
चितवन : पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक शुक्रबार दिउँसोदेखि खुलेको छ । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी निरीक्षक दयानिधि भट्टका अनुसार दिउँसो चार बजेर ३५ मिनेट जाँदा बाटो दुईतर्फी नै खुलेको छ।
शुक्रबार बिहान सवा ८ बजे इच्छाकामाना गाउँपालिका–६ मा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । बिहान साढे १० बजेपछि एकतर्फी गाडी चल्न थालेका हुन् ।
वर्षायाममा यो सडक खण्डमा लगातारजसो पहिरो जाने गर्दछ । संघीय राजधानी काठमाडौंलाई देशको पूर्व र पश्चिम भागसँग जोड्ने मुख्य राजमार्गमा दिनहु १० हजारको हाराहारीमा गाडी गुड्छन् ।
कोरोनाका कारण यात्रु बसहरु नचले पनि साना गाडी र मालबाहक ट्रकहरुको ओहर दोहर जारी छ ।
यो सडकलाई एसियाली मापदण्ड अनुरुपाको दुई लेनको फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काटिएको थियो । त्यही पहाड काटेको ठाउँमा बेला बेलाम पहिरो गएर सास्ती बढाएकाे छ ।