काठमाडौँ : मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक अहिले बसेको छ । पार्टी एकताको २८ महिनापछि तत्कालीन माओवादीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा पहिलोपटक नेकपाको सचिवालय बैठक बसेको छ।

आइतबार बिहान ११:३० मा सुरु भएको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्तिका सम्बन्धमा सुझाव र सांगठनिक एकीकरणको बाँकी काम छलफलका एजेण्डा हो ।

भदौ २६ मा सम्पन्न स्थायी कमिटी बैठकले गरेका निर्णयलाई आधार बनाएर सचिवालयमा छलफल हुँदैछ । स्थायी कमिटी बैठकले असोज महिनाभित्र एकीकरणका बाँकी काम टुंग्याउने निर्णय गरेको हो । बैठकले सरकारको काम प्रभावकारी बनाउन केन्द्र र प्रदेश मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय पनि गरेको हो ।

स्थायी कमिटी बैठकको निर्णयमा भनिएको छ, ‘सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने स्थापित मान्यतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने । सचिवालयमा गरिने छलफल, अध्यक्षद्वयको आपसी परामर्श, सहमति तथा संवैधानिक व्यवस्था र कानुनी प्रबन्धका आधारमा संघीय मन्त्रिपरिषद र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन तथा राजनीतिक नियुक्ति सम्बन्धी निर्णय गर्ने छ।’

मन्त्रिपरिषद पुनर्गठन र राजनीतिक नियुक्तिका लागि योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गर्ने रूपमा कार्यान्वयन गर्ने पनि बैठकको निर्णय थियो । बैठकमा दुई अध्यक्षसहित सबै सदस्य सहभागि भएका छन्  ।

 

 

Your Views
Related News