चितवन — चितवन-नारायणगढ मुग्लिन सडककाे चार किलाेमा साेमबार दिउँसाे पहिराे जाँदा सडक अवरूद्ध भएकाे हो । भरतपुरकाे डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले बाटाे खुल्न कम्तीमा ६ घण्टा लाग्ने बताएका छन् ।

दिउँसाे सवा दुई बजेतिर पहिराे गएकाे थियो  । पन्छ्याउने काम सुरू भएकाे हुनाले  कम्तीमा ६ घण्टापछि एकतर्फी बाटाे खुल्ने सम्भावना छ,’ सूचना अधिकारी इन्जिनियर खनालले बताए  । चार किलाेमा गएकाे याे वर्षकाे याे तेस्राे ठूलाे पहिराे हाे । यसअघि दुई पटक ठूलाे पहिराे खसेर तीन–तीन दिन बाटाे थुनिएकाे थियाे।

नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरूपकाे दुई लेनकाे सडक बनाउने बेलामा ठाउँ ठाउँमा पहाड काटिएकाे थियाे र त्यसरी पहाड काटेकाे ठाउँमा बर्खायाममा पहिराे खसेर दु:ख दिन थालेकाे थियो । २९ ठाउँमा पहिराेकाे जाेखिम थियाे । अन्य ठाउँमा नियन्त्रणकाे काम गरेर जाेखिम घटाए पनि चार किलाेमा नियन्त्रणकाे काम पूरा हुन नसकेकाे हुनाले। त्यही ठाउँमा पटक पटक पहिराे खस्ने गरेकाे छ ।

नारायणगढ–मुग्लिन सडक संघीय राजधानी काठमाडाैं र पर्यटकीय सहर पाेखरालाई देशकाे पूर्वी र पश्चिम भागसँग जाेड्ने मुख्य मार्ग हाे । याे मार्ग हुँदै दिनहुँ १० हजार गाडी गुड्छन् । काेराेनाका कारण यात्रु बस चलेका छैनन् । तर साना गाडी र मालकाहक ट्रककाे आवतजावत भने बाक्लै हुने गरेकाे छ ।

 

 

Your Views
Related News