बुटवल : लुम्बिनी बौद्ध विश्वविद्यालयले आइतबारदेखि ‘डोर टु डोर’ परीक्षा सुरु गरेको हो । एउटा केन्द्रमा १५ जना विद्यार्थी नबढ्ने गरी स्नातक र स्नातकोत्तर तहको परीक्षा लिइएको छ।

धेरै विद्यार्थी भएका विषयमा केन्द्रमार्फत र कम विद्यार्थी भएकालाई अनलाइनमार्फत परीक्षा लिइएको विश्वविद्यालयका रजिस्ट्रार तिलक आचार्यले जानकारी दिनुभयो।

कोरोना संक्रमण कहिलेसम्म रहन्छ भन्ने अनिश्चित भएकाले शैक्षिक कार्यक्रमलाई निरन्तरता दिन स्वास्थ्य मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गरिएको उनले बताए । यसअघि कोरोनाकै कारण दुई पटकसम्म उक्त परीक्षा स्थगित गरिएको हो ।

विश्वविद्यालयमा आइतबारदेखि स्नातक तहको बीबीटीटीएम, बीएएलएलबी, भोट भाषा र स्नातकोत्तर तहका सबै विषयको परीक्षा सुरु भएको छ। परीक्षाका लागि रुपन्देही, कपिलवस्तु, नवलपरासी, काठमाडौं र हुम्लामा परीक्षा केन्द्र तोकिएका हुन् ।

बीएएलएलबीका एक विद्यार्थी हुम्लामा रहेकाले उनलाई हुम्ला क्याम्पसबाट परीक्षा दिने व्यवस्था मिलाइएको विश्वविद्यालयले जनाएको छ । बुटवलमा मात्रै ८ स्थानमा परीक्षा केन्द्र रहेका छन् । स्नाकोत्तर तहको आर्कियोलोजीको परीक्षा भने अनलाइनमार्फत लिइएको हो ।

परीक्षा केन्द्रमा स्वास्थ्यसम्बन्धी सबै मापदण्ड अपनाइएको रजिस्ट्रार आचार्यले बताए । उनका अनुसार परीक्षार्थी दुई–दुई मिटर दूरीमा बस्ने, परीक्षा सकिएपछि कोठा ‘डिसइन्फेक्सन’ गर्ने व्यवस्था गरिएको छ । परीक्षार्थीलाई विश्वविद्यालयबाटै हरेक दिन मास्क, पन्जा र स्यानिटाइजर उपलब्ध गराइने ब्यवस्थापन छ ।

 

Your Views
Related News