चिकित्सा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले १९ औ सत्यग्रह सुरू गरेका छन्। डा. केसीले ६ बुँदे माग राख्दै पत्रकार सम्मेलन मार्फत सोमबार अपरान्ह २ बजेदेखि जुम्लास्थित मन्दिरमा रहेको सार्वजानिक भवनबाट सत्याग्रह सुरू बताएका छन्।

सरकारलाई माग पुरा गर्न पटक–पटक समयमा दिँदा पनि बेवास्ता गरेको भन्दै बाध्य भएर अनशन बस्नु परेको बताएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गर्ने, गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन सुरू गर्ने माग राखेका छन्।

२०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नेको लागि सरकारसँग माग राखेका छन्।

त्यसैगरी, मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गर्ने गर्न समेत सरकारलाई आग्रह गरेका छन्।

यस्तो छ प्रेस विज्ञप्ती

स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि हामी लामो समयदेखि संघर्षरत छौं । यसैबीच हामीले विभिन्न चरणमा सत्याग्रह गरेका छौं र सरकारले बारम्बार हामीसँग सम्झौता गरेको छ । तर राज्यले इमान्दारीपूर्वक हामीसित भएका सम्झौताहरु कार्यान्वयन गरेको छैन।

यसैबीच अहिलेको सरकारले हाम्रो दशक लामो अभियानको जगमा भएका सुधारका काम सरकाले धमाधम उल्ट्याइरहेको छ। हालै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मा डिन नियुक्ति गर्दा स्थापित वरिष्ठताको आधार भत्काएर गरियो।

सो नियुक्ति सच्याउँदै बाँकी सबै पदको नियुक्ति वरिष्ठताका आधारमा गर्न हामीले बारम्बार सरकारको ध्यानाकर्षण गरायौं। तर अहिले आएर त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा पनि पार्टी कार्यकर्ता भर्ती गरिएको छ ।

यसरी सबै पदमा पार्टी कार्यकर्ताहरु भर्ती गर्दै जाने हो भने त्रिवि शिक्षण अस्पतालजस्तो देशकै अग्रणी स्वास्थ्य र शिक्षण संस्था धराशायी हुने तथा मेडिकल माफियाको राज चल्ने निश्चित छ । यसरी नियुक्त भएका मानिसहरु संस्थाप्रति नभई आफूलाई नियुक्त गर्ने पार्टीप्रति वफादार हुने तथा ठेक्कापट्टाको धाँधलीबाट पार्टीलाई धनी बनाउने र संस्थालाई पार्टीको कार्यकर्ता भर्तीकेन्द्र बनाउने बाहेक अरु काम नहुने निश्चित छ ।

 

Your Views
Related News