्र एक हजार २ सय ४६ नयाँ संक्रमित थपिएका हुन् ।

 

बढी जनघनत्व रहेको काठमाडौं उपत्यकामा मात्रै संक्रमित १० हजार नाघेका हुन् । संक्रमितमध्ये करिब ३५ प्रतिशत लक्षणसहितका हुन् । पछिल्लो समय करिब १५ प्रतिशतमा संक्रमणसँगै अन्य दीर्घ रोगसमेत पाइएको हो । स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार बिहीबार साँझसम्म काठमाडौं उपत्यकामा एक दिनमा हालसम्मकै सबैभन्दा बढी ६ सय ३० जनामा संक्रमण देखिएको हो ।

उपत्यकामा तीन सातायता निषेधाज्ञा जारी रहँदासमेत संक्रमितको संख्यामा कमी देखिएन । कोइरालाका अनुसार बुधबार उपत्यकामा ५ सय ३ जनामा संक्रमण देखिएको थियो । तीमध्ये करिब ३० जनाको मात्र ट्राभल हिस्ट्री छ । ‘निषेधाज्ञाले उपत्यकामा संक्रमितको संख्या खासै घटेको छैन,’ कोइरालाले भने, ‘निषेधाज्ञाको तेस्रो साता यसले पारेको असरको मूल्यांकन गरेर मात्र भावी रणनीति बनाउनुपर्थ्यो, निषेधाज्ञा खुकुलो बनाइयो।’

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा संक्रमितको संख्या १० हजार १४ पुगिसकेको छ । काठमाडौंमा ८ हजार १ सय ८, ललितपुरमा १ हजार ५३ र भक्तपुरमा ८ सय ५३ जना छन् । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बिहीबारसम्म उपत्यकामा ५ हजार ५ सय ५७ जना उपचाररत छन् भने ४ हजार ३ सय ९५ जना डिस्चार्ज भइसके । यस्तै, काठमाडौंमा ४५, भक्तपुरमा १० र ललितपुरमा ७ जना गरी उपत्यकामा ६२ जनाको मृत्यु भएको हो । हाल उपत्यकामा समूहमा रहनेहरू बढी मात्रामा संक्रमित देखिएका हुन् ।

थप ६ को मृत्यु

कोरोना संक्रमणबाट बिहीबार ६ जनाको मृत्यु पुष्टि भएको हो । चितवनको भरतपुर महानगरपालिका–११ का ६२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि भदौ १८ मा अस्पताल भर्ना उनलाई भेन्टिलेटरमा राख्नुका साथै रेमडेसिभिरको प्रयोगबाट उपचार गरिएको छ। उनको बिहीबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको हो ।

जनकपुरस्थित प्रादेशिक अस्पतालमा बुधबार मृत्यु भएका धनुषाको औरही गाउँपालिका–१ पुरनदैयाका ६० वर्षीय रामपरीक्षण सहनीमा कोरोना पुष्टि भएको छ । यस्तै, कपिलवस्तुका २९ वर्षीय पुरुष, काठमाडौंमा ५५ वर्षीया महिला, ५९ र ८३ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट ज्यान गएको मन्त्रालयले जनाएको हो। हालसम्म ३५ हजार ७ सय निको भइसकेका छन् भने ८ लाख १० हजार ४ सय ८५ को पीसीआर परीक्षण गरिएको हो ।

 

Your Views
Related News