पोखरा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सन्तोषजनक भएको बताएका हुन् ।

निर्माणाधिन विमानस्थलको अनुगमन गर्न शनिबार पोखरा आएका उनले सन् २०२१ को जुनभित्र सकाउने लक्ष्य भेट्ने गरि काम भइरहेको बताउनुभयो ।

‘पहिले लक्ष्यभन्दा ६ महिना अगावै सकिने अनुमान हो । कोभिडका कारण कतिपय उपकरण र कामदार आउन ढिलाइ भयो,’ उनले भने, ‘अहिलेको कामलाई हेर्ने हो भने लक्ष्यभित्रै सकिने अवस्था छ ।’

अन्तर्राष्ट्रिय विमानस्थल प्रमाणीकरण गर्न २–३ महिना लाग्‍ने भएकाले सन् २०२१ भित्रमै पोखराबाट अन्तर्राष्ट्रिय हवाइ उडान सुरु हुने उनको दाबी गरे। ल्यान्डफिल साइट हटाउन पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारसँग समन्वय गरेर काम अगाडि बढाउने उनले बताउनुभयो । विमानस्थल पूर्व रहेको अग्लो डाँडा काट्न वन मन्त्रालयसँग समन्वय गरेर काम अगाडि बढाइने उनको भनाइ छ । उनले भने, ‘राष्ट्रिय गौरवका आयोजनामध्ये यो छिट्टै सम्पन्न हुने मध्यमा पर्दछ ।’

आयोजना प्रमुख विनेश मुनकर्मीले २ सय चिनियाँ कामदार उतै रोकिएको बारे मन्त्रीलाई ध्यानाकर्षण गराउनुभयो । ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले नयाँ कामदार ल्याउन चाहे पनि सरकारको भिसा नीतिले अप्ठेरो पारेकाले सहजीकरण गरिदिन उनले मन्त्रीलाई आग्रह गर्नुभयो । विमानस्थललाई चाहिने उपकरण भन्सारमा रोकिने समस्या भएकोले त्यसको समाधानका लागि समेत पहल गरिदिन उनले मन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

विमानस्थलको हाल ६४ प्रतिशत काम सकिएको हो । रनवे, एप्रोन, पाइपलाइन, टयाक्सी वे, ट्रान्सफर्मर, विद्युत पाइपलाइनका काम सकिएका हुन् । एक्सेस रोड र टर्मिनल बिल्डिङ अन्तिम चरणमा पुगेका छन् । १४ भवनको संरचना बनेर फिनिसिङको चरणमा छ।

 

 

Your Views
Related News