पुस्तकका शब्दहरू कूटनीतिक मान्यताअनुसार नभएको र क्षेत्रफललगायत विषयमा त्रुटि रहेको मन्त्रालयहरूको टिप्पणी

काठमाडौँ : शिक्षा मन्त्रालयले लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नयाँ नक्सा राखेर प्रकाशनमा ल्याएको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक हालका लागि वितरण नगर्न सरकारले निर्देशन दिएको हो।

पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको पुस्तकका शब्दहरु कूटनीतिक मान्यताअनुसार नभएको र थपिएको भूभागअनुसार क्षेत्रफललगायत अन्य कुरा पनि नमिलेको टिप्पणी सम्बन्धित मन्त्रालयबाट भएपछि तत्काललाई उक्त पुस्तक बजारमा नल्याउन सरकारले निर्देशन दिएको ऊर्जामन्त्री वर्षमान पुनले कान्तिपुरलाई बताउनुभयो। नेपालको नयाँ क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर छ । लिम्पियाधुरालगायत क्षेत्र समेटेर सरकारले जेठ ७ गते नयाँ नक्सा जारी गर्नुअघि नेपालको क्षेत्रफल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटरमात्र थियो ।

पुस्तकमा उल्लिखित विवरणलाई लिएर परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आपत्ति जनाएका हो । ‘परराष्ट्र मन्त्रालयले पुस्तकमा प्रयोग भएका शब्दहरु कूटनीतिक मर्यादाबमोजिम नभएको र भूमि व्यवस्था मन्त्रालयले नेपालको हुनुपर्ने भूगोलको क्षेत्रफल बिग्रेको टिप्पणी गरेको थियो,’ पुनले भने, ‘त्यसैले अहिलेका लागि पुस्तक रोक्न निर्देशन दिइएको छ ।’ उनले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित मन्त्रालयबीच संयुक्त रुपमा गृहकार्य गरेर मात्र पुस्तक बजारमा ल्याउन निर्देशन दिएको बताउनुभयो ।

पाठ्यक्रम विकास केन्द्रका अनुसार हालसम्म उक्त पुस्तक ५ सयप्रति छापिएको छ । भूमिसुधार मन्त्रालयले उक्त पुस्तकमा के-के हुनुपर्नेमा के भएको उल्लेख गर्दै टिप्पणी पठाएको छ । मन्त्रालय स्रोतका अनुसार तीन दर्जनभन्दा बढी प्रसंगका मिति तथा अन्य घटना बिग्रिएका छन् । उक्त दस्ताबेजमा नेपालको क्षेत्रफलदेखि नेपाल–भारत, नेपाल–चीन र अन्य घटनाका मिति र प्रसंगहरुमा गलत उल्लेख गरिएको मन्त्रालयको टिप्पणी छ ।

 

Your Views
Related News