धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका एक युवकको शुक्रबार बिहान मृत्यु भएको घटना छानबिन गर्न छानबिन समिति गठन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालयका एसपी राजीव बस्नेतको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई सात दिनको म्याद दिइएको एसपी बस्नेतले बताएका हुन् ।

चोरीको अभियोगमा चार दिनअघि भदौ २२ गते धनगढी ५ का १९ वर्षीय रोशन विकलाई पक्राउ गरी प्रहरीले थुनुवा कक्षमा राखिएको थियो ।

शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी प्रतीक विष्टले ती युवाले शौचालयभित्र झुन्डिएर आत्महत्या गरेको बताएका हुन् ।

रोशनले हिरासतमा रहेकै बेला आत्महत्या गरेको खबर बाहिरिएसँगै उनका आफन्तहरु आक्रोशित भएका हुन्  । आक्रोशित समूहले सुरुमा समाचार प्रकाशन गर्ने धनगढीस्थित दिनेश एमएफएमको कार्यालयभित्रै पसेर सञ्चारकर्मीहरुमाथि हातपात गरेका हुन्  ।

त्यसपछि उत्तेजित समूहले जिल्ला प्रहरी कार्यालयको गेटमा गएर रोशनको मृत्यु आत्महत्या नभई हत्या भएको भन्दै केहीबेर नाराबाजी गरे । अवस्था नियन्त्रण बाहिर जाने अवस्था आएपछि प्रहरीले छानबिन समिति गठन गरेको छ ।

मृतकका बुवा टेकबहादुरले प्रहरीले आत्महत्या गरेको बताए पनि उनको अनुहारभरि निलडाम र चोटपटक देखिएकोले आत्महत्या नभई कुटपिटबाट हत्या गरिएको बताउनुभयो । उनले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका हुन् ।

प्रहरीले छानबिन समिति गठन गरेपछि शुक्रबार साँझ नै पोस्टमार्टमपछि परिवारले शव बुझेका हुन् । मृतकका बुवाले ‘घटनाको सत्यतथ्य छानबिन गरी पाऊँ’ भन्दै जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रतीक विष्टले बताए ।

विष्टका अनुसार मृतकका बुवाले सँगै पक्राउ परी हिरासतमा रहेका ब्यक्तिहरुसँग सोधपुछ गरेको हो ।

 

Your Views
Related News