भक्तपुर : मध्यपुर थिमि नगरपालिका–९, निकोसेरामा एउटै परिवारका तीनजनाको शव भेटिएको घटनामा पत्नी र छोराको हत्यापछि ३६ वर्षीय सुदिप अधिकारीले आत्महत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको हो ।

पत्नी र छोराको सुतेकै अवस्थामा धारिलो हतियार (दाउ) प्रयोग गरी हत्या गरेर सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दिपक थापाले बताउनुभयो ।

शुक्रबार साँझ करिब ५ बजे अधिकारीका भाइ सुनीलले खबर गरेपछि महानगरीय प्रहरी वृत्त थिमि, प्रहरी परिसर भक्तपुर, महानगरीय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरो र फरेन्सिक विज्ञको टोली घटनास्थलमा पुगेको हो । त्यसक्रममा सुदिपको शव घरको कौसीको ढोकामा घोप्टिएको अवस्थामा, उनकी पत्नी ३४ वर्षीया सम्झनाको शव दोस्रो तलाको ओछ्यानमा र १५ वर्षीय छोरा सुशान्तको शव पहिलो तलाको ओछ्यानमा घोप्टिएको अवस्थामा फेला परेको हो ।

‘पहिलो तलामा सुशान्त र दोस्रोमा सम्झनाको शव भेटिएको छ, भित्तामा समेत रगतको छिट्टा देखिएको छ,’ महानगरीय प्रहरी वृत्त थिमि प्रमुख डीएसपी ऋषिराम कँडेलले भने, ‘फरेन्सिक विज्ञसहितको टोलीबाट जाँचबुझ गर्दा दुवै जनाको टाउकोमा गहिरो चोट देखिएको छ । आमा–छोराको शवमा राम नाम उल्लेख पहेँलो कपडाले छोपेको समेत पाइएको छ ।’ प्रहरीले शनिबार बिहान घटनास्थलसँगैको धानखेतबाट २ वटा सेल्फस नामक विषादीको बट्टा बरामद गरेको हो ।

घटनास्थलको प्रकृति अनुसन्धान गर्दा सुरुमा पत्नीलाई सुतेकै अवस्थामा दाउले टाउकोमा प्रहार गरी हत्या गरेपछि छोराको पनि टाउकोमा प्रहार गरेको र छोराले प्रतिकार समेत गर्न खोजेजस्तो देखिएको प्रहरीले जनायो । एसएसपी थापाका अनुसार सुशान्तको शव नजिकै दाउ फेला परेको हो ।

 

Your Views
Related News